दाङमा हात्तीपाइलेको जोखिम
दाङ : दाङमा हात्तीपाइले रोगको जोखिम कायमै रहेको छ। रोग न्यूनीकरणका लागि नेपाल सरकारले सुरू गरेको औषधि खुवाउने अभियान १२औं चरणसम्म पुग्दा पनि उच्च जोखिम कायमै रहेको देखिएको छ।
उच्च जोखिम कायमै भएका कारण फागुन २८ देखि जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदैछ। यस चरणमा नयाँ एक औषधि थपेर खुवाउने कार्यक्रम रहेको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए।
देशका विभिन्न जिल्लामा यो अभियान सफल भइसकेको छ। तर, दाङमा भने अझै पनि ६.२२ प्रतिशतमा हात्तीपाइले रोगको संक्रमण देखिएको छ। जिल्लामा २०६६ सालदेखि नियमित रुपमा हात्तीपाइले रोग निवारणका लागि अभियान संचालन हुँदै आएको छ। ६ वर्षमा पुरा हुनुपर्ने लक्ष्य जिल्लामा हासिल नभएपछि अहिलेसम्म यो अभियानले निरन्तरता पाएको हो। जिल्लाका पाँच वटा पालिकाका विभिन्न समुदायमा गरिएको परीक्षणले हात्तीपाइले रोगको संक्रमण देखाएकाले १२औं चरणसम्ममा पनि औषधि खुवाउनु परिरहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। कार्यवाहक नगरप्रमुख माया शर्माले समुदायस्तरमा कार्यक्रमहरू प्रभावकारी रुपमा सञ्चालन हुन सके रोग कम हुने बताइन्। हात्तीपाइले रोगविरुद्धको औषधि सेवनलाई अनिवार्य गराउन सकेमात्र संक्रमणदर कम गर्न सकिने उनको भनाइ छ।
कहाँ–कहाँ छ संक्रमण ?
राष्ट्रिय हात्तीपाइले कार्यक्रम प्रिभेलेन्स सर्भेको प्रारम्भिक तथ्यांक अनुसार गढवा गाउँपालिका हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ। प्रिटासको तथ्यांकअनुसार जिल्लाका विभिन्न पालिकाका ५ सय ४२ जनामा गरिएको नमुना परीक्षणमा ६.२२ प्रतिशत अर्थात एक सय ५८ जनामा यो रोगको संक्रमण देखिएको छ। जसमध्ये सबैभन्दा धेरै संक्रमण गढवा गाउँपालिकामा देखिएको छ।
तुलसीपुर उपमहानगरपालिकाको हाडिमेमा गरिएको सर्वेक्षणमा २.६ प्रतिशत, टरिगाउँमा २.४८ प्रतिशतमा यो रोगको संक्रमण देखिएको हो। यस्तै लमहीका ५.२९ प्रतिशतमा पनि हात्तीपाइले रोगको संक्रमण देखिएको छ।
राप्ती गाउँपालिकाको सिसहनीयामा गरिएको सर्वेक्षणमा ९.१ प्रतिशत, घोराही उपमहानगरपालिकाको नारायणपुरमा गरिएको सर्वेक्षणमा ३.६ प्रतिशत, वाहुनडाँडामा १.६२ प्रतिशत र रामपुरमा ५.७९ प्रतिशतमा हात्तीपाइले रोगको संक्रमण देखिएको तथ्यांक छ।
जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि निरन्तर ११ वर्षदेखि खुवाउने अभियान संचालन भएपनि सबै मानिसहरूले औषधि सेवन नगर्दा संक्रमणदर कम हुन नसकेको तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !