९ वर्षदेखि वेपत्ता छोरो खोजिदिन आमाको गुहार
धनकुटा : मलेसिया गएको छोरा सम्र्पकबिहीन भएपछि खोजि गरिदिन उनका परिवारले सरकारसक्षम अनुरोध गरेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा ९ वर्ष अघि मलेसिया पुगेका धनकुटा नगरपालिका वडा नं. २ लामीघरका ३७ वर्षीय हर्कबहादुर राई अहिले परिवारको सम्पर्कमा छैनन् । परिवारसँग सम्पर्क नभएपछि उनका आमा सुचिम्मा राई १० वर्षीय नातिनी युनिषा राईलाई साथमा लिएर छोराको खोजिमा पहल गरिदिन भन्दै मंगलबार सदरमुकाम आइपुगेकी छन्।
उनले छोराको खोजि गरिदिन धनकुटा नगरपालिका अन्र्तगतको आप्रवासी स्रोत केन्द्रमा निवेदन समेत दिएकी छन् । स्रोत केन्द्रकी सूचना अधिकृत मञ्जु राईको अनुसार परिवारसँग हर्कबहादुरको सक्कल नागरिकताबाहेक अन्य केहि कागजात छैन । नागरिकतामा पासपोर्ट नम्बर रहेको कारण खोजि गर्न केहि सहज भएको उनले बताइन् ।
'पासपोर्ट नम्बरको आधारमा हर्कबहादुरले २०६९ साल वैशाख १३ गतेको श्रमस्वीकृतिमा म्यानपावर कम्पनी हेभन ओभरसिज प्रालिमार्फत मलेसियाको IOI Landscape Services Sdn Bhd मा गएको देखिन्छ । ‘हामीले सेन्टर फर माइग्रेसन तथा रिलेसन (सिएमआइआर) को सहजीकरणमा वैदेशिक रोजगार वोर्डमा डकुमेन्ट पठाएका छौं,' उनले भनिन्, ‘वैदेशिक रोजगार वोर्डले मलेसियामा रहेको राजदूतावाससँग समन्वयको काम गर्छ । केहि दिनपछि हर्कबहादुरको विषयमा वास्तविक कुरा थाहा हुन्छ।’
हर्कबहादुरको दुई छोरा र एक छोरी छन् । उनीहरुको भरणपोषण उनका बाजे गंगाबहादुर राई र बोजु सुचिम्मा राईले गर्दै आइरहेका छन् । दुई छोराहरु १९ वर्षीय विक्रम राई र १६ वर्षीय विवेक राई अहिले ज्यालामजदुरीको काम गर्न नाताले काका पर्ने मानबहादुर राईको साथमा पोखरामा छन् । छोरी युनिषा राई भने घरमै बाजेबज्यैसँग छन् ।
राईकी आमाको अनुसार मलेसिया पुगेको डेढ वर्षसम्म हर्कबहादुर परिवारसँग सम्पर्कमा थिए । वैशाखमा मलेसिया गएका थिए । कात्तिकमा छोरी युनिषा राईको जन्म भएको थियो । अहिले युनिषा १० वर्षकी भइसकेकी छिन् । उनी गाउँकै धर्मोदय आधारभूत माध्यमिक विद्यालयको कक्षा ३ मा अध्ययनरत पढ्छिन् । बुवाको नागरिकता देखाउँदै युनिषाले बुवा फोटो र नागरिकताबाहेक अन्य केही नदेखेको बताइन् ।
युनिषा ३ वर्षको हुँदा उनकी आमा निशा राईले आत्महत्या गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस !