हेलिकप्टर चार्टर गरेर मतदान
दाङ: लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा प्रतिनिधित्व गर्ने तीन जना रिक्त पदका लागि बुधवार भएको निर्वाचनमा दुई जना मतदाताले हेलिकप्टर प्रयोग गरेर मत हाल्न पुगेका छन्।
दाङको घोराहीमा रहेको मतदान केन्द्रमा एक नगर उपप्रमुख र एक गाउँपालिका उपप्रमुख हेलिकप्टरबाट आएर मतदान गरेका हुन्। नवलपरासी प्रतापपुर गाउँपालिकाकी कार्यबहाक अध्यक्ष (उपाध्यक्ष) अन्जुकुमारी चौधरी र पाल्पा रामपुर नगरपालिकाकी उपमेयर विष्णुदेवी उपाध्याय हेलिकप्टर चढेर मतदान गर्न दाङ आएका हुन्।
मतदानको समय सकिनु केही समय पहिले उनीहरु हेलिकप्टरबाट दाङ आएर राष्ट्रिय सभा सदस्यका लागि मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ।
उनीहरू दुबै जना ०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई निर्वाचित भएका थिए। काग्रेस केन्द्रीय समितिको संयोजकत्वमा उनीहरुलाई हेलिकप्टरमार्फत् ल्याएको हो। दुई जना अहिले अस्पतालमा उपचाररत रहेका छन्।
बिरामी रहेका उनीहरूलाई हेलिकप्टरबाट मतदान स्थल ल्याइएको नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशमा पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले बताए। उनले मतदानस्थल सम्ममा दुई जनालाई एम्बुलेन्सको प्रयोग गरी लगिएको थियो।
रिक्त १९ पदका लागि बुधवार सातै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन भएको थियो। बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानका लागि समय दिइएको थियो। लुम्बिनीमा प्रदेश सभाका ८१ जनाले नै मतदान गरेका छन् भने स्थानीय तहका २१५ मध्ये २१३ जनाले मतदान गरेका थिए। राप्रपाबाट निर्वाचित नेपालगञ्ज उपमहानगरका मेयर धवलशम्शेर राणा सहित राप्रपाबाट निर्वाचित राप्रपाकै अर्का एक मतदाता भने मतदानमा उपस्थित भएका थिएनन्।
प्रतिक्रिया दिनुहोस !