फरार कैदी परियार पक्राउ, कैद सजाय थपिने
दाङ : दाङको घोराही कारागारबाट फरार कैदी ३२ दिनपछि भारतबाट पक्राउ परेका छन्। कारागारबाट उपचारको बहानामा भागेका कैदी यमराज परियारलाई प्रहरीले पक्राउ गरेर सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
कारागार नाइकेसमेत रहेका उनी प्रहरीको मोटरसाइकल लिएर फरार भएका थिए। उपचारको बहना बनाएर पुस ८ गते प्रहरीकै मोटरसाईकल लगेर भागेपछि जिल्ला प्रहरी कार्यालयले डिएसपीको नेतृत्वमा खोजी तथा अनुसन्धान टोली बनाइएको थियो।
कारागारमा कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका दाङ राजपुरका परियार गर्भवती प्रेमिकाको हत्या अभियोगमा जन्मकैद सजाय भोगेका व्यक्ति हुन्। परियार पुसको ८ गते छालाको उपचार गर्न .भनी प्रहरी जवान धनबहादुर चौधरीको लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर एउटा होटेलमा चौधरीलाई थुनेर भागेका थिए। प्रहरी र कैदीले थकाली होटलमा दुईजना महिलालाई लिएर गएको अनुसन्धानबाट खुलेको थियो।
कारागारका नाईकेसमेत रहेका परियार भागेपछि अनुसन्धानका कारागारका जेलर युवराज परियारसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका मध्य धनबहादुर चौधरी र उनीसंगै बसेकी युवती पूर्पक्षका लागि थुनामा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको प्रहरीको विशेष टोलीले परियारलाई नेपाल–भारतको सीमा क्षेत्र जमुनहा नाकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए। प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले भारतीय प्रहरीसँगको समन्वयमा फरार नाइके परियारलाई पक्राउ गरेको हो।
पक्राउ परेका नाइके परियारलाई प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउने भएको छ। कतव्र्य ज्यान मुद्दामा साढे ७ वर्ष कैद भुक्तान गरिसकेका परियारको अब काराबासको सजाय थप हुने दाङ प्रहरी प्रमुख काफलेले बताए। बाँकी अब थप २० बर्ष सजाय स्वतह हुने प्रावधान रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !