ओलीको च्याम्बरमा कांग्रेस-एमाले वार्ता : देउवासँगै गगन र ज्ञानेन्द्र पनि सहभागी
काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको कार्यकक्षमा नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।
संसद बैठक स्थगित गराएर प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद भवनस्थित ओलीको च्याम्बरमा छिरेका थिए । जहाँ प्रतिपक्षी दलका नेता ओली र उपनेता सुवास नेम्वाङ सहभागी थिए ।
लगत्तै कांग्रेस महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की पनि छिरे । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि आए । एमालेका तीन र कांग्रेसका तीन गरी ६ नेताबीच अहिले वार्ता भइरहेको छ ।
एमसीसीमा सत्ता गठबन्धनका दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादीले साथ नदिएपछि प्रधानमन्त्री देउवा प्रतिपक्षीको साथ खोज्दै ओलीसँग वार्ता गर्न पुगेका हुन् ।
एमालेले गठबन्धन तोड्नुपर्ने र सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनुपर्ने शर्त राख्दै आएको छ । एमालेलाई सहमतिमा ल्याएर फागुन १६ को समयसीमाभित्रै एमसीसी पारित गराउने पहलकदमी स्वरुप अहिले वार्ता चलिरहेको नेताहरुले बताएका छन् ।
एमालेले उधारो होइन नगदमा सहमति गर्न चाहेको एमाले सचिव योगेश भट्टराईले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !