जनसंख्या वृद्धिदर ८० वर्षकै न्यून

जनसंख्या वृद्धिदर ८० वर्षकै न्यून

काठमाडौं : नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ। अघिल्लो जनगणनाको तथ्यांकभन्दा २७ लाख मात्रै वृद्धि भएको हो। केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्रै छ। यो ८० वर्षकै कम वृद्धिदर भएको विभागको तथ्यांकले देखाउँछ। १९९८ सालमा गरिएको चौथो जनगणनाअनुसार नेपालमा जनसंख्या वृद्धिदर १.१६ प्रतिशत थियो। पछिल्लो वृद्धिदर प्रतिशतमा ०.९३ मा झरेको छ। १९९८ साल अघि नेपालको जनसंख्या वृद्धिदर ऋणात्मक थियो। १९९८ को जनगणनापछि अहिले जनसंख्या वृद्धिदर एक प्रतिशतभन्दा तल झरेको छ। 

२०६८ सालको भन्दा ०७८ को जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ ले मात्रै बढी हो। ०६८ सालमा २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो। १० वर्षमा १०.१८ प्रतिशत जनसंख्या वृद्धि भएको विभागको तथ्यांकमा उल्लेख छ। अघिल्लो जनगणनामा १.३५ प्रतिशत वृद्धिदर थियो। पछिल्लो तथ्यांकअनुसार कुल जनसंख्यामा १ करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष (४८.९६ प्रतिशत) र १ करोड ४९ लाख १ हजार १६९ जना महिला (५१.०४ प्रतिशत) रहेको छ। १० वर्षअघि २०६८ सालको जनगणनामा कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ जनामा पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५ प्रतिशत र ५१.५ प्रतिशत थियो। हालको प्रारम्भिक नतिजाअनुसार लैंगिक अनुपात ९५.९१ छ। जुन गत जनगणनामा ९४.१६ थियो।

१० घरमा १२ परिवार 

जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ छ। ती परिवार ५६ लाख ४३ हजार ९ सय ४५ वटा घरमा बसेको तथ्यांकले देखाउँछ। यो तथ्यांकले अनुसार प्रति १० वटा घरमा औसतमा १२ वटा परिवार बसोबास गरेको देखाउँछ। हालको परिवार संख्या भने १० वर्ष अघिको भन्दा करिब २४.५७ प्रतिशतले वृद्धि भएको पाइएको छ। यस अवधिमा जम्मा १३ लाख ३३ करोड ७ सय ५७ वटा परिवार थप भएको छ ।

जनगणनाले प्रतिपरिवार ४.३२ जना सदस्य रहेको देखाउँछ। २०६८ मा ४.८८ जना थियो। सहरी क्षेत्रको परिवारमा करिब ४.२५ जना छन् भने ग्रामीण क्षेत्रमा ४.५५ जना रहेको तथ्यांकले देखाउँछ। यो तथ्यांक १० वर्षअघि क्रमशः ४.३२ जना र ५.०२ जना थियो। भौगोलिक क्षेत्रअनुसार हिमाली क्षेत्रमा ४.२७ जना, पहाडमा ३.९५ जना र तराई क्षेत्रमा ४.६५ जना प्रतिपरिवार रहेको विभागले जनाएको छ।

प्रदेशगत आधारमा हेर्दा परिवारमा औसत सदस्य संख्या गण्डकी प्रदेशमा सबैभन्दा कम ३.६६ जना र मधेस प्रदेशमा सबैभन्दा बढी ५.६६ जना रहेको छ। यो २०६८ सालमा क्रमशः ४.१६ जना र ५.८० जना थियो। जिल्लाअनुसार परिवारको आकार सबैभन्दा सानो दोलखामा ३.४१ जना छ भने सबैभन्दा ठूलो रौतहट जिल्लामा ५.९२ जना रहेको तथ्यांकले देखाउँछ।

तराईमा बढ्यो, पहाड र हिमालमा घट्यो 

भौगोलिक क्षेत्रअनुसार कुल जनसंख्याको वितरणमा तराई क्षेत्रको जनसंख्या क्रमशः बढ्दै गएको देखाउँछ। २०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ। हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत भएकोमा २०७८ मा केही कम भई ६.०९ प्रतिशतमा खुम्चिएको छ। पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशतमा हाल ४०.२५ प्रतिशत मा झरेको छ।

१० वर्षको अवधिमा लैंगिक अनुपात तराईमा १ प्रतिशतले घटेको देखिएको छ भने हिमाल तथा पहाडमा क्रमशः ३ प्रतिशत र ४ प्रतिशतले बढेको देखिएको छ। गत २०६८ को जनगणनामा हिमाल, पहाड र तराईमा क्रमशः ९४, ९१ र ९७ थियो। २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजासम्म आइपुग्दा क्रमशः ९७, ९५ र ९६ मा कायम छ। वार्षिक जनसंख्या वृद्धिदर हेर्दा हिमाली क्षेत्रमा ऋणात्मक –०.०२ प्रतिशत, पहाडी क्षेत्रमा न्यून मात्रामा धनात्मक ०.२९ प्रतिशत र तराई क्षेत्रमा अन्य क्षेत्रको तुलनामा उच्च धनात्मक १.५६ प्रतिशत छ ।

मधेस प्रदेशमा बढी, कर्णालीमा कम

प्रदेशगत रूपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या मधेस प्रदेशमा ६१ लाख २६ लाख २८८ र सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८ सय ८९ जना छ। यो समग्रको क्रमशः २०.९९ प्रतिशत र ५.८१ प्रतिशत हो। प्रदेशगत रूपमा वार्षिक जनसंख्या वृद्धिदर हेर्दा ७ वटा प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५ प्रतिशत प्रतिवर्ष र सबैभन्दा कम गण्डकी प्रदेशमा ०.३० प्रतिशत प्रतिवर्ष जनसंख्या वृद्धि भएको तथ्यांकले देखाउँछ। दोस्रो धेरै वार्षिक जनसंख्या वृद्धिदर हुने प्रदेशमा मधेस प्रदेश छ। यहाँ वृद्धिदर १.२० प्रतिशत प्रतिवर्ष छ। अन्य प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर १.० प्रतिशतभन्दा कम छ ।

देशका ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौं जिल्लामा २० लाख १७ हजार ५ सय ३२ जना र सबैभन्दा कम मनाङमा ५ हजार ६ सय ४५ जना छ। मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसंख्या भएका जिल्लामा परेका छन्। कम जनसंख्या भएकातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन्। सबैभन्दा बढी लैंगिक अनुपात मनाङ जिल्लाको १ सय ३० र सबैभन्दा कम प्युठान जिल्लाको ८२ छ।

हिमाली र पहाडी क्षेत्रका ३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक छ। गत २०६८ को जनगणनाअनुसार २७ वटा जिल्लामा ऋणात्मक छ। सबैभन्दा धेरै वार्षिक वृद्धिदर भक्तपुरमा ३.३२ प्रतिशत र सबैभन्दा कम रामेछापमा –१.६५ प्रतिशत रहेको छ। हिमाली जिल्लाहरूमध्ये मुगुमा सबैभन्दा बढी १.८० प्रतिशत वार्षिक जनसंख्या वृद्धिदर छ ।

गाउँमा एकतिहाइ मात्रै जनसंख्या 

२०७८ सालको कुल जनसंख्यामा सहरी जनसंख्या ६६.०८ प्रतिशत पुगेको छ। ग्रामीण जनसंख्या भने ३३.९२ प्रतिशत छ। संघीय संरचनापछि स्थानीय तहलाई सहरी र ग्रामीण क्षेत्रअनुसार वर्गीकरण गरी २०६८ सालको जनसंख्यालाई समायोजन गर्दा सहरी जनसंख्या ६३.१९ प्रतिशत र ग्रामीण जनसंख्या ३६.८१ प्रतिशत थियो। राष्ट्रिय जनगणना २०६८ मा ५८ वटा नगरपालिका रहेको अवस्थामा कुल जनसंख्याको १७.०७ प्रतिशत सहरी जनसंख्या र ८२.९३ प्रतिशत ग्रामीण जनसंख्या थियो।

