देशव्यापी कोरोना संक्रमण बढेपछि डडेल्धुरामा पुन: कोरोना परीक्षण सुरु
डडेल्धुरा : सुदूरपश्चिममा कोरोना संक्रमित बढ्दै गएपछि डडेल्धुरामा पुन: काेराेना परिक्षण सुरु गरिने भएको छ । कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित संसार भर बढ्दै जादाँ नेपाल लगायत सुदूरपश्चिममा समेत देखिए पछि डडेल्धुरामा शुक्रबार देखि परिक्षण गरिदैँछ । पहिलो चरणमा डेढ सय सेम्पल लिई परिक्षण गरिने स्वास्थ्य कार्यालय डडेल्धुराका स्वास्थ्य अधिकृत आशुतोष श्रेष्ठले बताए ।
एउटा खोप केन्द्र मार्फत कोभिड–१९ विरुद्धको खोप निरन्तर रुपमा लगाईने निर्णय समेत भएको उनले बताए । बिहिबार कोभिड–१९ आपतकालिन प्रतिकार्य परियोजनाको रणनैतिक योजना निर्माणका लागि कोभिड–१९ खोप समन्वय तथा अनुगमन समिति र सरोकारवाहरुसंगको बैठकमा खोपको दुईवटै डोज लगाएकाहरुलाई नयाँ भेरियन्ट ओमिक्रोनको समस्या कम देखिने भएकाले निरन्तररुपमा खोप लगाउन एउटा खोप केन्द्र तोक्ने निर्णय गरिएको उनले बताए ।
खुला नाका र अन्य चेकजाँच नहुदाँ समस्या हुन सक्ने भन्दै कोभिड १९ प्रतिकार्य परियोजनाले सजगताका लागि रणनितिक योजना निर्माण गरी नयाँ भरियन्टबाट बचाउन लागि पर्ने बहुउद्देश्यीय विकास समाज डडेल्धुराले जनाएको छ ।
कोभिडका कारण डडेल्धुरामा हालसम्म २६ जनाको ज्यान गएको तथ्यांक रहेकोछ । २ हजार ४ सय ६० जनामा संक्रमण देखिदाँ २ हजार ४ सय ३४ जना निको भएका थिए । कोरोना भाईरसको संक्रमणबाट निको हुनेको संख्या ९९ प्रतिशत बढी रहेको छ । १० जना भने यहाँबाट रेफर भई कैलालीमा ज्यान गुमाएका थिए ।
अहिलेसम्म १८ वर्ष माथिका ९८ हजार ६ सय ३० जनालाई खोप लगाईएको छ । यस मध्ये पहिलो मात्रा लगाउनेको संख्या ५८ हजार ५३ र दोस्रो मात्रा समेत लगाउनेको संख्या ४० हजार ५ सय ७७ छ । दुई वटा स्थानीय तहको रिपोर्ट भने आउन बाँकी छ । अब बुष्टर डोज लगाउनमा जोड दिनुपर्ने स्वास्थ्य अधिकृत श्रेष्ठले बताए ।
बैठकमा डडेल्धुरा अस्पतालमा चार बेडको आईसोलेशन तयारी अवस्थामा रहेको जानकारी अस्पतालका मेसु डा। चेतराज भट्टले दिए । संक्रमणका आधारमा योजना अनुसार आईसोलेशन र भेन्टिलेटर बढाउदै लैजाने उनले बताए । अस्पतालमा हाल पिसिआर पद्धतीबाट परिक्षण गरीदै आएको छ । अस्पतालमा अहिले एउटा ठूलो र एउटा सानो गरी दुई वटा अक्सिजन प्लान्ट सूचारु रहेका छन् । तर प्राविधिक भने नरहेको र नेपालगञ्जबाट मगाउनु पर्ने अस्पतालका मेसु भट्टले बताए ।
स्वास्थ्य कार्यालय डडेल्धुराको समन्वयमा एमपिडिएसद्धारा सञ्चालित कोभिड–१९ आपतकालिन प्रतिकार्य परियोजनाले आयोजना गरेको बैठकमा कोभिडको अवस्था र पूर्व तयारीका सवलामा सरोकारवालाहरुसंग छलफल गरीएको थियो । परियोजनाले स्थानीयलाई सचेत गउनुका साथै डडेल्धुरा र डोटी अस्पताललाई सुरक्षा स्वास्थ्य सामाग्री उपलब्ध, खोप ढुवानीमा सहयोग, विद्यालयमा क्याम्पिङ्ग लगायतका कार्य गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !