पर्यटकीय गन्तव्य बन्दै बर्जु ताल
विराटनगर : नेपालसंगै भारतीय पर्यटकलाई आकर्षक गर्न सुनसरीको बर्जु ताल पर्यटकीय गन्तव्य बन्न थालेको छ । केहि वर्षअघि गाउँपालिका मातहतमा आएको सो तालको बिचमा गाउँपालिकाले भ्यु-टावर निर्माण र थप पोखरी बनाउनुको साथै पिकनीकस्थलहरु पनि बनाउन थालेको छ ।
बर्जु गाउँपालिका-६का वडा अध्यक्ष बिनोद चौधरीले एतिहासिक ताललाई नेपाल र भारतको पर्यटक आउने गन्तव्य र ताल थप आकर्षक बनाउने योजना बनाएर काम शुरु गरेको जानकारी दिए ।
उनका अनुसार ताल भित्र रहेको दुई पोखरी बाहेक पश्चिमपट्टी एउटा नयाँ ४५ बिगहामा थप पोखरी बनाउन लागिएको छ । ताल रहेको ६६ बिगहाको पोखरी भित्र तीन वटा भ्यु-टावर बनाउने र ताल भित्र रहेको मन्दीर जान पुल बनाउन लागेको वडा अध्यक्ष चौधरीले जानकारी दिए । एउटा भ्यु-टावर निर्माण भयो उनले भने-‘थप दुई वटा भ्यु-टावर बनाउन लागेका छौं । ‘तालको पूर्वपट्टी रहेको करिव ३२बिगहाको पोखरी वार्षिक ३५ लाखमा माछापालनको ठेक्का समेत लगाइएको छ । ठेक्का दिएको पोखरीमा माछापालन बाहेका अरु स्वामित्व तालको नै रहेको छ ।
ताल गाउँपालिकाको मातहतमा आएपछि सामाजिक विकास मन्त्रालयको सहयोगमा स्टेज सहितको खेलमैदान २३ लाखमा निर्माण गरिएको छ । त्यस्तै भौतिक पूर्वाधार मन्त्रालय प्रदेश १को सहयोगमा करिब ४ करोडमा तालको पश्चिमपट्टी सिचाईको लागि काम समेत हुँदैछ ।
थारु संस्कृति झल्किने गरि १८ लाखमा थारु संग्रालय बनाउने, पिकनीका लागि आधुनिक किसिमको पिकनीक स्पोट समेत निर्माण भएको छ । ताललाई सौन्दर्य बनाएपछि आन्तरिकरुपमा आयश्रोत बढ्ने भएकाले वडा र गाउपालिकाको विकासमा महत्वपूर्ण योगदान पुग्ने वडाअध्यक्ष चौधरीले बताए । तालमा केहि दिन अघि वृक्षारोपणको समेत गरिएको छ । अहिले तालमा बोटिङ गर्ने व्यवस्था रहेको छ ।
विराटनगरको बरगाछी चोकदेखि करिब ९ किमी पश्चिम सुनसरीको बर्जु गाउँपालिका-६, चिमडी बस्तीमा १ सय ५२ बिघामा फैलिएको सो ताल क्षेत्र पर्यटकीय सम्भावनाले भरिपूर्ण छ । तर धुलाम्य/हिलाम्य हुलाकीमार्ग र व्यवस्थापन अभावमा यसले पर्यटक तान्न नसकेको तालमा गत वर्ष बाढी पसेको थियो ।
राष्ट्रपति चुरे तराई-मधेस संरक्षण विकासको ३ करोड ६६ लाख रुपैयाँ बजेटमा सेनाले केहि वर्षअघि सो ताल पूननिर्माण गरेको थियो । बाढीले वर्षेनी तालको संरचनामा व्यापक क्षति पुर्याउँदै आएकोछ । तालको स्वामित्वमा पहिला १४७ विघा १० कट्ठा ११ धुर जग्गा थियो । बस्ती विकासकै कारण ताल नमासियोस् भनेर दशकअघि थप जग्गा किनिएको थियो ।
प्रतिक्रिया दिनुहोस !