‘क्यान्सर लाग्यो, हिम्मत हारिनँ’

‘क्यान्सर लाग्यो, हिम्मत हारिनँ’

काठमाडौं : ‘तपाईंलाई धेरै–धेरै बधाई छ !’
फोनबाट बधाई दिँदा बबिता (बबी) शाक्य हाँसिन्। र, बोलिन्, ‘धन्यवाद।’ 
कति वर्ष भयो क्यान्सर जितेको ? 

‘२५ वर्ष।’ 
कहाँ बस्नुहुन्छ ? 
‘काठमाडौं सीतापाइला।’

मनाइन् रजत वर्ष

बबिता ५३ वर्षकी भइन्। चिन्नेहरू क्यान्सरकी ‘जेठी लडाकु’ भनेर सम्बोधन गर्छन्। विगत सोच्ने र भविष्य कल्पिने स्वभाव छैन उनको। बरु हरदम मुस्कुराउँछिन्। बिन्दास छिन्। 
जति बेला ‘क्यान्सर नो एन्सर’ भनिन्थ्यो। अर्थात् क्यान्सर लागेपछि बाँचिँदैन। तर, शरीरका चार ठाउँमा लागेको क्यान्सर उनले सामना गरिन्। निको भइन्। यो रोग लागे पनि बाँचिन्छ भन्ने उदाहरण बनेकी छन्। उनले यो रोगलाई परास्त गरेको २५ वर्ष भयो। यो अवसरमा रजत वर्ष भव्य रूपले मनाइन्। २८ वर्षको उमेरदेखि एकपछि अर्को गर्दै रोग देखिएको थियो। उनले मुकाबिला गरिरहिन्। 

गहिरो छ दुःख
यिनै योद्धाको निवास खोज्दै हामी सीतापाइला पुग्यौं। घरको रंगरोगन चल्दै रहेछ। वेदनाको गहिरो कथा सुनाउनुअघि उनले सिँढीयुक्त उकालो चढाइन्।
‘संघर्ष पनि सिँढीजस्तै उकालो हुन्छ। सिँढी चढ्दा स्वाँस्वाँ हुन्छ। संघर्ष गर्दा दुःख’, उनले भनिन्, ‘जिन्दगीमा संघर्षको उकालो पटक–पटक चढ्नुपर्‍यो। गहिरो छ, दुःख। संघर्ष÷दुःखको बेला मान्छे र पैसालाई अझ राम्ररी चिन्न पाइँदो रहेछ।’ 

त्यसपछि उनले मुस्कुराउँदै सोधिन्, ‘कसरी लिनुहुन्छ, अन्तर्वार्ता ? 
अनुहार चाउरी पर्न थालिसक्यो। कस्तो आउला  फोटो ?’

उनका आँखामा आँसु छैन। संघर्षका पल उनी सहज रूपमा सुनाउँछिन्। ‘अस्पतालको अप्रेसन थिएटर त मेरो माइती हो। गाको छ, गाको छ’, छेउमा बसिरहेका श्रीमान् रवीन्द्रतर्फ हेर्दै मुस्काइन्, ‘अस्पताल त उहाँ (श्रीमान्)को ससुरालीभन्दा हुन्छ। दक्षिणा दिने होइन, लिने ससुराली।’ हाहा... !

आमा हारिन्, छोरी जितिन्
बुवा ध्वजराज शाक्य सरकारी जागिरे। आमा तीर्थकुमारी नर्स। यी दम्पतीका दुई छोरीमध्ये कान्छी हुन्, बबिता। २०४९ फागुन १२ गते उनको लगनगाँठो कसियो। ‘मलाई घरमै छोरा बनेर बस्ने। बुवाआमा पाल्ने चाहना थियो। बिहे गर्दिनँभन्दा आमा रिसाउनुभयो’, उनले भनिन्, ‘दुई ठाउँबाट बिहेको अफर आएको थ्यो। बुवाको चाहनाअनुसार बिजनेस म्यानलाई आउट गरियो। पढेलेखेको जागिर खाएको ह्यान्डसमलाई रोजियो। अहिले सम्झँदा ठीक गरिएछ भन्ने लाग्छ। वर्षगाँठ आउनै लाग्यो। २९ वर्ष हुँदै छ।’ (हाँसो) 

बिहेलगत्तै आमा बिरामी भइन्। ग्यास्ट्रिक भनेर औषधि सेवन गरिन्। थला परिन्।  आखिरमा पुष्टि भयो– पाठेघरको मुखको क्यान्सर। रोग पहिचान हुँदासम्म उपचारमा ढिलाइ भइसकेको थियो। वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. सुपात्रा कोइरालाले क्यान्सर भएको आशंका गरेकी थिइन्। कति पेटको डाक्टरलाई मात्र देखाउने ? 
गाइनो (स्त्री रोग विशेषज्ञ)लाई देखाउँदा रोग पत्ता लाग्यो। 

‘मेरी आमा बज्राचार्य र बुवा शाक्य हो। बज्राचार्य भनेको पुरेत हो। अरूले जे भने पनि आमाले मान्नुभएन रे। त्यो जमानामा पनि लभ म्यारिज नै भएको थियो रे। बुवाआमा झगडा गरेको मैले कहिल्यै थाहा पाइनँ’, उनले भनिन्, ‘आमाले भगवानको पूजा गर्दा पनि श्रीमान्पछि मात्र आफ्नो निधन होस् भन्ने कामना गर्नु हुन्थ्यो रे। म बितेँ भने श्रीमान्को स्याहार कसले गर्ला भन्ने चिन्ता थियो। बुढालाई अलपत्र पारेर कसरी जाने भन्ने गर्नुहुन्थ्यो। यो कुरा निकै गहिरो लाग्छ, मलाई।’

आफूलाई रोग लाग्दा पनि उनले परिवारका कसैलाई महसुस हुन नदिने गरी व्यथा सहिन्। खुट्टाबाट रगत बग्दा पनि कसैलाई सुनाइनन्। वरिष्ठ क्यान्सर सर्जन डा. भक्तमान श्रेष्ठकहाँ जँचाउँदा क्यान्सर चौथो चरणमा पुगेको थियो। 
‘आमाको अवस्था नाजुक छ। छोडेर कतै नजानू’, डा. श्रेष्ठले परिवारका सदस्यलाई सँगै रहन सुझाए। 
‘स्टोरको दराजमा सबै मिलाउनुभएको रैछ। कापीमा दसैंको लुगा÷भाँडाकुँडा÷जाडोमा लगाउने कपडा भनेर सबै मिलाएर लेखेर राख्नुभएको रहेछ। आफू अचानक मरे पनि 
अरूलाई सरसामान खोज्न गाह्रो नपरोस् भनेर। त्यो देखेपछि हामी त रुवाबासी गर्‍यौं’, उनले विगत स्मरण गरिन्, ‘आमालाई त म गुरु मान्छु।’ 

स्वास्थ्यकर्मी आमाले अन्ततः हार खाइन्। उपचार हुँदाहुँदै ज्यान गुमाइन्। आमाको निधनलगत्तै बुवालाई मिर्गौलाको समस्या देखियो। दुई वर्षपछि बुवाले पनि धर्ती छाडे। पीडाको घाउमा मल्हम बन्यो, श्रीमान्को सहयोग र साथ।

जागिरका क्रममा श्रीमान्सँगै उनी कम्बोडिया पुगिन्। घर फर्कंदा चार जना भए। ‘२०५३ साल दसैंको पूर्णिमाको दिन जुम्ल्याहा जन्माएँ’, उनले हाँस्दै भनिन्, ‘जाँदा त हामी दुई जना बुढाबूढी थियौं। घर फर्कंदा खेरी हाम्रो जनसंख्या बढ्यो। चार जना घर आइयो।’ 

पहिलो सन्तान गुमाएको गहिरो पीडा मनमा गढेको थियो। त्यसैले जुम्ल्याहा सन्तानको मुख हेर्न पाउँदा खुसीको आँसु आयो। उनले भनिन्, ‘भगवानले त एकैचोटी दुई सन्तान पो दिए। साउँ पनि ब्याज पनि।’ 
सन्तान जन्मेको एक वर्षपछि उनको संघर्षका दिन सुरु भए। ‘बच्चा जन्मिएपछि त क्यान्सर पनि पछि–पछि लागिहाल्यो।’ 

त्यसपछि देखियो क्यान्सर
आमाबुवा नभएपछि माइत जानै हरायो। माइतजस्तै गइरहने स्थान बन्यो, अस्पताल। पुस महिना। नुहाउने क्रममा बायाँ स्तनमा गाँठो महसुस गरिन्। 

‘गुच्चाजस्तो डल्लो थ्यो। घचेट्यो भने यताउता सथ्र्यो’, उनले भनिन्, ‘जुम्ल्याहा सन्तान भए पनि स्तनबाट दूध धेरै आउँथ्यो। सासूआमालाई सुनाउँदा दूध धेरै भएर पनि गाँठो आउँछ भन्ने जवाफ दिनुभयो।’
अरूलाई सुनाइन्। कसैले नराम्रो शंका गरेनन्। तर, उनलाई चित्त बुझेन। स्त्री रोग विशेषज्ञलाई समस्या सुनाइन्। परीक्षण गरिन्। रिपोर्ट आयो, क्यान्सर।

क्यान्सर सर्जन डा. भक्तमान श्रेष्ठसमक्ष अँध्यारो अनुहार लगाउँदै पुगिन्। डा. श्रेष्ठले तत्कालै दूध सुकाउने औषधि लेखे। एक सातामै शल्यक्रिया गरे। ‘आमा गुमाएकी। भर्खर जुम्ल्याहा सन्तान जन्माएकी। सबै सम्झेर छटपटाएँ’, उनले भनिन्। शल्यक्रिया गरेकी बबिताले सन्तानलाई दूध खुवाउन पाइनन्। 

५ होइन, १० वर्षमा पुनः रोग
डा. श्रेष्ठले पाँच वर्षसम्म क्यान्सर देखिन सक्नेतर्फ सचेत गराए। तर, त्यो अवधिमा देखिएन। उनी ढुक्क भइन्। विडम्बना, १० वर्षपछि रोगले पच्छ्यायो। दाहिने (बायाँ) स्तनमा २०६४ सालमा डल्लो महसुस भयो। डा. श्रेष्ठको सुझावअनुसार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. आरती शाहकहाँ पुगिन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा म्यामोग्रामलगायत परीक्षण गरिन्। चिकित्सकसँगको परामर्शमा शल्यक्रिया गर्नुपर्ने ठहर भयो। 

काठमाडौं सीतापाइलाकी ५३ वर्षीया बबिता (बबी) शाक्य। शरीरका चार ठाउँमा लागेको क्यान्सर सामना गरिन्। क्यान्सर परास्त गरेको २५ वर्ष भयो। रोगसँग हार नमाने कै कारण क्यान्सर जितेको उनी बताउँछिन्।  तस्बिर : दिपेन श्रेष्ठ दिपेन श्रेष्ठ

‘श्रीमान्–श्रीमतीबीच कसैलाई जानकारी नदिने सल्लाह भयो। शल्यक्रिया गर्न जाने बेला हामी घुम्न जान लागेको भन्दै घरबाट निस्क्यौं’, उनले भनिन्। 
चितवन पुगिन्। क्यान्सर अस्पताल भरतपुरमा कार्यरत डा. श्रेष्ठले सम्झाए, ‘उपचारमा नयाँ प्रविधि आएको छ। आधा स्तन मात्र शल्यक्रिया गरे भइहाल्छ।’ 

उनले तत्कालै जवाफ दिइन्, ‘आधा राखेर के काम ? पूरै फाल्दिनुस्। दुवै स्तन नहुँदा ब्यालेन्स हुन्छ।’ चिकित्सकहरूले मुखामुख गरे। डा. श्रेष्ठले अप्रेसन थिएटरमा लगे। आधा स्तन राखिदिए। तर, केही दिनपछि आधाबाट पानी बग्न थाल्यो। डा. श्रेष्ठले तुरुन्तै आउन भने। ‘डा. साबले अप्रेसन थिएटरमा  लगेर पूरै रिमुभ गरिदिनुभयो’, उनले भनिन्, ‘म त केटा मान्छेजस्तो भएँ (हाँसो)।’

औषधिले केश झर्‍यो। टाउको बाँधेर घरको छतमा जान्थिन्। छिमेकीले सुत्केरी भएको शंका गरे। खेल्न गएको छोरालाई भने, ‘बाबु ! तिम्रो मम्मीले के पाउनुभयो ? छोरा कि छोरी ?’
छोराले जवाफ दिए– ‘केही न केही !’ छिमेकीले रिसाउँदै भने, ‘सुत्केरी भएको पनि लुकाउनुपर्छ र ?’ छोराले घरमा आएर सुनाएपछि उनी हाँसिन्। 

जब दायाँ कुम दुख्न थाल्यो

२०६५ सालमा उनको दायाँ कुम दुख्न थाल्यो। स्तनको शल्यक्रियाको प्रभाव सोचेर चुपचाप बसिन्। दुखाइ बढ्यो। एमआरआई गरिन्। रिपोर्ट लिएर विशेषज्ञ डा. आरती शाहकहाँ पुगिन्। डा. शाहले बोन क्यान्सर भएको बताइन्।  केमोथेरापी लिइन्। त्यस बेला औषधिले रिस उठाएको उनले सुनाइन्।

‘मलाई एकदमै रिस उठ्थ्यो’, उनी हासिन्, ‘मनबाट गाली आको आयै हुन्थ्यो। पछि मलाई लाग्यो कस्तो रोग लागेछ, रिस उत्पादन गर्ने ?’ (हाँसो)

छालामा पनि क्यान्सर 
बोनको क्यान्सर निको पारे पनि चैनसँग बस्न पाइनन्। तीन वर्षपछि छातीनजिकै छालाको क्यान्सर पुष्टि भयो। उपचार गर्न राजीव गान्धी क्यान्सर अस्पताल पुगिन्। चिकित्सकले जाँच गरे। शल्यक्रिया गरेको छातीमा करङ देखियो। साप्राको छाला ताछेर छातीमा राखिदिए। ६ महिना ओच्छ्यानमा बिताइन्। 

उनी  पहिलो पटक क्यान्सर हुँदा नै भारतको मुम्बईस्थित टाटा क्यान्सर अस्पताल गएकी थिइन्। चिकित्सकले हेपेको महसुस भयो। स्वदेश फर्केर उपचार गरिन्। ‘भगवान्ले साथ दिएकै हुन्’, पुनः मुस्कुराउँदै भनिन् ‘अस्पताल त माईतीजस्तै भयो। गएको गयै।’ 

माया कि विष ?
बिरामी भेट्न जानेले ढोकाबाटै ‘विचरा’ भन्ने भाव देखाउँछन्। जुन बबिताले भोगिन्। आगन्तुकको सहानुभूति उनलाई पीडा भयो। ‘कोठामा पस्दादेखि नै च्व... च्व गर्दै आउनेहरू हुन्छन्। भेट्न आउनेहरूलाई माया गरेको भन्ने लाग्छ होला। क्यान्सरका बिरामीलाई विषसरह हुन्छ’, उनले भनिन्, ‘मैले अनुहार पढ्थेँ। आगन्तुकको अनुहारमा आज त भेट भयो। भोलि भेट हुन्छ/हुँदैन भन्ने भाव हुन्थ्यो।’
आगन्तुकको अनुहार र भाववंगीले आत्मबल बढायो। ‘सबैको सोच बदल्छु। देखाएरै छोड्छु भन्ने भावना पलायो। श्रीमान् र दुई छोराछोरीको बिचल्ली हुन्छ जस्तो लाग्यो’, उनले हाँस्दै भनिन्, ‘क्यान्सर लागेर के भयो ? मसँग आँट हिम्मत छ नि भन्ने लाग्यो।’ (हाँसो) 

बिरामीको मनोबल बढाउन क्रियाशील
उनी क्यान्सरका बिरामीलाई काउन्सिलिङ गर्छिन्। चार ठाउँको क्यान्सर जितेको सगर्व अनुभव सुनाउँछिन्। मनोबल बढाउँछिन्। ‘त्यो बेला क्यान्सर जितेकाहरू पाइँदैनथ्यो। आफूले आफूलाई काउन्सिलर घोषणा गर्नुपथ्र्यो। आफ्नो मनोबल स्वयं बढाउनुपथ्र्यो’, उनले भनिन्, ‘बाहिर कसैले मीठो बोलिदिए पनि बिरामीलाई लाख हुन्छ। गजनी फिल्मको आमिर खानजस्तो छु के म। कहिलेकाहीँ कतिपय घटनामा ब्लाइन्ड हुन्छु। बिर्सने बानीले गर्दा अरूलाई परिचय दिँदा पनि भनिदिन्छु म त गजनी हुँ भन्ने गर्छु।’ (हाँसो) 

रोलमोडलका पनि रोलमोडल

श्रीमान् रवीन्द्रले पीडाको घाउमा मल्हम लगाइदिए। आँसु पुछिदिए। ढाडस दिए। ‘श्रीमान्बाट यस्तो साथ र माया पाउने श्रीमती कमै होलान्’, उनले भनिन्, ‘सबैले रोलमोडल मान्छन्। मेरो रोलमोडल त बुढा (श्रीमान्) हुनुहुन्छ। उहाँ त रोलमोडलको पनि रोलमोडल।’ तब श्रीमतीका हरेक व्यथामा साथ दिएका रवीन्द्रको  मुहारमा मुस्कान छरियो।

उनी वीर अस्पतालमा २०२५ भदौ १५ गते जन्मिइन्। उनले जिन्दगीलाई नै जात्राको संज्ञा दिइन्। उनी मुस्कुराउँदै बोलिन्, ‘इन्द्रजात्राको दुई दिनपछि जन्मेकी हुँ। हामी दुई छोरी। बुवा मेरा दुई आँखा, दुई छोरी भन्नुहुन्थ्यो। छोरासोरा बुवालाई चाहिएन रे।’ (हाँसो) 

लडाकु स्वभाव
बाल्यकालमा लडाकु स्वाभावकी थिइन्। घरभित्र दिदी। बाहिरको काममा उनी। स्कूलमा मध्यम विद्यार्थी थिइन्। २०४४ सालमा दोस्रो श्रेणीमा एसएलसी गरिन्। ‘चाहना त फस्र्ट नै हुने थियो नि’, उनी फेरि हाँसिन्, ‘दोस्रो भइहालेँ। यसलाई ठीकठीकै मानेँ। चित्त बुझाएँ। नबुझाएर पनि के पो गर्न सक्थें र (हाँसो) ?’ 

पद्म कन्या क्याम्पस बागबजारमा भर्ना भइन्। डान्स विषय रोजिन्। ‘कला भन्ने चिजलाई माया गर्‍यो भने हामीसँगै रहँदो रहेछ। अलिकति साइड लगाइदियो भने छोडेर जाने रहेछ’, उनले भनिन्, ‘बाजा बजेको सुन्यो कि यसोउसो गर्दै  हल्लिहाल्छ। पार्टी प्यालेसतिर त जानै हुन्न।’ 

‘बबिता दुर्लभ पात्र’ 

डा. भक्तमान श्रेष्ठ, वरिष्ठ क्यान्सर सर्जन
पाँच वर्षपछि अर्को अंगमा क्यान्सर देखिए त्यो नयाँ क्यान्सर हो। बायाँ स्तन शल्यक्रिया गरेको १० वर्षपछि अर्को शल्यक्रिया गर्नुपर्‍यो। दुवै मैले गरेको हुँ। पछि त हड्डी, छालामा पनि क्यान्सर भयो। उनले दुःख पाइन्। तर, निको भइन्। सबै स्थानको क्यान्सर जितेर रजत वर्ष (२५ वर्ष) मनाउनु दुर्लभ हो। उनी क्यान्सर जित्ने उदाहरणीय व्यक्ति लाग्छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.