ल्याण्डफिल्ड साइटका स्थानीयले आन्दोलन गर्दा पोखरामा उठेन फोहोर
कास्की: पोखरा महानगरपालिकामा ४ दिन देखि फोहोर नउठ्दा पोखराका सडकमै फोहोर थुप्रन थालेको छ। ल्याण्डफिल्ड नजिकका स्थानीयको माग महानगरपालिकाले पुरा नगरेको भन्दै फोहोर ल्याण्डफिल्ड साइट सम्म पुर्याउने गाडी स्थानीयले रोक लगाएपछि फोहोर सडकमै थुप्रन थालेको हो।
पोखरा-१४ मा दाहासंस्कारका लागि आवश्यक घाट निर्माण, सडक, ल्याबसहितको सहरी स्वास्थ्य चौकी बनाउन, पोखरा १४ र पोखरा २१ निर्मल पोखरी जोड्ने सेतीमा पुल बनाउने लगायतका माग राखेको तर त्यो पूरा नभएकाले आन्दोलनमा जानु परेको जनसरोकार समिति पोखा १४ का अध्यक्ष बोधराज कार्कीले बताए।
महानगरपालिकामा पटक पटक स्थानीयका माग पूरा गर्न अनुरोध गर्दा पनि सुनुवाई नभएपछि आन्दोलनमा जानुपरेको अध्यक्ष कार्कीले सुनाए। अब प्रतिबद्धता होइन एक्सनमा काम नगरेसम्म स्थानीय नमान्ने पक्षमा रहेको पनि उनले बताए। २०५७ सालमा बनाउन सुरु भएर २०६१ सालबाट पोखरा १४ बाच्छीबुडुवामा ल्याण्डफिल्डल साइट सञ्चालनमा आएको र त्यती बेलादेखिका सम्झौता सबै पूरा नभएको उनले बताए। २४ घण्टा अल्टिमेटम दिएर ४ दिनदेखि फोहोर फाल्न रोकेको उनले सुनाए। वार्ता भइरहेको र भोलिसम्म महानगरपालिकाले स्थानीयको माग पूरा गर्ने विश्वास पनि उनले लिए।
पोखरा महानगरपालिका प्रवक्ता धनबहादुर नेपालीले स्थानीयका सबै मागप्रति महानगरपालिका पूरा गर्न प्रतिबद्ध भएको सुनाए। स्थानीयसँग छलफल भइरहेको र मागप्रति महानगर समर्थन गर्दै पूरा गर्न प्रतिबद्ध रहेको नेपालीले सुनाए। छिट्टै नै स्थानीयका माग सम्बोधन हुने भएकाले अवरोध हट्ने विश्वास उनले गरे।
फोहोर नउठेपछि पोखराका मुख्य सडक सिर्जना चोक, न्युरोड, महेन्द्रपुल क्षेत्रमा फोहोर थुप्रन थालेको छ। गर्मी बढेसँगै भिडभाड हुने बजार क्षेत्रमा फोहोर थुप्रदा स्वास्थ्य समस्या बढ्नेप्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस !