भेरी–बबई सुस्त
सुर्खेत : राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति न्यून देखिएको छ। भेरी नदीको पानी बबई नदीमा खसालेर सिँचाइ र विद्युत् उत्पादन गर्ने यस आयोजनाको उद्देश्य छ। पहिलो चरणमा उत्साहजनक काम गरेको यस आयोजनामा दोस्रो चरणको काम भने सुस्त बनेको हो।
यो आयोजना सुरु भएको १० वर्ष भयो। आर्थिक वर्ष २०६८/६९ बाट प्रक्रिया अघि बढे पनि निर्माण आव २०७१÷७२ बाट थालिएको थियो। हालसम्म आयोजनाअन्तर्गत आधा काम मात्रै सकिएको छ। आयोजना सम्पन्न गर्न तोकिएको समय सीमा सकिन अब डेढ वर्ष मात्रै बाँकी छ। तर, आयोजनाको कुल प्रगति आधा मात्रै सकिएको हो। हालसम्मको भौतिकतर्फ ५३ प्रतिशत र वित्तीयतर्फ ४५ प्रतिशत मात्रै काम भएको आयोजनाले जनाएको छ।
यो आयोजना २०७९÷८० भित्र निर्माण सम्पन्न गरी सक्नुपर्ने छ। आयोजनाले पहिलो चरणमा महत्वपूर्ण मानिएको सुरुङ निर्माण गरिसकेको छ। नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिनबाट १२ दशमलव २ किलोमिटर सुरुङ खनिएको छ। यही सुरुङबाट भेरीको पानी बबईमा खसालिनेछ। कठिन र चुनौतीपूर्ण मानिएको सुरुङ निर्माण तोकिएको अवधिभन्दा अगाडि सम्पन्न भए पनि दोस्रो चरणको काम सुस्त बनेको हो।
दोस्रो चरणमा पावरहाउस (बाँध र विद्युत् गृह) निर्माणको काम भइरहेको छ। बाँध र पावरहाउस निर्माणको जिम्मा चीनको ग्वाङ्डोन–युनाटियन र नेपालको रमण कन्स्ट्रक्सन जेभीले लिएका छन्। ग्वाङ्डोन÷रमणले ६ अर्ब १६ करोड ५२ लाख १५ हजार ७७५ रुपैयाँको ठेक्का लिएका हुन्। अहिले नदीमा ११४ मिटर लामो र १४ मिटर अग्लो पुलसहितको ६ वटा ढोका राखेर बाँध निर्माणको काम भइरहेको छ। सम्झौताअनुसार ठेकेदार कम्पनीले अबको डेढ वर्षभित्र विद्युत् गृहको निर्माण सक्नुपर्नेछ। दोस्रो चरणका कामहरू नै सुस्त बनेपछि आयोजनाको तेस्रो चरणका काम पनि प्रभावित बनेका छन्।
- हालसम्मको भौतिकतर्फ ५३ र वित्ताीयतर्फ ४५ प्रतिशत मात्रै काम सम्पन्न
- आव २०७९/८० भित्र निर्माण सम्पन्न गरी सक्नुपर्नेछ
तेस्रो चरणमा हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल कामहरू पर्छन्। हाइड्रो मेकानिकलका काम सुरु भए पनि इलेक्ट्रोमेकानिकलको काम सुरु नै भएको छैन। २ अर्ब १३ करोड ७४ लाख ९३ हजार ९१६ रुपैयाँमा हाइड्रोमेकानिकलको जिम्मा चीनको ज्हेजियाङ ओरिएन्ट इन्जिनियरिङ कम्पनीले लिएको छ।
तेस्रो चरणअन्तर्गतकै इलेक्ट्रोमेकानिकलको प्रक्रिया पनि सुरु भएको आयोजनाले जनाएको छ। यो आयोजनाबाट बाँके र बर्दियाको ५१ हजार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुनेछ। यस्तै, ४६ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ। मुख्य रूपमा सिँचाइका लागि बनाइएको यस आयोजनाबाट वार्षिक करिब ४ अर्ब ३ करोड बराबरको बिजुली उत्पादन हुने अनुमान गरिएको छ। निर्माणमा ढिलाइ भए वार्षिक ७ करोडभन्दा बढी क्षति हुनेछ। तर, आयोजनाले पछिल्लो समय गति लिन नसक्दा तोकिएको समयभित्र निर्माण सम्पन्न नहुने आशंका बढेको छ। आयोजनाले प्रभावित क्षेत्रका नागरिकलाई क्षतिपूर्ति वितरण गर्न पनि सकेको छैन।
आयोजना सञ्चालन हुँदा सुर्खेतको भेरीगंगा, गुर्भाकोट र लेकबेंसीको ३२ हेक्टरभन्दा बढी जग्गा डुबानमा पर्छ। आयोजनाले सञ्चालनअघि नै प्रभावित सबैलाई मुआब्जा र क्षतिपूर्ति दिनुपर्दछ। तर, अहिलेसम्म झण्डै २३ हेक्टर क्षेत्रफलको क्षतिपूर्ति दिन सकेको छैन। ‘दुई महिनाअघि नै निर्णय भए पनि ऐलानी जग्गा भएका प्रभावितलाई मुआब्जा वितरण गर्न सकिएको छैन,’ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले भने, ‘प्रभावितसँग समन्वय भइरहेको छ। अब छिट्टै वितरण हुन्छ।’ साथै उनले कोरोना महामारी र निर्माण सामग्रीको अभावका कारण दोस्रो चरणको प्रगति अपेक्षाकृत हुन नसकेको बताए। अब भने कामले गति लिने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !