ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखमा पुनस्थापना

ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखमा पुनस्थापना

दैलेख : जिल्ला सदरमुकामको पुरानो बजारस्थित कोतगढीमा परापूर्वकाल देखि नै ‘सुन्दरी र अर्गा’ नामका दुईवटा तोपहरु थिए । त्यसबेला बडादशै‌ँ लगायतका महत्वपूर्ण चाडपर्वहरुमा तोपको बढाईपछि मात्र पूजाआजा तथा टीका थाप्ने चलन थियो । तत्कालिन समयबारे जानकार ७६ वर्षीय खगेन्द्र मल्ल भन्छन् ‘फूलपातीको दिन कोतगढीबाट स्थानीय टुँडिखेलमा ल्याएर तोपलाई दूल्लुतर्फ फर्काएर पड्काएपछि पूजाआजा सुरु हुन्थ्यो ।’ विस २०२८ ताका भोकमरीले दैलेखलाई पनि प्रभावित पार्याे । 

भोकमरी धान्न नसक्दा तत्कालिन समयमा जिल्लास्थित नेपाली सेनाको ज्वाला दल गणलाई दैलेखबाट सुर्खेत सारियो । सेनाको गणसँगै सुन्दरी र अर्गा तोप पनि सुर्खेत पुगे । त्यसयता झण्डै पाँच दशकसम्म तोपहरु गुमनाम रहे ।

संघीयतापछि राजनीतिक दल, नागरिक समाज लगाएत जिल्लावासीले दैलेखसँग जोडिएको ऐतिहासिक तोपहरु फिर्ता हुनुपर्ने माग राखेपछि स्थानीय सरकारले खोजी सुरु गर्यो । नारायण नगरपालिका–१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठ भन्छन् ‘हामीले नेपाली सेनासँग समन्वय गरेर तोपहरु खोज्ने क्रममा सुर्खेतस्थित राजदल गणमा सुन्दरी तोप फेला पर्याे ।’ नेपाली सेना र दैलेखको इतिहाससँग जोडिएको तोपहरुमध्ये सुन्दरी तोपलाई बुधवार दैलेख ल्याईएको छ । उक्त तोप झण्डै ५० वर्षपछि दैलेखमा पुनस्थापना गरिएको हो । दैलेखको काँडाचौरस्थित इन्द्रदल गुल्मका गुल्मपति सेनानी दिनेश लामाले जंगी अड्डाले सुर्खेत राजदल गणमा राखिएको सुन्दरी तोप दैलेख पुनस्थापना गर्न स्वीकृत दिएपछि तोप दैलेख ल्याईएको बताए । उनका अनुसार सुन्दरी नामक तोप र ८१ थान गोला दैलेख ल्याईएको छ । 

उक्त तोप अहिले नेपाली सेनाको इन्द्रदल गुल्म काँडाचौरमा राखिएको छ । कोतगढीमा मर्मत तथा जीर्णोद्धारको काम सकिएपछि तोपलाई कोतगढीमा राखिने बताईएको छ । कोतगढी नेपाली सेनाको स्वामित्व छ । ऐतिहासिक कोतगढीमा तोप गोला राख्न आवश्यक पूर्वाधार निर्माण भइरहेको नारायण नगरपालिकाले जनाएको छ । विसं १८४६ सालमा बहादुर शाहको पालामा उक्त तोप बनेको इतिहास छ । सुन्दरी तोप पितलबाट बनेको हो । 

दुई वटा तोपहरु ‘सुन्दरी र अर्गा’ मध्ये अर्गा तोप अझै गुमनाम जस्तै छ । अर्गा तोप कहाँ छ भन्नेबारे अझै एकिन हुन नसकेको वडाध्यक्ष तिर्थनारायण श्रेष्ठले बताए । अर्गा तोप तामाबाट बनेको छ । तत्कालिन समयमा तोप भगवतीको मुर्ती समेत रहेको जानकारहरु बताउँछन् । ‘हामीले नेपाली सेनासँगको समन्वयमा सुन्दरी तोप दैलेख फिर्ता ल्याउन सफल भएका छौँ,’ वडाध्यक्ष श्रेष्ठले भने ‘अर्गा तोप र भगवतीको मुर्तीको पनि खोजी गरिरहेका छौँ ।’तोप पुनस्थापनाले दैलेखको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अधिवक्ता खड्गबहादुर सिजापती बताउँछन् । ‘तोप जिल्लाको लागि अमूल्य सम्पत्ति हो, अहिले एउटा तोप ल्याईएको छ, त्यसलाई अलपत्र पारिनु हुँदैन्, सुरक्षित राख्नुपर्छ,’ उनले भने ‘अर्गा तोपको खोजी गरेर दैलेख ल्याउनुपर्छ ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.