भक्तजनहरु माघे संक्रान्ती मनाउन रुरु क्षेत्र रिडीमा
तानसेन : माघे संक्रान्तीको अवसरमा भक्तजनहरु सावधानी अपनाउँदै पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरु क्षेत्र धाम रिडीमा कालीगण्डकी स्नान धर्मकर्ममा जुटेका छन। माघे संक्रान्तीको अवसरमा परम्परादेखि नै कालीगण्डकी रुरु क्षेत्रधाम रिडीमा जेठी, माईली र कान्छी संक्रान्तीको रुपमा धार्मिक मेला लाग्दै आएको छ।
रमाईलो मेलाको तयारी भएपनि ओमिक्रोन कोरोना भेरियन्टको सक्रमण बढेपछी रमाईलो मेला स्थगित भएपनि धार्मिक मेला भने रोकिएको छैन। रुरु क्षेत्र क्षेत्र धाम रिडीमा भक्तजनहरु विहानै देखि स्नान गर्ने र ऋषिकेश भगवानको दर्शनको लागि जुटेका छन।
माघे संक्रान्तीको अवशरमा काली गण्डकीमा स्नान गर्नाले अन्जानमा गरेका सम्पूर्ण पाप नाश हुने, मृत्युपछी स्वर्गमा बास हुने जनविश्वास रहेको पाईन्छ। पाल्पा, गुल्मी, अर्घाखाची, स्याङ्जा, रुपन्देही जिल्लाबाट रुरु क्षेत्र रिडीमा कालीगण्डकी स्नानगरी भगवानको दर्शन गर्न जाने परम्परा नै रहेको छ। रुरु क्षेत्रधाम नेपालको चार धाम मध्ये एक भएकोले यसको विशेष धार्मिक महत्व रहेको छ।
धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पाबाट, मनाङ, मुस्ताङबाट काम्लो, कम्मल, राडी, पाखी, बासबाट उत्पादित विभिन्न किसिमका डाला, पाथी, काइयो लगायतका घरेलु सरसमान बिक्रीको लागी रुरु क्षेत्रमा आएका छन। भक्तजनहरुको चहल पहलमा कमी भएकोले रिडी बगरमा बसेका राडी पाखी व्यापारीहरु भने चिन्तित भएका छन। धार्मिक मेलामा गुल्मीको गुड, पाल्पाको सुन्तला विक्रिको लागि राखिएको छ।
प्रतिक्रिया दिनुहोस !