संसद् ‘भिलेज’ निर्माण सुस्त

संसद् ‘भिलेज’ निर्माण सुस्त

काठमाडौं : सिंहदरबारमा छ संसद् सचिवालय। बैठक भने नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा। विषयगत समितिका बैठक बस्नुपरे सिंहदरबारमै पुग्नुपर्छ। यो क्रम ०६५ सालदेखि निरन्तर छ। सिंहदरबारस्थित पुरानो प्रतिनिधिसभा भवन साँघुरो भएपछि पहिलो संविधानसभादेखि सभाको बैठक बानेश्वरमा बस्न थालेको हो। त्यसबापत भाडामा बर्सेनि करोडौं खर्च भइरहेको छ। सचिवालयले गत वर्ष मात्रै भाडामा १५ करोड रुपैयाँ तिर्‍यो।

त्यसको विकल्पमा सिंहदरबारकै पुतली बगैंचामा ‘संसद् भिलेज’ बनाइँदै छ। तर, निर्माणमा ढिलाइ देखिएको छ। कोरोना महामारीका कारण निर्धारित समयमा काम सम्पन्न गर्न कठिन भइरहेको संसद् सचिवालयका अधिकारी बताउँछन्। सचिवालयका सहायक प्रवक्ता दशरथ धमला भन्छन्, ‘निर्माण कार्य छिटो सक्न ताकेता गरिरहेका छौं।’

अब निर्वाचित भएर आउने प्रतिनिधिसभाको बैठक पनि नयाँ भवनमा बसाल्न गाह्रो हुने सचिवालयका अधिकारी बताउँछन्। सहायक प्रवक्ता धमला भन्छन्, ‘भवन संरचनाका बाहिरका काम सकिन्छन् होला। तर, भित्री काम धेरै हुने भएकाले समय लाग्छ होला।’ तुँदी एसएचईसी जेभी कन्स्ट्रक्सनले ५ अर्ब ६७ करोडमा ठेक्का लिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते संसद् भवन निर्माणको शिलान्यास गरेका थिए। 

सहरी विकास मन्त्रालयले दुईदेखि साढे दुई वर्षमा निर्माण गरिसक्ने जनाएको थियो। कोरोना महामारीले निर्माण प्रभावित भएको मन्त्रालयका प्रोजेक्ट म्यानेजर श्याम बुढाथोकीको भनाइ छ। उनका अनुसार ६० प्रतिशत काम सकिएको छ।  भवन निर्माणमा केही कमजोरी देखिएको भन्दै सचिवालयले मन्त्रालयको ध्यानाकर्षण गरेको छ। मन्त्रालयले आफूखुसी भवनको आन्तरिक डिजाइन गर्दा सचिवालयको आवश्यकतालाई ध्यान नदिएको भन्दै आपत्ति जनाएको हो। 

‘मन्त्रालयले इन्टेरियर डिजाइनबारे सचिवालयसँग सुझाव माग्नुपथ्र्यो’, सहायक प्रवक्ता धमला भन्छन्, ‘तर, यो कुरामा महत्व नराख्दा केही कुरा बिग्रिएको छ। केही कोठा साँघुरा बनेका छन्। पदाधिकारीका लागि बन्दै गरेको हल र सचिवालयको क्षेत्र पनि साँघुरो भएका छन्।’ मन्त्रालयका प्रोजेक्ट म्यानेजर बुढाथोकी कमजोरी सुधार गरी अघि बढ्ने बताउँछन्। धमलाका अनुसार संसद् सचिवालयका लागि ११ वटा भव्य भवन सिंहदरबारभित्रै निर्माणाधीन छन्। एउटै परिसरमा प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै भवन बन्नेछन्। तर, एकअर्कासँग जोडिएर। दुवै भवनको बाहिर निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको छ। छाना हाल्न बाँकी छ। पूर्वतिर राष्ट्रियसभा र पश्चिमतिर प्रतिनिधिसभा हल हुनेछन्। दुवै हलको ‘लबि’ बीचमा रहनेछ। 

सिंहदरवारभित्रै हाल संसदीय दलका कार्यालय अलग–अलग छन्। दलकै कार्यालयका लागि पाँच तलाको भवन निर्माणाधीन छ। प्रतिनिधिसभा र राष्ट्रियसभा दलका कार्यालय त्यही हलमा हुनेछन्। सचिवालयका अनुसार ९ देखि १० दलको प्रतिनिधित्व हुने गरी कार्यालय निर्माण अघि बढेको छ। चमेनागृह, पुस्तकालय र सुरक्षा  भवन अलग–अलग बनाइँदै छन्। 
‘सबै भवनमा जान भित्रैभित्रै बाटो हुने गरी निर्माण काम भइरहेको छ’, धमला भन्छन्, ‘बाहिर विल्डिङ फरक भए पनि भित्रि कनेक्सन हुनेछ।’ सिंहदवारभित्रै संसद् भवन बनेपछि कार्यपालिका न्यायपालिका र व्यवस्थापिकाका भवन नजिक नजिक हुनेछन्। 

भाडामै करोडौं
संघीय संसद् सचिवालयले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भाडा गत वर्ष १५ करोड तिर्‍यो। जुन भाडा वार्षिक १० प्रतिशत वृद्धि हुँदै आएको छ। यो वर्ष पुस २३ गतेदेखि १० प्रतिशत भाडा बढेको सचिवालयका लेखा प्रमुख बसन्तराज सिग्देल बताउँछन्। यससँगै भाडा बढेर १६ करोड ५० लाख पुगेको छ। यो सम्झौता असारसम्म रहनेछ। 

सम्मेलन केन्द्रको केही क्षेत्रफलमा नेपाल कानुन आयोग र लगानी बोर्डका कार्यालय छन्। सिग्देल भन्छन्, ‘सचिवालयले त्यसको १ करोड ५१ लाख ७० हजार भाडा कटाएर तिर्छ। संसद भवनको विद्युत् शुल्क ६ लाख र पानीको २ लाखभन्दा माथिको बिल आए सचिवालयले तिर्नुपर्छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.