कास्की मालपोतको सेवा ठप्प, प्रशासनमा अत्यावश्यक मात्र
पोखरा : कोभिड संक्रमणले कर्मचारीहरु बिरामी पर्न थालेपछि मालपोत कार्यालय कास्कीले सबै सेवा बन्द गरेको छ। मंगलबारदेखि ७ दिनलाई सबै सेवा स्थगित गरेको छ। माघ ११ गते मंगलबारदेखि १७ गतेसम्मका लागि मालपोतले प्रवाह गर्ने सबै सेवा स्थगन गरिएको प्रमुख मालपोत अधिकृत राजेन्द्रप्रसाद पौडेलले जनाए।
‘कोभिड १९को कारण नियमित कार्य सम्पादनको क्रममा मालपोतका विभिन्न फाँटमा कार्यरत केही कर्मचारीमा संक्रमण पुष्टि भइसकेको छ,’ उनले भने, ‘केही कर्मचारीको रिपोर्ट आउन बाँकी छ। कार्यालयका अधिकांश कर्मचारीमा मिल्दो जुल्दो लक्षण देखिएकाले थप संक्रमणलाई मध्यनजर राख्दै ७ दिनको लागि सबै सेवा स्थगित गरिएको छ।’ प्रमुख मालपोत अधिकृत पौडेलले सबै सेवा स्थगित भएपछि सेवाग्राही महानुभावमा पर्न गएको असुविधाप्रति क्षमा मागेका छन्।
जिल्ला प्रशासन कार्यालय कास्कीले अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको छ। प्रशासनका कर्मचारीसमेत संक्रमित भएकाले मंगलबारदेखि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) जयनारायण आचार्यले जनाएका छन्।
प्रशासनका केही कर्मचारी संक्रमित भई आइसोलेसनमा उपचारमा रहेको र थप कर्मचारीमासमेत कोभिडको मिल्दोजुल्दो लक्षण देखापरेको सीडीओ आचार्यले उल्लेख गरेका छन्। जोखिम थप बढ्न सक्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगन गरेको उनले बताए। ‘शान्ति, सुरक्षा, मुद्दा व्यवस्थापन, विपद् व्यवस्थापन तथा अत्यावश्यक सेवा बाहेकका प्रशासनले प्रवाह गरेका नियमित सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी आचार्यले जारी गरेको सूचनामा उल्लेख छ।
कोभिड १९ को जोखिम बढ्दै गएको तथा कार्यरत कर्मचारीसमेत संक्रमित भएको अवस्थामा जिल्ला प्रशासन कार्यालय र कास्की जिल्ला अदालत लगायत सरकारी कार्यालयले गत माघ ५ गते बुधबारदेखि सेवा समय र सेवासमेत कटौती गरेका थिए। जिल्ला प्रशासन कार्यालय कास्कीले विद्युतीय राहदानी, राष्ट्रिय परिचयपत्र विवरण दर्ता र भारतीय पेन्सन सिफारिस सेवा बन्द गरेको छ। प्रशासनको राहदानी शाखा तथा राष्ट्रिय परिचयपत्र विवरण दर्ता इकाइमा कार्यरत केही कर्मचारीमा संक्रमण देखिएपछि सेवा बन्द गरिएको हो।
कास्की जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले माघ १५ गतेसम्म अत्यावश्यक बाहेक सेवा बन्द गर्न आदेश जारी गरेको थियो। बैठकले सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार, स्पा सेन्टर, ब्युटीपार्लर बन्द गर्ने निर्णय भएको थियो। कास्कीमा विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टरहरुबाट भौतिक उपस्थितिमा सञ्चालन हुने तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप बन्द भइसकेका छन्।
जिल्लामा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा वा धेरै मानिस भेला हुने क्रियाकलाप, मठ, मन्दिर मस्जिद, गुम्बा, चर्चलगायत धार्मिकस्थल सञ्चालन नगर्न साथै जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ। जिल्लामा रहेका सेवाप्रदायक निकायको सेवा लिन सेवाग्राहीले अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने व्यवस्था गरिएको।
प्रतिक्रिया दिनुहोस !