क्रपु डाँडामा हिमाल हेर्दै हिउँमा रमाउँदै आन्तरिक पर्यटक
ताङतिङ : कास्कीको पर्यटकीय गाउँ ताङतिङको शिरमा रहेको क्रपु डाँडा आन्तरिक पर्यटकको नयाँ गन्तव्य स्थलको रुपमा विकास भएको छ। पोखराबाट एक दिनमै पुग्न सकिने भएकोले यतिबेला समुन्द्रि सतहदेखि ३१ सय मिटर उचाइमा रहेको क्रपु डाँडामा हिउँ खेल्न जाने पर्यटकको चहलपहल बढेको हो।
पोखराबाट ताङतिङ गाउँ २१ किलोमिटर दुरीमा छ। हिउँले श्रृङ्गारिएको सुन्दर क्रपु डाँडा ताङतिङबाट ११ किलोमिटर दुरीमा पर्दछ। क्रपुडाँडासम्म जाने बाटो गत वर्ष बनेपछि पर्यटकको आकषर्ण बढेको हो। क्रपु डाँडा क्षेत्रमा बाक्लो लालिगुराँसको जंगल छ। चैत, वैशाख महिनामा विभिन्न थरीका सुन्दर लालिगुराँससंगै सेता हिमालको अवलोकन गर्न यहाँ पर्यटक लोभिन्छन्। सडकको पहुँचको कारण एकै दिनमा क्रपु डाँडा पुगेर हिउँ खेलेर पोखरा फर्कन सकिने भएकोले यति बेला पोखरेली मात्र होइन छिमेकी जिल्ला, तनहुँ, पर्वत, स्याङ्जा, लमजुङ, काठमाण्डौँ लगायतबाट पनि पर्यटक आउने गरेको मादी गाउँपालिका-२ का वडा अध्यक्ष एकजंग गुरुङले बताए।
केही दिन बसेर हिउँमा रमाउन चाहानेहरुका लागि क्रपुमा बस्नका लागि टेण्ट क्याम्पसहितको होटल र धर्मशाला संचालनमा छन्। क्रपुबाट झेरर अर्गानिक खाना, गुरुङ कला संस्कृति, रहनसहनमा रमाउन चाहानेहरुका लागि ताङतिङ उतिकै सुन्दर गाउँ हो। पछिल्लो समयमा ताङतिङ र अर्को पर्यटकीय गाउँ सिक्लेसमा पर्यटकको आकर्षण बढेको छ। नेपालकै होचो २४५० मिटर उचाइमा रहेको क्हफुचे हिमताल र पोखराको सबैभन्दा नजिक हिउँ खेल्न सकिने क्रपु डाँडाको कारण यस क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको वडा अध्यक्ष गुरुङले बताए।
ताङतिङ गाउँ हुँदै भजिन पदयात्रा मार्ग क्रपुडाँडा, चोरो, क्होलासोंथर, तिउँचे, कोरी डाँडा, क्हफुचे हुँदै सिक्लेस पुग्ने गरी ८ दिनको पदयात्रा मार्ग पनि संचालनमा रहेको छ। यस क्षेत्रको थप प्रचार प्रसार गरी पर्यटकलाई आकर्षण गर्न सकिने स्थानीय पर्यटन व्यवसायी प्रकाश गुरुङले बताए। छोटो समयकालागि आउने पर्यटककालागि ताङतिङ, क्रपु, चोरो सम्म पदयात्रा र सिक्लेस तर्फ सिक्लेस हुगु, क्हफुचे क्षेत्रको पदयात्रा गर्न सकिने सिक्लेस र ताङतिङ क्षेत्रमा ध्वासे चितुवा संरक्षणका क्षेत्रमा काम गरिरहेको प्रकृतिका साथी नामक संस्थाका निर्देशक राजु आचार्यले बताए।
ताङतिङमा १४ घरमा होमस्टे संचालनमा छन्। होमस्टेमा ८५ जना पाहुँना बस्न सक्ने व्यस्था रहेको तङतिङ सामुदायिक होमस्टेकी अध्यक्ष पसमाया गुरुङले बताइन्। २०६४ साल देखि यहाँ होमस्टे सुरु भएपनि २०६८ सालमा होमस्टे दता भएर संचालनमा आएको हो। सुरुका दिनमा २४ घरमा होमस्टे संचालनमा रहेको थियो। संख्या घटेर ९ घरमा मात्र होमस्टे संचालनमा आएकोमा पछिल्लो समयमा यो संख्या बढेर १४ घरमा होमस्टे संचालनमा छ। आन्तरिक पर्यटकको आगमन बढे संगै होमस्टे, होटल संचालन गर्नेको संख्या पछिल्लो समयमा बढ्दो क्रममा रहेको ताङतिङ पर्यटन परिषदका अध्यक्ष भुपाल गुरुङले बताए।
पहिलो लहरको कोरोना संक्रमण कम्जोर भएपछि यस क्षेत्रमा बढेको आन्तरिक पर्यटकको चहलपहल बढेको गुरुङले सुनाए। ताङतिङ गाउँको सिरान क्रुपु डाँडामा पुस महिना देखि हिउँ परेको छ। यहाँ हिउँ खेल्न आउने पर्यटकको चहलपहलले ताङतिङ गाउँमा चलहपहल बढेर गएको हो। शुक्रबार र शनिबार यति बेला हिउँ खेल्न आउने आन्तरिक पर्यटकले गाउँका होमस्टे र होटलहरु भरिभराउ हुने गरेको ताङतिङ पर्यटन परिषदका अध्यक्ष भुपाल गुरुङले बताए।
गाउँ छोडेर पोखरा, काठमाण्डौं लगायत विभिन्न ठाउँमा गएका युवा पनि कोरोना संक्रमण नियन्त्रण गर्न लगाइएको पहिलो लकडाउन पछि गाउँ फकेर होटल व्यवसया गर्न थालेका छन्। गाउँमा पर्यटकको चहलपहल बढ्न थालेपछि फर्केर होटल संचालन गरेको युवा उत्साहित भएको मादी गाउँपालिका २ का वडा अध्यक्ष गुरुङले बताए। ताङतिङ गाउँमा ७ वटा होटल पनि संचालनमा छन्। यहाँका होटलमा ५० पर्यटक बस्न सक्ने क्षमता रहेको बताइएको छ। यसै गरी क्रपु डाँडामा ३ वटा होटल गएको महिनादेखि संचालनमा आएको स्थानीय पर्यटन व्यवसायी हिमाल गुरुङले बताए। पर्यटक आउन क्रम बढेपछि क्रपुडाँडामा होटल संचालनमा आएको उनले सुनाए।
पोखरा नजिककोे क्रपुडाँडामा आएर जीवनमै पहिलो पटक हिउँ खेल्न पाएकोमा निकै खुशी लागेको पोखरा ११ फुलबारीकी सलोनी पुनले बताइन्। अन्नपूर्ण हिमश्रृखलाको अवलोकन गर्दै हिउँ खेल्न पाइने भएकोले पनि यहाँ हिउँ खेल्दा जीवकै रमाइलो क्षणको रुपमा आफुले लिएको उनले सुनाइन्।
सामाजिक संजाल टिकटकमा हिउँ परेको र सुन्दर हिमालको दृश्यसंगै हिउँमा रमाएका भिडिया देखेपछि क्रपु डाँडामा ८ जना साथी मिलेर हिउँ खेल्न आएको लमजुङ जिल्लाको मध्य नेपालका प्रिन्स रानाले बताए। बुधबार र बिहीबार पनि क्रपुडाँडामा हिउँ परेको छ। लगातार परेको हिउँका कारण क्रपुडाँडा क्षेत्रमा ४ फिट बढी हिउँ परेकोले क्रपुदेखि माथि चम्रो जाने कार्यक्रम नै रोक्नु परेको पर्यटन व्यवसायी प्रकाश गुरुङले सुनाए। क्रपु क्षेत्रमा बाक्लो हिउँ परेकोले हिउँ खेल्न जाँदा न्यानो कपडासहित आवश्यक सामाग्री लिएर मात्र जान पनि उनले पर्यटकलाई सुझाए।
प्रतिक्रिया दिनुहोस !