स्थानीय तह 

पछिल्लो तथ्यांकले नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौं महानगरपालिकामा देखाएको छ। सबैभन्दा ठूलो भेरी नगरपालिका छ। धेरै जनसंख्या  भएका ५ नगरपालिकामा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र वीरगन्ज महानगरपालिका हुन्। सबैभन्दा कममा डोल्पा जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी, संखुवासभा जिल्लाको मादी, तेह्रथुम जिल्लाको लालीगुराँस र दोलखा जिल्लाको जिरी नगरपालिका पर्छन्। काठमाडौं महानगरपालिकामा ८ लाख ६५ हजार ९ सय ६ र सबैभन्दा कम ठूलीभेरी नगरपालिकामा १० हजार १ सय ८७ जनसंख्या छ।

गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएकाहरूमा बाँकेको बैजनाथ, राप्तीसोनारी र खजुरा, रुपन्देही जिल्लाको मायादेवी र कपिलवस्तुको मायादेवी हुन्। सबैभन्दा कम जनसंख्या भएकोमा मनाङको नार्पा भूमि, मुस्ताङको लो–घेकर दामोदरकुण्ड, मनाङको मनाङ ङिस्याङ र नासो गाउँपालिका हुन्। २० हजारभन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ वटा छ। १ लाखभन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ छ। गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या बैजनाथ गाउँपालिकामा ७० हजार ३ सय १५ जना र सबैभन्दा कम नार्पाभूिम गाउँपालिकामा ४ सय ४२ छ। १० हजारभन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या ४६ छ। ५० हजारभन्दा बढी जनसंख्या हुने गाउँपालिकाको संख्या १५ छ।

जनघनत्व : प्रतिकिलोमिटर १९८ जना 

नेपालको जनघनत्व १९८ जना प्रतिवर्ग किलोमिटरमा पुगेको छ। २०६८ सालमा १ सय ८० जना मात्र थियो। भौगोलिक क्षेत्रअनुसार हेर्दा २०६८ सालमा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ३ सय ९२ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना रहेकोमा हाल सबैभन्दा धेरै तराई क्षेत्रमा ४ सय ६१ जना र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना छ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै ५ हजार १ सय ८ जना प्रतिवर्ग किलोमिटर र मनाङ जिल्लामा सबैभन्दा कम ३ जना प्रतिवर्ग किलोमिटर जनघनत्व छ। जनघनत्वको आधारमा भक्तपुर, ललितपुर, धनुषा र महोत्तरी क्रमशः धेरै जनघनत्व रहेका दोस्रो, तेस्रो, चौथो र पाँचौं जिल्लाहरू हुन्। मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्लामा जनघनत्व १० जना प्रतिवर्ग किलोमिटरभन्दा कम छ। तराईमा सबैभन्दा कम जनघनन्व भएको जिल्लामा उदयपुर १ सय ६६ जना र पहाडमा रुकुम पूर्व ३५ जना छन्।

लिम्पियाधुरा र लिपुलेक पनि समेटियो

जनगणनामा लिम्पियाधुरा, लिपुलेक र कालापानी पनि समेटिएको तथ्यांक विभागको दाबी छ। विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनसंख्या २ करोड ९१ लाखभित्र सो भेगको जनसंख्यासमेत समेटिएको जानकारी दिए।

भारतद्वारा अतिक्रमित त्यो क्षेत्रमा कति जनसंख्या छ भन्नेबारे भने विस्तृत प्रतिवेदनमा समेटिने भएको छ। गणक आफैं सो क्षेत्रमा पुग्न नसके पनि वैकल्पिक माध्यमबाट जनगणना गरिएको उनले जानकारी दिए। उनका अनुसार अहिले प्रारम्भिक नतिजामा ७ सय ५३ स्थानीय तहको मात्रै जनसंख्यामा आएको छ। विस्तृत नतिजा आउँदा वडा तहको पनि आउँछ। त्यसमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको जनसंख्यामा विवरण पनि आउँछ। यो क्षेत्र दार्चुलाको जिल्लाको व्यास गाउँपालिका–१ मा पर्छ। 

विवाह ढिलो हुनु। लैंगिक हिसाबमा छोराछोरीमा विभेदमा कमी आउनु। धेरै पुरुष विदेश जानुलगायतका कारणले जनसंख्या वृद्धिदरमा कमी 
आएको हो। 
– नेविनलाल श्रेष्ठ
महानिर्देशक
केन्द्रीय तथ्यांक विभाग

प्रतिकूल परिस्थितिमा १ सय १० वर्षको परम्पराको निरन्तर रूपमा जनगणना सम्पन्न भएको छ। यसले देशको मुहार देखाएको छ
– विश्व पौडेल
उपाध्यक्ष
राष्ट्रिय योजना आयोेग

विदेशमा २१,६९,४७८ नेपाली

पछिल्लो तथ्यांकअनुसार परिवारमा अनुपस्थित (अक्सर बसोबास विदेशमा रहेका) जनसंख्या २१ लाख ६९ हजार ४ सय ७८ छ। जसमध्ये १७ लाख ६३ हजार ३ सय १५ पुरुष (८१.२८ प्रतिशत) र ४ लाख ६ हजार १ सय ३ महिला (१८.७२ प्रतिशत) परिवार बाहिर छन्। २०६८ सालमा घरपरिवारमा अनुपस्थितको संख्या १९ लाख २१ हजार ४ सय ९४ थियो। यसमा पुरुष १६ लाख ८४ हजार ०२९ (८७.६४ प्रतिश) र महिला २ लाख ३७ हजार ४ सय (१२.३६ प्रतिशत) थिए। ७७ वटै जिल्लाबाट व्यक्तिहरू परिवारमा अनुपस्थित देखिएका छन्। सबैभन्दा बढी काठमाडौं, कैलाली, झापा, रुपन्देही र मोरङका छन्। कममा मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङका छन्।

राष्ट्रिय जनगणना २०७८ नेपालको १२औं र २०७२ मा जारी भएको नेपालको संविधानपछिको पहिलो जनगणना हो। यस जनगणनामा पहिलो चरणको स्थलगत कार्य २०७८ साल भदौ ३० देखि असोज १८ सम्म र दोस्रो चरणको २०७८ साल कात्तिक २५ देखि २०७८ मंसिर ९ सम्म गरिएको थियो। यसका लागि १ हजार ८ सय ७१ कर्मचारी र स्थलगत कार्यमा करिब ८ हजार ५ सय सुपरिवेक्षक तथा ३९ हजार गणक खटिएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए। 

राष्ट्रिय जनगणना २०७८ को यस प्रारम्भिक नतिजाका अंकहरू जनगणनाको मुख्य प्रशोधन कार्य सम्पन्न भई अन्तिम नतिजा प्राप्त हुँदा २ देखि ३ प्रतिशतसम्म फरक पर्न सक्ने श्रेष्ठ बताउँछन्। विभागले यसअघि नेपालको जनसंख्या ३ करोड नाघ्ने प्रक्षेपण गरेको थियो। तर, प्रक्षेपणअनुसार जनसंख्या बढेन। प्रक्षेपणभन्दा करिब ८ लाख कम भएको विभागको भनाइ छ। 

१० वर्षअघिको आधारमा प्रक्षेपण गरिने गरेको छ तर १० वर्षको अन्तरालमा एक परिवारमा बढीमा २ र अधिकांश १ जना मात्रै सन्तान जन्मिएका छन्। यसकारण जनसंख्या उल्लेख्य वृद्धि नभएको विभागको तर्क छ। विभागका महानिर्देशक श्रेष्ठका अनुसार विवाह ढिलो हुनु, लैंगिक हिसाबमा छोराछोरीमा विभेदमा कमी आउनु, धेरै पुरुष विदेश जानुलगायतका कारण छन्।  राष्ट्रिय योजना आयोेगका उपाध्यक्ष विश्व पौडेलले प्रतिकूल परिस्थितिमा १ सय १० वर्षको परम्पराको निरन्तरा रूपमा जनगणना सम्पन्न भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.