स्याङ्जा अक्सिजनमा आत्मनिर्भर
![स्याङ्जा अक्सिजनमा आत्मनिर्भर](https://annapurnapost.prixacdn.net/media/albums/sylindar_20220201113701_DmJPnfBBhG.jpg)
स्याङ्जा : स्याङ्जा जिल्ला अस्पतालमा मंगलबारदेखि अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। उत्पादन सुरु भएसँगै स्याङ्जा अक्सिजन उत्पादनमा आत्मनिर्भर बनेको हो।
दैनिक ७५ वटा अक्सिजन सिलिण्डर भर्न सक्ने क्षमताका प्लान्ट ६ महिनामा तयार बनाएर सञ्चालनमा ल्याइएको हो। प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले अक्सिजन प्लान्टको मंगलबारदेखि औपचारिक सुरुवात भएको जानकारी गराए ।
उनले बुष्टर मेशिन स्विच अन गर्दै भने, ‘अक्सिजनका लागि जिल्ला आत्मनिर्भर बन्यो। अब अन्यत्र भर पर्नु पर्ने छैन। बिजुलीका लागि नयाँ ट्रान्सफर्मरसहित अक्सिजन प्लान्ट सञ्चालनमा आएका हुन्। जिल्लाबासीका लागि यो खुशीका कुरा हो।’
कार्यक्रममा अस्पताल प्रमुख रमेश आचार्यले अबदेखि अस्पतालमा अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने बताए। यहाँ उत्पादित अक्सिजनले स्याङ्जा जिल्लाभरको अक्सिजनको माग सहजै पूरा गर्छ। अब यसको दिगोपनाको खाँचो भएको उनको भनाइ छ।
संघीय सरकारको १ करोड ३६ लाखको लागतमा प्लान्ट निर्माण सम्पन्न भएको अस्पतालले जनाएको छ। सरकारले गएको भदौमा अस्पतालमा अक्सिजन प्लान्टसहितका योजनाका लागि एक करोड ५० लाख छुट्याएपछि असारदेखि यसका प्रक्रिया सुरु भएको अस्पताल ब्यवस्थापन समितिका पूर्वअध्यक्ष लोकराज शर्माले जानकारी दिए। भदौदेखि प्लान्ट निर्माण सुरु गरिएकोमा सबैको साथ र सहयोगले समयमै निर्माण सम्पन्न भएको छ उनले भने।
अक्सिजन प्लान्ट १५ एनएमक्युब क्षमताको छ। यहाँ प्रति घण्टा १५ हजार लिटर अक्सिजन उत्पादन हुन्छ। उत्पादित ग्यास सिधै अस्पतालतिर पठाउन र खाली सिलिण्डरमा भरेर राख्न पनि सकिन्छ। दैनिक सरदर ७५ वटा अक्सिजन सिलिण्डर भर्ने क्षमता राख्ने बायो मेडिकल इन्जिनियर सुदिप लामिछानेले बताए। उत्पादित अक्सिजनमध्ये ८ हजार लिटर प्रतिघण्टा अक्सिजन भर्न सकिन्छ।
उनका अनुसार भरिएको प्रति सिलिन्डरमा ६ हजारदेखि ८ हजार लिटर अक्सिजन हुन्छ। प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला कोभिड ब्यवस्थापन समितिको सक्रियतामा विद्युत प्राधिकरण शाखा, स्वास्थ्य कार्यालय, प्रहरी कार्यालयले महत्वपूर्ण भूमिका पूरा गरेको अस्पताल प्रमुखको भनाइ छ।
स्याङ्जा सदरमुकामसँगै पुतलीबजार नगरपालिका ३ स्थित जिल्ला अस्पताल २५ शैय्याको छ। पछिल्ला समय सुबिधासम्पन्नोन्मुख बन्दै गएको र अस्पतालको गुणस्तरीय सुधारका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर गोदार भन्छन्।
कोभिड संक्रमित हुन वा अन्य अवस्थाका बिरामीलाई पनि अक्सिजन अत्यावश्यक मानिन्छ। थप उपचारका लागि लैजाँदै गर्दा अक्सिजनका अभावका धेरै बिरामीका पनि ज्यान गएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)