पहिले हिउँको थुप्रो, अहिले ताल
पोखरा : कास्कीको मादी गाउँपालिका सिक्लेसका मेजा गुरुङले कफुचे तालनजिकै हुगुमा भैंसी, भेडा, बाख्रा पालेर ६० वर्षभन्दा बढी बिताइसके। ताल भएको क्षेत्रमा पहिला हिउँको थुप्रो थियो। घाँस पाइने चरन क्षेत्र खोज्दै गोठ सार्ने क्रमा हिउँकै थुप्रो भएर वस्तुभाउ वारपार गरेको स्मरण गर्छन् ६८ वर्षीय गुरुङ।
गुरुङका अनुसार यो १७–१८ वर्षअघिको घटना हो। त्यस क्षेत्रमा अन्नपूर्ण दोस्रो हिमाल क्षेत्रबाट खस्ने हिमपहिरोको थुप्रो मात्र देखिन्थ्यो। त्यही हिउँ पग्लिएर सानो कुण्ड हुँदै ठूलो ताल बनेको उनी बताउँछन्।
गुरुङ भाषामा ‘क’ भनेको हिउँको थुप्रो, ‘फु’ भनेको खस्नु र ‘चे’ भनेको समथर भाग हो। यस क्षेत्रको हिउँ पग्लिएर ताल बनेको सांसद मनबहादुर गुरुङको भनाइ छ।
संरक्षणविद् डा. हुम गुरुङका अनुसार पहिला उक्त ठाउँको समथर मैदानमा नजिकै हिमालबाट झरेको हिउँको थुप्रो बन्थ्यो। विस्तारै तापक्रम वृद्धिको असरले पग्लिएर तालमा परिणत भएको डा. गुरुङको भनाइ छ।
जापानी अनुसन्धानकर्ता डा. जिरो कोमोरीले सन् २०१४ मा यसको अनुसन्धान गरे। जसअनुसार तालको लम्बाइ ४ सय मिटर, चौडाइ ३ सय मिटर र गहिराई ४० मिटर छ। लम्बाइ बर्सेनि बढ्दै गएको तर यससँगै गहिराई र चौडाइ कति छ भन्ने अध्ययन नभएको पर्यटन व्यवसायी धनबहादुर गुरुङ सुनाउँछन्।
समुद्री सतहबाट २ हजार ४ सय ५० मिटर उचाइमा अवस्थित छ। यो ७ हजार ९ सय ३७ मिटर उचाइको अन्नपूर्ण दोस्रो हिमाल क्षेत्रबाट खस्ने हिमपहिरो पग्लिएर बनेको हो। अन्नपूर्णबाट बेला–बेलामा खस्ने हिम पहिरोको थुप्रो पग्लिएर तालमा परिणत भएको हो। नेपालमा ४ हजार ५ सय मिटरमाथि मात्रै हिमताल भेटिए पनि यति कम उचाइमा (२ हजार ४ सय ५० मिटरमा) हिमताल बनेको यो नै पहिलो रहेको डा. गुरुङ बताउँछन्।
पर्यटकीय नगरी पोखराबाट करिब ५१ किलोमिटर उत्तरपूर्वमा कफुचे हिमताल छ। सिक्लेस पोखरादेखि ३९ किलोमिटर दूरीमा पर्छ। अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा पर्ने यो ताल पुग्न सिक्लेसबाट दुई दिनको पैदल यात्रा गर्नुपर्छ। हुगु गोठनजिकै पनि जलविद्युत् निकाल्न सुरु भएसँगै कच्ची सडक बनेको छ। कफुचे हिमताल आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ।
प्रतिक्रिया दिनुहोस !