पोखरा म्याराथनको उपाधि केन्याका धावक स्टेफनलाई
पोखरा : १६ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक स्टेफन कोसगेईले जितेका छन्। महिलातर्फको हाफ म्याराथनको उपाधि नेपाल प्रहरीकी राजपुरा प्रसाईंले हात पारिन्।
भूतपूर्व खेलाडी मञ्चको आयोजना भएको म्याराथनमा केन्याली धावक कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा निधारित दुरी पूरा गर्दै चार लाख नगद राशीसहितको पुरस्कार पाएको छन्। पोखरा म्याराथनको उनले किर्तिमान कायम पनि गरे। यसअघि नेपाल आर्मीका धावक आनन्दमान श्रेष्ठले २ घण्टा २५ मिनेट ०५ सेकेण्डमा पूरा गर्दै कीर्तिमान बनाएका थिए।
प्रतिस्पर्धामा दोस्रो पुरस्कार पनि केन्याली धावकले नै जितेका छन्। केन्याली धावक सिमिओन किप्लागातोले २ घण्टा २१ मिनेट ०३ सेकेण्डमा पूरा गर्दै दुईलाख नगदर राशीको पुरस्कार पाए। खुल्ला म्याराथनतर्फको तेस्रो पुरस्कार नेपाली सेनाका धावक मोहनदेव जोशीले जिते। उनले निर्धारित दुरी २ घण्टा ३३ मिनेट ४४ सेकेण्डमा पूरा गरे। यसै गरी सशस्त्र प्रहरी बलका धावक सन्तोगाविक्रम विष्टले २ घण्टा ३४ मिनेट ४८ सेकेण्डमा पुरा गरेर चौथो हुँदा सोलुखुम्बुका सुमन कुलुङले २ घण्टा ३९ मिनेट ४७ सकेण्डमा पूरा गरे।

महिलातर्फको हाफ म्याराथनको उपाधि जितेकी नेपाल प्रहरीकी राजपुरा प्रसाँई ।
महिलातर्फको हाफ म्याराथन १ घण्टा २१ मिनेट २६ मा पूरा गरी प्रसाईंले उपाधि हात पारिन्। त्यस्तै सशस्त्र प्रहरी बलकी ब्रिन्दा श्रेष्ठले १ घण्टा २७ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै दोस्रो भइन्। यसै गरी जुम्लाकी धाविका राममाया बुढाले निर्धारित दुरी १ घण्टा ३० मिनेट ४८ सकेण्डमा पूरा गर्दै तेस्रो भइन्। बेलायतकी हेनाह करसले हाफ म्याराथन १ घण्टा ३२ मिनेट ५८ सेकेण्डमा पूरा गर्दै चौथो भइन्।
पुरुषतर्फको खुल्ला म्याराथन विजेताले नगद ४ लाख दोस्रो हुनेले २ लाख, तेस्रो स्थानमा रहने धावकले १ लाख र चौथो हुने धावकले सान्त्वना स्वरुप ३० हजार प्राप्त गरे। यसै गरी महिलातर्फको हाफ म्याराथन विजेताले नगद १ लाख पाउँदा उपविजेताले ७५ हजार पाइन्। तेस्रो हुनेले ५० हजार र चौथो हुने खेलाडीले सान्त्वना स्वरुप १५ हजार नगद राशी प्राप्त गरेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले पदकसहित नगद प्रदान गरेका थिए।
प्रतिक्रिया दिनुहोस !