बालीको बिमा नगर्दा राहतबाट बञ्चित
पोखरा : सरकारले दिएको कृषि बिमा उपयोग नगर्दा किसान राहतबाट बञ्चित हुने गरेका छन्। अधिकांश किसानलाई कृषि बालीको बिमा गर्नुपर्छ भन्ने ज्ञान छैन। त्यसैले असिना, हावाहुरी जस्ता प्रकोपका कारण क्षति ब्यहोर्न बाध्य छन्।
पोखरामा अघिल्लो आइतबार परेको असिनाले कृषि क्षेत्रमा ठूलो नोक्सानी पुग्यो। महानगरपालिकाको ११, १३ र १८ नम्बर वडामा सबैभन्दा धेरै क्षति पुगेको छ। बाक्लो असिनाले गोठ भत्कदा पोखरा–११ स्थित फलमान गुरुङको एउटा लैनो भैंसी र पाडो मरे। बालीनाली सखाप भयो। तर, बालीनालीको बिमा नगरेको महानगर कृषि महाशाखाले जनाएको छ। ठूलो असिनाबाट काउली, बन्दा, ब्रोकाउलीलगायत तरकारीबाली, तोरी, गहुँ, जौसहितका अन्नबालीमा नोक्सान पुर्याएको कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए। असिनाले १० देखि ११ करोडभन्दा बढीको नोक्सान पुगेको तथ्यांक महानगरले निकालेको छ।
बिमा गर्दा हावाहुरी, असिना पानीले कृषि तथा पशु धानमा क्षति पुग्दा किसानले राहात स्वरूप बिमा रकम पाउने गर्छन्। बिमा नगर्दा यो सुविधाबाट बञ्चित हुने गरेका छन्। त्यसैले पोखरामा गत आइतबार परेको असिना पानीले नोक्सान पुर्याउँदा किसानले पछुताउनु परेको छ। संघ र प्रदेश सरकारले कृषिलगायत क्षेत्रमा दिएको बिमाको सहुलियत सदुपयोग गर्न नसक्दा किसान मारमा परेका छन्। टाठाबाठा केही किसानले बिमाको सुबिधा लिएका छन्। अधिकांश किसान भने बिमाप्रति नै अनविज्ञ छन्। महानगरले पनि कृषि बिमाबारे जनचेतना फैलाएको छैन।
कृषि तथा पशु बिमाका लागि केन्द्र सरकारले ८० प्रतिशत र प्रदेश सरकराले २० प्रतिशत शुल्क ब्यहोर्ने गर्छ। निःशुल्का बिमा हुँदा पनि किसानले फाइदा लिन नसकेको कडरियाले बताए। किसानलाई बिमा गर्न सुझाए पनि निकै थोरै किसानले मात्र बिमा गरेको कृषि तथा पशु विकास महाशाखाको तथ्यांक छ। प्राकृतिक विपद्मा हुने नोक्सानीलाई ध्यानमा राखेर कृषि तथा पशु बिमाबाट लाभ लिन किसानलाई उनले सुझाए।
पशु बिमाबाट किसानले सहज रूपमा बिमा रकम लिन सके पनि अन्नबाली नोक्सान हुँदा भने विमा रकम लिन सकस हुने गरेको किसानले बताएका छन्। झन्झटीलो हुँदा पनि कृषि तथा तरकारी विमामा किसान आकर्षित नभएको किसानले बताएका छन्। गोर्खाली मनकामना फूल नर्सरीका सञ्चालक केहरमान गुरुङले आफूलाई बिमाका बारेमा थाहा नभएको बताए। ‘यतिन्जेल बिमाका फाइदा बारेमा थाहा थिएन। क्षति ब्यहोरेपछि बल्ल थाहा पाएँ,’ उनले भने, ‘अब फूल नर्सरीको बिमा गर्छु।’
पोखरा–५ मालेपाटनस्थित धारापानी कृषक समूहका सदस्य मोतीराम भट्टराईले डेढ रोपनी क्षेत्रमा लगाएको बन्दा, काउली, प्याजमा नोक्सान पुर्याएको बताए। वडा नं ५, ६, ७, १४, २१ मा पनि असिनाले क्षति पुर्याएको छ। २० लाख बढीको बालीनाली क्षति भएको ११ नम्बर वडाका किसान फलमान गुरुङले बताए। यसैगरी असिनाले फूल नर्सरीमा पनि ठूलो क्षति पुगेको छ। फूल नर्सरीको टनेल नै भत्काएको छ। टनेल बाहिरका फूललाई समेत नोक्सान पुर्याएको गोर्खाली मनकामना फूल नर्सरीका सञ्चालक केहरमान गुरुङले बताए। पोखरा महानगरभर २ हजार १ सय ८१ हेक्टरमा तरकारी खेति हुने गरेको कृषि महाशाखाको तथ्यांक छ। ३ सय २० हेक्टरमा फलफूल र १ हजार २ सय ५३ हेक्टरमा आलु उत्पादन हुन्छ। ८ सय ४ हेक्टरमा हिउँदे बाली लगाउने गरिन्छ।
प्रतिक्रिया दिनुहोस !