मर्दीको फेदीमा स्कीको आकर्षण

मर्दीको फेदीमा स्कीको आकर्षण

पोखरा : जाडो मौसम सुरु भएसँगै नेपालका उच्च हिमाली क्षेत्रका पर्यटकीय गन्तव्य सुनसान हुन्छन्। हिमाली क्षेत्रमा हिउँ पर्न थाल्नु अघि नै गण्डकी प्रदेशका पर्यटकीय केन्द्र मुस्ताङ, मनाङलगायतका क्षेत्रका स्थानीय घरमा कुरुवा राखेर जाडो छल्न न्यानो खोज्दै बेसी झर्छन्। जाडो छल्न र न्यानो खोज्दै स्थानीय पोखरा, काठमाडौंलगायतका सहर पुग्छन्। 

अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर, मर्दी हिमाललगायतका पर्यटकीय केन्द्रका व्यवसायी पनि होटल बन्द गरेर बेसी झर्छन। यसरी हिउँदमा सुनसान रहने पर्यटकीय क्षेत्रलाई चलायमान बनाउन स्की खेल सहयोगी हुने यस क्षेत्रका विज्ञले बताएका छन्। कास्कीको माछापुच्छे« गाउँपालिकास्थित मर्दी हिमालको काखमा हालै स्की खेलको सम्भावना अध्ययन र स्थानीय युवालाई स्की खेलको प्रशिक्षणसमेत दिएर फर्किएका स्कीका अन्तर्राष्ट्रिय प्रशिक्षक कृष्ण थापाले मर्दी हिमालको फेदी स्की खेलका लागि विश्व पर्यटकलाई नै आकर्षक गर्न सक्ने गन्तव्यको रुपमा विकास गर्न सकिने बताए। 

पोखराबाट छिटो हिड्ने एकै दिन र ढिलोमा दुई दिनमा मर्दी हिमालको फेदीमा  पुगेर समुन्द्र सतह देखि ३२ सयदेखि ४२ सय मिटरसम्मको क्षेत्रमा स्की खेल्न सकिने भएकाले यस क्षेत्र स्वदेशी तथा विदेशी खेलप्रेमीका आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने प्रशिक्षक थापाले बताए।

पुसदेखि मर्दी हिमालको फेदीमा हिउँ पर्न थाल्छ। हिउँ जेठ महिनासम्म रहन्छ। हिउँ नपरेको समयमा पनि मर्दी हिमालमा रहेको ग्ल्यासियरमा पनि स्की खेल्न सकिने भएकाले विश्वका खेल प्रेमीका लागि मर्दी हिमालको फेदी आकर्षक पर्यटकीय गन्तब्य बन्ने विज्ञले बताएका छन्। अन्तर्राष्ट्रिय गोल्डेन रुल अनुसार स्की खेलका क्रममा हुन सक्ने दुर्घटनालाई ध्यानमा राखेर हेलीकप्टरबाट एक घण्टाभित्रै सर्जरी गर्न सकिने सुविधा सम्पन्न अस्पताल पुग्न सकिने ठाउँ हुनुपर्ने मान्यता रहेको थापाले सुनाए। मर्दी हिमालबाट पोखराका अस्पतालसम्म हेलीकप्टरमा १२ मिनेटमै आउन सकिन्छ। यो सुविधाका कारणले पनि मर्दी हिमालको फेदीमा अन्तर्राष्ट्रिय प्रतियोगितासमेत आयोजना गर्न उपयुक्त गन्तव्य बन्न सक्ने उनले बताए। पर्यटन विकासका लािग स्की खेल्ने स्थानमै स्वास्थ्य केन्द्र भने हुनुपर्ने भएकाले यो सुविधा पनि व्यवस्था गर्न सकिने उनले सुनाए। 

नेपाली युवालाई प्रशिक्षण दिँदै थापा
नेपालमा स्की खेलको विकासका लागि बेलायती सेनामा २७ वर्षदेखि कार्यरत कृष्ण थापा केही समय जागिरबाट बिदा लिएर नेपाल आइरहन्छन्। बेलायती सेनाका हिमाल विज्ञसमेत रहेका थापाले विश्वकै उच्च नेपालका हिमाली क्षेत्रमा स्की खेलको विकास गरेर पर्यटक भित्र्याउन सकिने विषयमा सरकारलाई सुझाउँदै आएका छन्। 

हिउँदमा बन्द रहने हिमाली क्षेत्रको पर्यटन चलायमान बनाउन स्की खेल सहयोगी

नेपालमा स्की पर्यटनको विकास गर्न सकिने विषयमा थापाले नेपाल सरकारलाई विस्तृत रिपोर्ट तयार पारेर दिए पनि सरकारी स्तरबाट यस विषयमा चासो नदिएको उनी सुनाउँछन्। सन् २००६ मा पहिलो पटक क्यानडामा स्नो स्पोर्ट्सका बारेमा अध्ययन गरेर स्की खेल सिकेका थापा यही विषयमा विज्ञता हासिल गरेर युरोपमा स्कीको प्रशिक्षण दिँदै आएका छन्।  

युरोप, अमेरिकालगायत विभिन्न देशमा स्कीका प्रशिक्षकका रुपमा काम गर्दै आएका तनहुँ वसन्तपुरका ४२ वर्षीय थापा नेपालको हिमाली क्षेत्र स्की खेलका लागि विश्वका पर्यटकको आकर्षणको केन्द्र बन्न सक्ने भएकाले स्थानीय युवा र उच्च हिमाली क्षेत्रमा पथ प्रदर्शकका रुपमा काम गर्ने टुरिष्ट गाइडलाई निशुल्क प्रशिक्षण दिँदै आएको बताउँछन्  

नेपालमै स्की खेल्न सक्ने युवा तयार पारेपछि नेपाली युवाहरू स्की खेलतर्फ आकर्षित हुने र नेपालका उच्च हिमाली क्षेत्रमा स्की खेलको विकास भएपछि विदेशी पर्यटक पनि नेपालका उच्च हिमाली क्षेत्रमा स्की खेल्न आउने भएकाले नेपाली युवालाई प्रशिक्षण दिँदै आएको उनले बताए। सस्टेनेवल हिमालयन फाउन्डेसनमार्फत यसै साता थापाले कास्कीको मर्दी हिमालको ३२ सय मिटर उचाइमा १३ जनालाई प्रशिक्षण दिएका थिए। दुई वर्ष अघि मुस्ताङमा स्की खेलेकी नेपालीले यसपटक मर्दी हिमालको काखमा बाक्लो हिउँमा स्की सिक्दा निकै रमाइलो अनुभव गरेको सुनाइन्। माछापच्छे«, मर्दी हिमाल हेर्दै ३२ सय मिटर उचाइमा स्कीको प्रशिक्षण लिँदा झनै उत्साहित भएको सस्टेनेवल हिमालयन फाउन्डेसनकी सदस्य शान्ता नेपालीले बताइन्। स्की खेलको माध्यमबाट हिउँदका पुस, माघ, फागुनमा पनि पर्यटक भित्र्याउन सकिने हिमालयन स्की ट्रेकका अप्रेसन म्यानेजर प्रभात अधिकारीले बताए। 

मर्दीमा स्की खेलको सम्भावना भएकाले सस्टेनेवल हिमालयन फाउन्डेसनको सहयोगमा स्कीको दुई दिने प्रशिक्षण दिइएको नेपाल पर्वातारोहण संघ गण्डकीका सचिव सुदीप गौतमले जानकारी दिए। नेपालीहरू स्की खेल्न स्विट्जरल्यान्ड जाने गरेकाले पनि विदेश जाने नेपाली र विदेशी पर्यटकलाई समेत आकर्षण गर्न स्थानीय र पथप्रदर्शकलाई स्कीको तालिम दिएको गौतमले बताए। 

हिउँदका दुई महिना स्की खेलबाट पर्यटन विकास गर्न सकिने र असारदेखि भदौसम्म उच्च हिमाली क्षेत्रमा फुल्ने विभिन्न प्रजातिका फूल अवलोकनका प्याकेज कार्यक्रम गरेर पनि पर्यटक आकर्षण गर्न सकिने उनले बताए। पहिलो चरणमा स्की खेलका गतिविधि सञ्चालन गर्न कार्यक्रम अयोजना गरिएको मर्दी हिमाल क्षेत्रको पर्यटन विकासमा क्रियाशील पर्यटन व्यवसायी गौतमले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.