गोरखाका भोटेलामा समुदायले मनायो ग्याल्बो ल्होसार
गोरखाः २१४९औँ ग्याल्बो ल्होसारको पहिलो दिन बिहीबार गोरखाका भोटेलामा समुदायले हर्षोल्लासका साथ मनाएका छन्। गोरुवर्ग समाप्त भई बाघ बर्गको सुरु भएको पहिलो दिनको उपलक्ष्यमा एक आपसमा खुसीयाली साँटासाँट गरेर मनाइएको गोरखा छेकम्पारका निमा लामाले जानकारी दिए।
‘ल्होसार पन्द्र दिनसम्म मनाइन्छ। आज पहिलो दिन बुबाआमा, धार्मिक गुरु र ठूलाबडाबाट आशिर्वाद थापेर मनाइन्छ,’ उनले भने। मान्यजनलाई खाता चढाएर उनीहरुबाट आशिर्वाद थाप्ने परम्परा रहेको उनले बताए। त्यस्तै पुरानो वर्षको विदाइ र नयाँ वर्ष शुभ रहोस् भनेर भगवानसँग प्रार्थना गरेर मनाइएको सामागाउँका मिङ्मार लामाले बताए ।

त्यस्तै दोस्रो दिन छिमेकी, आफन्तजनसित भेटघाट गर्ने, खुसीयालाी साँट्ने, मिठोचोखो खाने गरेर मनाइन्छ। यसरी नै पन्द्रदिनसम्म साँस्कृतिक कार्यक्रम तथा विभिन्न कार्यक्रमहरु गरी ग्याल्बो ल्होसार मनाइने उनले बताए।

ग्याल्बो ल्होसार गोरखाको चुमनुब्री गाउँपालिकाको सामागाउँ, साम्दो, ल्हो, स्याला, स्यो, हिनाङ, ल्ही, नाम्रुङ, प्रोक, क्वाक, छाक, बुर, बिही, क्य्राक, लोक्पा, चुम्लिङ, सिप्चेत, चुम्चेत, छेकम्पार, जोङ, लामागाउँ, बुर्जी, लार, फुर्पे, पाङ्दुन, छुले, निले लगायतका गाउँमा धुमधामले मनाइन्छ।


प्रतिक्रिया दिनुहोस !