सारंगीको तारले मेरो मनको गीत गाउँछ...

सारंगीको तारले मेरो मनको गीत गाउँछ...

अनि देउराली रुन्छ नाटकका सारंगीको तारले मेरो मनको गीत गाउँछ, ए फूल चुँडेर लाने हो, देउरालीका ठिटी हो... जस्ता गीतबाट कुमार सुब्बाले श्रोताको मन जिते।


मनबहादुर मुखिया आज पनि भन्छन्, कर्म र कुमारको सुकोमल संगीत नपाएको भए अनि रुन्छ (मुखिया आफ्नो युगान्तकारी नाटक अनि देउराली रुन्छलाई अनि ...रुन्छ भन्छन् छोटकरीमा हरेक अन्तर्वार्ताका क्रममा) सायद इतिहासको गर्तमा भासिन्थ्यो होला। हुन पनि हो काठमाडौंका रंगमञ्चमा अनि देउराली रुन्छ नाटकको टिकट कालोबजारीमा बिक्री हुन्थ्यो, सिनेमाको जस्तो बिक्रमाब्दको तीसको दशकको सुरुमा। यसरी एउटा जबर्जस्त इतिहास रचेको यो नाटकका अधिष्ठाता त मुखिया छँदै थिए। होचो कदका बिस्तारै बोल्ने नाटककार हुन् उनी। जुन नाटकमा सांगीतिक प्राण भर्ने कार्य गरेका थिए, कर्म योञ्जन र कुमार सुब्बाको जोडीले। महिलाको जस्तो मसिनो स्वर भएका कुमार कर्म योञ्जन, दिलमाया खाती, अशोक राई तथा इन्द्र थपलियाजस्तै खाटी दार्जिलिँङे रहे। स्थानीय हिमालय कला मन्दिरबाट सांगीतिक प्राणको पंख फिँजाउने क्रममा सुब्बाले कर्मजस्ता गुरु पाए। कर्म त्यसै पनि त्यहाँका मेलोडी किङ रहे, जस्तो गुरु उस्तै चेला।

दार्जिलिङको साहित्य र संगीतको अति नै उर्बरकाल अर्थात् सन् १९६० का वरिपरि कुमारले गायनलाई नेपाली आकाशमा छ्यापछ्याप्ती पारे। यही बेला भारतीय नेपालीको जीवन संंघर्षंलाई सम्बोधन गर्ने नाटक रचेका थिए मनबहादुरले। त्यहाँका चियाकमाने नेपालीको मनोदशालाई झन्कृत पार्ने कथावस्तु बोकेको यो नाटकमा विस्फोटक पाश्र्वगायन प्रदान गरे कुमारले। काठमाडौंका रंगमञ्चहरूलाई पञ्चायती भूतले प्रभाव पारिरहेका बेला लैनसिंंह वाङदेल र सूर्यविक्रम ज्ञवालीको अथक प्रयासपछि प्रस्तुत गरिएको अनि देउराली रुन्छ नाटकले छुट्टै स्वाद पस्केको थियो।

आजभन्दा ७५ वर्षअगाडि दार्जिलिङको पत्ताबुङमा जन्मेका सुब्बालाई हिमालय कला मन्दिरमा छँदा गायक अशोक राईले सबैभन्दा पहिला गायनका लागि मञ्चमा उभ्याए। आर्ट एकेडेमीका अम्बर गुरुङ, कपिलराज सुब्बा, रुद्रमणि गुरुङ, मनवीर सिंह तथा शिव सिंंहहरू पाश्चत्य संगीतको सेरोफेरोमा संगीत रच्थे। त्यसलाई तामाङ सेलो बिटमा नेपालीकरण गर्थे भने इन्द्र थपलियाहरू विशुद्ध नेपाली लोकभाकामा। यस्तो बेला अम्बरको परोक्ष निर्देशनमा कुमारको गायन निखारिएको हो। आर्ट एकेडेमी, हिमालय कला मन्दिर तथा शरण रञ्जितहरूको कला संगम केन्द्रमा विभक्त त्यहाँको रैथाने संगीत एकअर्काका बीच स्वस्थ प्रतिस्पर्धा गर्दै थियो। ए कान्छा मलाई सुनको तारा खसाइदेउन, घाम जून पञ्च राखी वाचा मार, सम्हालेर राख, सम्हाल पछ््यौरी त्यो लत्रिसक्यो भुइँमा...जस्ता अजम्बरी गीतहरू जो कुमारका उर्बर संगीतकालमा विभिन्न स्रष्टाबाट रचिए। तिनले आज पनि इतिहासको एउटा माइलस्टोनको परिचय प्राप्त गरेका छन्। अम्बर त्यतिबेला गीतबाट जबसम्म अजम्बरी छाप निस्किँदैन, तबसम्म कुमारहरूलाई खुबै रटाउँथे, घोटाउँथे। त्यसैका कारण पनि हुन सक्छ सम्हालेर राख... जस्ता दीर्घजीवी भाखाहरू जन्मेका।

अम्बर गुरुङ, कर्म योञ्जन, गोपाल योञ्जन, शरण प्रधान, कपिलराज सुब्बा, शान्ति ठटाल, दिव्य खालिङ, दुर्गा खरेल, मञ्जुल, चन्दन लम्जेल वसन्त क्षेत्री तथा मणिकमल क्षेत्री आदिका संगीतमा कुमारले गाए भने अगमसिंह गिरि, ईश्वरबल्लभ, जसयोञ्जन प्यासी, किरण खरेल, मनबहादुर मुखिया, नन्द हाङिखम, चन्द्रमित लक्सम तथा नर्देन रुम्बा आदिका शब्दलाई उनले न्याय गरेका छन्। आज मेसिनले संंयोजन गरी टुक्राटुक्रालाई जोडजाड गरी ट्र्याकका माध्यमबाट मञ्चमा श्रोताका सामु पस्केका गीतले उनलाई कहिल्यै छोएन। किनकि वास्तविक संंगीत मनको अन्तर्यबाट प्रकट हुन्छ भन्थे कुमार।

गायनयात्राको सुरुआतमा हिन्दी तथा बंगाली गीतहरू गएका कुमारले समयक्रममा अनि देउराली रुन्छ नाटकका सारंगीको तारले मेरो मनको गीत गाउँछ, ए फूल चुँडेर लाने हो, देउरालीका ठिटी हो... जस्ता गीतबाट श्रोताको मन जिते भने मञ्जुल रचित मेरो सानो मुरलीमा मेरो देश नअट्ला तथा कोसी छेउ उभेको सिमलजस्ता गीतहरू गाए। भारतीय नेपालीहरूको प्रतिनिधि गायन नौलाखे ताराका अधिष्ठाता कवि अगमसिंह गिरि हुन्। उनैले पढाउने भानुभक्त पाठशालाबाट नै उनले औपचारिक अध्ययन थालेका हुन्। उनका गुरु पनि उनै गिरि रहे। गिरिका केही गीत पनि उनले गाएका छन्, जसमध्ये सुन है सुन नेपाली हामीलाई डाक्छ हिमाली भन्ने गीत जातीयताले निकै ओतप्रोत छ। संगीतमा हराउन पाउँदाको क्षण उनलाई सर्वप्रिय लाग्थ्यो। अपितु संगीतको एक छेउ पनि आफूले समग्रतामा बुझ्न नपाएकोमा उनलाई ग्लानि पनि भइरहन्थ्यो।

सन्को साठीको दशकमा अरुणा लामा, कुमार सुब्बा, शान्ति ठटाल तथा दिलमाया खातीहरू मूलभूत रूपमा दार्जिलिङको गायनलाई बोकी हिँड्ने सारथि थिए। ११ मार्च १९४४ मा दार्जिलिङको थाना लाइनमा भारतीय पुलिसमा कार्यरत पिता वीरहाङ सुब्बा र माता कृष्णमोती सुब्बाको सम्मिलनबाट कुमार जन्मिए। भानुभक्त पाठशालामा अगम र अम्बरको गुरुकुल तथा स्थानीय टर्नबुल स्कूलमा पीटर जे कार्थकजस्ता वादवादकसितको संसर्गले उनको सांगीतिक जीवन हराभरा बन्दै थियो। अम्बरको नेपाल पलायन र अगमको महाप्रस्थानले उनलाई निकै रन्थन्यायो। जीविकाका लागि हरिसिंह प्राथमिक विद्यालयमा काम गर्दागर्दै सङ एन्ड ड्रामा युनिट दार्जिलिङमा उनले स्थायी नोकरी पनि पाए। अवकाशपर्यन्त त्यसै नोकरीमा लागिरहे। रेडियो नेपाल तथा कलकत्ताको एचएमभी रेकर्डस्मा उनका थुप्रै गीत रेकर्ड भए।

रेडियो नेपाल, आकाशवाणी खर्साङ, आकाशवाणी गान्तोक तथा आकाशवाणी गोवाहाटीबाट उनका थुप्रै गीत बजे। दार्जिलिङको गोरखा दुःख निवारण सम्मेलनले वर्षेनी आयोजना गर्ने संगीत प्रतियोगिताले उनलाई यो क्षेत्रमा प्रतिस्पर्धा गर्न सिकायो। गायक आभासको संयोजनमा काठमाडौंमा आयोजना हुने पलेंटी शृंखलाले उनलाई पुनः नेपालका पुराना श्रोतासित जोडिदियो। सन् १९६३ मा सम्मेलनले आयोजना गरेको संगीत प्रतियोगितामा उनले कर्म योञ्जनको संगीत र गोपाल योञ्जनको शब्दमा गाएको गीतमा उनी पहिलो भए। गोपाल योञ्जन तथा ईश्वरबल्लभको शब्दमा उनले गाएका कतिपय गीत रेकर्ड हुन पाएनन्। कुमारलाई जीवनपर्यन्त यसमा थकथकी लागिरहेको थियो। स्वरमाधुरी तथा सुनौलो स्वरका धनी जस्ता उपमा उनलाई श्रोताले दिए। त्योभन्दा ठूलो कुरा उनले सम्हाल पछ्यौरी त्यो लत्रिसक्यो भूइँमा... तथा अनि देउराली रुन्छ जस्ता युगान्तकारी गीत गाए। जो आज पनि नेपाली संगीतको स्वर्णिम युगका प्रतिनिधि बनिरहेका छन्।

सबै रेकर्ड हुन नसके पनि लगभग पाँच सय जति गीत उनले गाए। आफूले गाएका गीतहरू अरूकै स्वरमा रेकर्ड भए पनि उनले कुनै दुखेसो पोखेनन्। गुरु तथा दौतरी नेपाल, गान्तोक तथा मुम्बई पसेर संगीतका क्षेत्रमा उधुम मच्चाउँदा पनि उनी दार्जिलिङमै रमाए। जसरी कर्म योञ्जन त्यहाँकै रैथाने रहे। नेपालबाट राजा महेन्द्रले शुभ जन्मोत्सवका अवसरमा सम्मान पाएको बाहेक यहाँको सरकारी क्षेत्रले उनलाई चिनेको पाइन्न। बरु जनस्तरको साधना सम्मानबाट उनी सम्मानित भए। उता सिक्किमको आशारानी पुरस्कार, दार्जिलिङको अरुणा लामा पुरस्कार तथा पश्चिम बंगाल सरकारबाट उनलाई संगीत सम्मान प्राप्त भएको थियो।

कुमारले कोमल गीतहरू गाए। व्यवहारमा पनि त्यस्तै कोमल थिए कुमार। नेपाल आउँदा तीर्थस्थल आएझैं लाग्थ्यो भन्थे उनी। उनको अन्तिम सांगीतिक यात्रा पनि त्यही तीर्थस्थल नेपालको पलेंटी शृंखलामा भएको थियो। सोही शृंखलामा जीवनको सातौं दशकमा हिँड्दै गर्दा पनि उनले पानीसमेत नपिइ २५/२६ वटा गीत गाए। यसले कतै उनमा गायनका लागि पूर्वजन्मको आशीर्वाद प्राप्त पो थियो कि ? भनेर जिज्ञासा उब्जाएको छ। जीवनको अन्त्यतिर उनी भारतको सिलिगुडीमा बसे। धर्मपत्नी कमलकुमारी सुब्बा, छोरीहरू रचना र निरञ्जना सुब्बा र छोरा ऋषभसित दुःखसुखमा रम्दै थिए। उनी अकस्मात २०७८ माघ २ गते सिलिगुडीमै हामीबाट सदाका लागि ओझेल परे। पन्छी सबै उडिगए गुँड रित्तै हुन्छ... भनेझैं उनका नेपाली शुभचिन्तकहरूको गुँड रित्तो भयो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.