चौदण्डिगढीमा सेनाको पदयात्रा
![चौदण्डिगढीमा सेनाको पदयात्रा](https://annapurnapost.prixacdn.net/media/albums/chandigadh_20220102113433_lZnB98slfG.jpg)
उदयपुर : ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको उदयपुरको चौदण्डिगढी दरबार क्षेत्रमा नेपाली सेनाले एकिकरण पदयात्रा गरेको छ । सांस्कृतिक झाँकी, बाजागाजासहित निकै तामझामकासाथ बेल्टारबजारबाट निस्किएको नेपाली सेनाको रणाशार्दुल गण बोक्सेको टोलीले पदयात्रापछि दरबार क्षेत्र सरसफाइ, झण्डात्तोलनसमेत गरेको छ ।
राष्ट्रिय एकता र प्रतिष्ठाको प्रवद्र्धन गर्ने उद्धेश्यले वडानं १स्थित ऐतिहासिकस्थल चौदण्डीगढी दरवारमा सेनाले पदयात्रा गरेको हो । सेनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीलेसमेत साथ दिएका थिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले दरबार क्षेत्रमा झण्डात्तोलन गरेका थिए ।
ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण, संवद्र्धन एंवम प्रवद्र्धनमा टेवा पुर्याउनु सेनाको अभिभार भएकाले पदयात्रा कार्यक्रमतय गरिएको जनाइएको छ । यसबाट आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमासमेत सहयोग पुग्ने बिश्वास सेनाले लिएको छ ।
नेपाली सेनाले विगतदेखि नै गढी किल्ला संरक्षण तथा प्रवद्र्धनको लागि विभिन्न कार्यक्रम तथा सहयोग गर्दै आएको छ । यो ठाउँ सेनवंशी राजाहरुको राजधानी रहेको थियो । विक्रम संम्वत १८३० मा गोर्खालीहरुको विजय अभियानमा पूर्वको महत्वपूर्ण राज्यको राजधानीकोरुपमा चौदण्डिगढी रहेको थियो ।
सदरमुकाम गाईघाटबाट २७ किलोमिटर पूर्व रहेको यो स्थान पर्यटकीय स्थलका लागि प्रचुर सम्भावना रहेको छ । सेनवंशी राजाहरुको चार पुस्ताले राज्य गरेको यो स्थानलाई सुरक्षित राखेर ऐतिहासिक महत्व तथा पर्यटकीय आकर्षण जोगाई राख्न सेना जुटेको हो । कार्यक्रममा चौदण्डिगढी नगरपालिकाका प्रमुख खगेन्द्र राई, प्रजिअ, सहायक प्रजिअ, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)