गोरखा टुक्राउने सर्वदलीय बैठकको निर्णय

गोरखा टुक्राउने सर्वदलीय बैठकको निर्णय

गोरखा : उत्तरी गोरखामा क्रियाशील राजनीतिक दलले गोरखाको उत्तरी दुई गाउँपालिकालाई छुट्टै जिल्ला बनाउन पहल गर्ने औपचारिक निर्णय गरेका छन् । धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकामा क्रियाशील नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माछाखोलामा सम्पन्न संयुक्त बैठकले यी दुई गाउँपालिकालाई समेटेर अलग्गै जिल्ला बनाउन पहल गर्न समन्वय समितिसमेत गठन गरेका छन् । 

भौगोलिक रुपमा बिकट रहेको उत्तरी क्षेत्रको समानुपातिक विकास हुन नसकेको भन्दै उत्तरी गोरखाका बासिन्दाले छुट्टै जिल्लाको माग गरिरहेका बेला सम्पन्न सर्वदलीय बैठकले अलग्गै जिल्लाका लागि चरणवद्ध अभियान सञ्चालन गर्ने निर्णय गरेको अभियन्ता गणेश कार्कीले जानकारी दिए ।

‘धार्चे र चुमनुब्री गाउँपालिकामा एउटा पनि स्वीकृत माध्यमिक तहको विद्यालय छैन, अस्पताल छैन,'कार्कीले भने, 'दुर्गममा रहेकाले सरकारको नजर पर्दैन । कर्मचारीहरु सदरमुकाम छाड्दैनन् । गाउँपालिकामा जाँदैनन् । के पञ्चायतकाल, के प्रजातन्त्र, के गणतन्त्र यहाँका जनताले सरकारको प्रत्याभूति पाएकै छैनन् । त्यसैले जिल्ला नै छुट्टै भयो भने त कम्तिमा कर्मचारी त बस्छन् । प्रतिनिधिसभा, प्रदेशसभामा प्रतिनिधित्व गर्ने स्थानीय जनप्रतिनिधि भयो भने यहाँको समस्याको सम्बोधन हुन्छ कि भन्ने आशाले छुट्टै जिल्ला माग गरिएको हो ।' 

छुट्टै जिल्ला दावी गर्नका लागि तर्कसंगत आधार र कारणहरु पर्याप्त रहेको उनको भनाइ छ । 'गोरखा जिल्लाको क्षेत्रफल ३,६१० बर्गकिलोमिटरमध्य चुमनुब्री र धार्चेको मात्रै २,२०० वर्गकिलोमिटर अर्थात् ६० प्रतिशत क्षेत्रफल छ, 'उनले भने, 'जनसंख्या हिसाब गर्ने हो भने मनाङ जिल्लाको ६,५०० छ । हाम्रो दुई गाउँपालिकाको जनसंख्या २१,३५२ छ । त्यसैले धार्चे र चुमनुब्रीको विकासका लागि छुट्टै जिल्ला बनाउनु जरुरी छ ।’ 

जबसम्म यहाँका जनप्रतिनिधि सदन र सत्तासम्म पुग्दैनन् तबसम्म विकास हुदैन भन्ने आफूहरुको निश्कर्ष रहेकाले अलग्गै जिल्लाका लागि पहल गर्ने निर्णय भएको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ बताउँछन् । ‘यहाँको विकास र संवृद्धि चाहिने हो भने छुट्टै जिल्ला आवश्यक छ भन्ने सर्वदलीय बैठकले निश्कर्ष निकाल्यो । सबैले यो मुद्धा सही छ र हुनुपर्छ भनेर निचोड निकाले, 'उनले भने, 'त्यसैले छुट्टै जिल्लाका लागि चरणवद्ध पहल गर्न जसपा धार्चेका संयोजक विशु गुरुङका अध्यक्ष र नेपाली कांग्रेस चुमनुब्री गाउँ समितिका सभापति सूर्य गुरुङ सहसंयोजक रहेको १५ सदस्यीय सर्वदलीय समिति गठन गरिएको छ ।'

सो समितिमा चुमनुब्री गाउँपालिकाका माओवादी केन्द्रका सचिव बलबहादुर गुरुङ, जसपा संयोजक गणेश कार्की, नेकपा एमालेका संयोजक चन्द्र गुरुङ, धार्चे गाउँपालिकाका कांग्रेस सभापति सन्तोष गुरुङ, माओवादीका अध्यक्ष सूर्य गुरुङ (विस्फोट), एमालेका सचिव राम गुरुङ,  रहेका छन् । त्यस्तै चुमनुब्री गाउँपालिकाकी उपप्रमुखहरु कुमारी गुरुङ र धार्चे गाउँपालिकाकी उपप्रमुख फूलमाया गुरुङ, दलित समुदायबाट मिनबहादुर सुनार, यस क्षेत्रका इतिहासका जानकार टेकबहादुर गुरुङ, समाजसेवी सुनार गुरुङ, उत्तरी गोरखा तमु समाजका अध्यक्ष इमानसिँह गुरुङ रहेका छन् ।

दुर्गम क्षेत्र समेटिएको उत्तरी गोरखाको समानुपातिक विकासका लागि छुट्टै जिल्ला बनाउनु पर्ने बारे २०३३ सालदेखि आवाज उठेको थियो । तत्कालीन जनप्रतिनिधिले सदनमा यहाँको आवाज नपु¥याएकाले धोका पाइएको अभियन्ता गणेश कार्कीले बताए । 

चुमनुब्रीको साम्दो, सामागाउँ, छेकम्पार लगायतका गाउँबाट सरकारी सेवा लिनका लागि हालको सदरमुकाम पुग्न सातदिनसम्म पैदल हिड्नु पर्ने बाध्यात्मक अबस्था भएकाले सरकारको सहज सेवाको पहुँच पुर्‍याउन अलग्गै जिल्ला बनाउनु जरुरी रहेको अभियन्ता सुनार गुरुङले बताए ।

पछिल्लो समय पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले उत्तरी गोरखालाई अलग्गै जिल्ला बनाउनु पर्छ भनेर आवाज उठाएपछि यो अभियानले गति लिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.