उल्लासमय होली

उल्लासमय होली

पहाडमा रङ दल्ने होइन, चीर बालेर खरानीको टीका लगाउने र धुलो उडाउने प्रचलन थियो। त्यहाँ घर फागु र वन फागु मनाउने चलन थियो।


मिथिलामा होली हुर्दङ

समता र समानताको पर्व होली मिथिलामा शनिबार मनाइँदै छ। संघीय राजधानी काठमाडौंलगायत देशका अधिकांश भागमा होली बिहीबार र शुक्रबार मनाइयो। जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा भने होली शनिबार मनाइयो।

मिथिलामा होलीको हुर्दङ फागुन महिनाको प्रारम्भसँगै हुन्छ। ऋतुरात वसन्तको आगमनसँगै यस क्षेत्रमा मिथिलानीहरू फगुवा गाउन थाल्छन्। वसन्त पञ्चमी सुरु भएपछि हुने कुनै पनि उत्सव, त्योहार, विवाह वा अन्य समारोह आदिमा फगुवाको रौनकता पाइन्छ। भगवान्का गीतहरूमा पनि फागुलाई प्राथमिकतामा राखेर गाइन्छ। रंग र अबिर खेल्ने दिन भने फागु पूर्णिमाको भोलिपल्ट हुन्छ। यो अन्य भेगभन्दा अलि पृथक् छ। यसको तादात्म्यता मिथिला माध्यमिकी परिक्रमासँग जोडिएको छ।

१५ दिवसीय परिक्रमाको १४ दिनको यात्रा सकेर हजारौं यात्री जब अन्त्यमा जनकपुर आइपुग्छन्। तब यहाँ परिक्रमावासीको खुट्टाले उडेको ‘धुरा’ (धूलो) उडाएर यहाँ होली खेल्ने मान्यता छ। जनकपुरमा फागुन शुक्ल चतुर्दशीको मध्यरातमा ‘सम्मद’ जलाइन्छ। राक्षसी र तामसी प्रवृत्तिविरुद्ध सात्विक प्रवृत्तिको जित भएको प्रतीकका रूपमा ‘सम्मद’ जलाउने परम्परा छ।

श्रीमद् भागवत महापुराणमा वर्णन भएअनुसार सत्ययुगमा दैत्यराज हिरण्यकशिपुले विष्णुभक्त आफ्ना छोरा प्रह्लादलाई मार्न विभिन्न जालझेल र षड्यन्त्र गरे। उनले प्रह्लादलाई हात्तीको खुट्टा तल कुल्चिन लगाए। अनेक प्रयास गरे पनि उनी मरेनन्। अन्त्यमा,  हिरण्यकशिपुले आगोमा नपोल्ने अभय वस्त्र वरदान पाएकी बहिनी होलिकालाई छोरा प्रह्लादलाई मार्ने जिम्मेवारी दिए। होलिकाले अभय वस्त्र लगाएर आफ्नो काखमा प्रह्लादलाई राखे। उनी अग्निकुण्डमा प्रवेश गरिन्। तर, भक्त प्रह्लादको असीम भक्तिले होलिकाको दुष्ट मनसायलाई पूरा हुन दिएन। अग्निले लपेट्दै जाँदा निकै वेगमा वायु बग्न थाल्यो। होलिकाको शरीरबाट अभय वस्त्र उछिट्टिएर प्रह्लादको शरीरमा बेरियो र होलिका आगोमा भष्म भइन्।

असुरी प्रवृत्तिमाथि भक्तिको जित भएको खुसीयालीमा प्रत्येक वर्ष फागु पूर्णिमाको राति होलिका दहन गर्ने परम्परा छ। सोहीअनुरूप जनकपुरमा पनि होलिका दहन गर्ने गरिन्छ। होलिका दहन र अन्तरगृह परिक्रमा सम्पन्न भएर परिक्रमा यात्रीहरू गाउँघर फर्किन्छन्। पूर्णिमाका दिन सबै घर फर्किएपछि भोलिपल्ट होली मनाउने प्रचलन छ।

‘मिथिलामा फगुवालाई हर्षोल्लासको रूपमा मनाइन्छ। यस भेगमा होली पर्वलाई रामजानकीसँग जोडेर मनाउने गरिन्छ। त्यसैले यसको महŒव अझ बढ्ने गरेको छ’, साहित्यकार अशोक दत्त भन्छन्, ‘धर्मसँग प्रत्यक्ष जोडिएकाले अन्य स्थानभन्दा पृथक् होली जनकपुर क्षेत्रमा मनाइन्छ।’ यहाँको मान्यता छ कि रामसीताको विवाहपश्चात् यस भूभागमा रंग अबिर खेलेर खुसी, स्नेह र सद्भावको होली मनाइएको थियो। सोही कारण मिथिलामा होली विशेष हुने उनको बुझाइ छ।

अर्को व्यावहारिक पक्ष के हो भने १५ दिनसम्म सयौं गाउँबाट मध्यमा परिक्रमामा सहभागी भएका श्रद्धालु पूर्णिमाका दिन जनकपुर आएर विश्राम गर्छन्। होली घरपरिवारसँग सद्भाव बाँड्ने पर्व पनि हो। त्यसैले सबै घर फर्केपछि पूर्णिमाको भोलिपल्ट हर्षोल्लासका साथ जनकपुरमा होली मनाउने गरिन्छ।

‘माता सीता जुन धर्तीबाट प्रकट भएकी छन्। त्यो धर्ती नै श्रेष्ठ मानिएको छ। मुख्य कुरो यो हो’, साहित्यकार धीरेन्द्र पे्रमर्षि भन्छन्, ‘त्योभन्दा पनि बढी भन्ने हो भने मिथिलाञ्चलमा माता सीतालाई बहिनीको रूपमा मानिन्छ। होली माटोसँग जोडिएको पर्व हो।’ समाजका सबैभन्दा तल्लो वर्गका व्यक्तिहरू पनि होलीमा जम्छन्। मनले रङ, अबिर र माटो खेल्छन्। जति पनि विभेद छ यस पर्वमा समाप्त हुन्छन् भन्ने जनविश्वास छ। ‘सोही कारण माटोसँग गहिरो सम्बन्ध रहेको हुँदा यो पर्व मिथिलामा विशेष हुन जान्छ’, प्रेमर्षि थप्छन्, ‘संसारका विद्वान्हरूले मिलेर बनाउने पञ्चांगलाई पनि जनकपुरमा परिवर्तन गरेर मिथिला मध्यमा परिक्रमालाई आधार बनाई होली मनाउने परम्परा रहिआएको छ।’

परम्पराअनुसार एक रातमा एक घरमा मात्रै होली खेल्ने गरिन्छ। जुन घरमा होली खेल्यो, त्यही घरमा खाना खाने र रातभर होली खेल्ने प्रचलन छ।

‘मिथिला मात्रै मैथिली भाषी क्षेत्र नभई नारायणी नदीभन्दा पूर्वको समस्त तराई भू–भागलाई मिथिला मानिन्छ। यसको ऐतिहासिक साक्षी पनि छ।’ विष्णु पुराणमा मिथिलाञ्चल क्षेत्रको वर्णन यसरी स्पष्ट उल्लेख गरिएको छ। मिथिलामा वसन्तपञ्चमीपछि होलीको गायन परम्परा सुरु हुन्छ। जसमा उल्लाससँगै वेदना, संघर्ष र पीडाका स्वरहरू पनि मुखरित हुन्छन्। मात्रै पुरुषवर्गको नभई यसमा महिलाहरूको पनि विशेष भूमिका रहने गर्छ।

मिथिलाञ्चलको सन्दर्भमा होली पर्व उन्मुक्ति र स्वतन्त्रताको प्रतीक पनि रहेको कवियित्रि पुनम झाको ठम्याइँ छ। ‘मैथिल समाजमा महिलालाई घुम्टोमा राख्ने परम्परा पनि छ। उनीहरू खुलेर भावना,  वेदना वा पीडा घरपरिवार वा समाजसामु राख्नबाट वञ्चित हुने भएकाले ती कुरा फगुवा गीतका माध्यमले बाहिर ल्याउँछन्’, उनी भन्छिन्।

रत्यौलीको प्रतिउत्तर दिने पर्व
संस्कृतिविद् राजेन्द्र आचार्यलाई अहिलेको होली खासै लाग्दैन। उनले जुन संस्कृतिका साथ होली मनाए, त्यो करिब नासिएको छ। लुम्बिनी प्रदेशका १२ जिल्लामा दुई दिन होली पर्व मनाइन्छ। पहाडका ६ जिल्लाले पूर्णिमाका दिन होली मनाउँछन। तराईमा परेवाका दिन होलीको रमझम हुन्छ। तर यी दुवै दिन पुराना सांस्कृतिक परम्परा देखिँदैन।

पहाडमा होलीमा रङ खेल्ने प्रचलन थिएन। डम्फु नचाउँदै गीत गाउने नाच्ने अनि चीर बालेर त्यसको टीका लगाउने संस्कृति थियो। गुल्मीमा यो संस्कृति अहिले केही मानिसले अवलम्बन गर्छन्। तर अबिर लगाउने संस्कृतिले पहाडको संस्कृतिलाई बिर्साइदियो। अबिर संस्कृति मिथिलाबाट आएको उनी बताउँछन्। ‘पहाडमा रङ दल्ने होइन, चीर बालेर खरानीको टीका लगाउने र धुलो उडाउने प्रचलन थियो’, उनी भन्छन्।

पहाडमा घर फागु र वन फागु मनाउने चलन थियो। ती फागुमा पौराणिक राम, कृष्णका कथाहरू गीतका रूपमा गाइन्थ्यो। घर फागुमा सभ्य गीतहरू गाइन्थे। वन फागुलाई रत्यौलीको प्रतिउत्तर दिने पर्व नै भनिन्थ्यो। बिहेको रत्यौलीमा महिलाहरूले जसरी अश्लील गीत गाउँथे। वन फागुमा पुरुषहरूले रत्यौलीको प्रतिउत्तर दिन्थे। रत्यौलीमा पुरुषहरूले लुकेर हेरे जस्तै बन फागु महिलाले लुकेर हेर्थे। बन फागु जंगलमा गाइन्थ्यो। जहाँ पुुरुषहरू मात्रै जान्थे।

दिनभरि फागु खेलेकाहरू साँझ चीर जलाउँथे। त्यसैको टीका लगाउँथे। होली संस्कृतिको अध्ययन गरिरहेका संस्कृतिविद् आचार्य भन्छन्, ‘गुल्मी, अर्घाखाँची, पाल्पा र प्यूठानमा यो संस्कृति थियो। तर अहिले यी संस्कृति एकाध स्थानमा पाइन्छ।’ फागुमा डम्फो बजाइन्थ्यो। त्यसलाई घुमाएर नाचिन्थ्यो। मैथिली भाष्य मिसिएका गीतहरू गाउने गरिएको उनले संकलन गरेका गीतहरूले प्रष्ट्याउँछ। मानिस रङ खेल्न थालेपछि चीर बाल्ने चलन हराउँदै गयो। धूलो उडाउने संस्कृति पुस्तान्तरण नै हुन पाएन।

पाल्पामा घरघरमै पुगेर होली खेल्ने प्रचलन थियो। बाजाको तालमा हुने संस्कृतिमा मानिसहरू झुमेर नाच्ने गर्थे। पाल्पाली समाजले बुटवलमा यो संस्कृतिलाई जोगाउने प्रयत्न गर्दै आएको छ। समाजले हरेक होलीमा पाल्पाकै संस्कृति झल्किने गरी बाजागाजासहित बुटवलमा होली कार्यक्रम गर्छ। सहरमा होलीका पौराणिक गीतहरू सुनिँदैनन्। युवापुस्ता मात्रै होलीमा रमेको देखिन्छ। अबिर हान्ने गलत प्रवृत्तिले पुरानो पुस्ता होली नै नखेल्ने संस्कृतिविद् आचार्य बताउँछन्।

लुम्बिनी प्रदेशका तराईका ६ जिल्लामा होलीका फरक रौनक हुन्छ। तर यहाँ पनि संस्कृतिलाई भुल्दै गएको संस्कृतिविद्हरू बताउँछन्। पुस्तान्तरण अभाव र युवाले देखासिकीले होलीका मौलिक गीतहरू हराउँदै गएका छन्। होलीको मुख्य गीतको रूपमा रहेको जोगिरा लोप हुने अवस्थामा छ। मृदङ, मजिरा, करताल, हार्मोनियम र डफला (एक प्रकारको डम्फु) का तालमा सुनिने जोगिरा गीत अहिले कतै कतै मात्र सुन्न पाइन्छ।

रङ र अबिरमा मात्र सीमित रहेको होली मुख्यतः आपसी सद्भाव, भ्रातृत्व र उमंगको प्रतीकको पर्व हो। यो पर्वले सामाजिक छुवाछूत, जातीय भेदभाव, व्यक्तिगत रिसराग बिर्सिएर भ्रातृत्व भाव र समानताको सन्देश दिन पनि मनाइन्छ। होलीमा फगुवा गीत गाउने, सम्भवतः जलाउने, गाउँभरिको घरघरमा गएर एक आपसमा रङ दल्ने, मिलन गर्ने, मटका फोड्नेलगायतको गतिविधि होलीको दिन वर्षको एकपटक देखिन्थ्यो। तर यस वर्ष यी दृश्यहरू नदेखिएको रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका राजेन्द्र यादव बताउँछन्।

‘जोगिरा भनेको स्थानीय संस्कृतिलाई संरक्षण गर्न र गीतद्वारा आफ्ना दुःख–सुख व्यक्त गर्ने एक ठाउँ हो। अहिलेको पुस्ताले यसलाई बिर्सिंदै गएको छ। यसको संरक्षणमा हामी आफैं लाग्नुपर्छ,’ स्थानीय वीरेन्द्र मिश्रा भन्छन्। लुम्बिनी सांस्कृतिक विरहा समूहले लुम्बिनीमा जोगिरा गाए पनि रूपन्देहीको अन्य क्षेत्रमा यसबारे जानकारीसमेत छैन। ‘विशुद्ध रूपमा ग्रामीण होलीको महŒवसहित गाइने गीतको रक्षा गर्नुपर्छ। ‘अन्य समयमा विरहका गीत गाए पनि स्मरणका लागि यस वर्ष जोगिरा गाएको यसलाई संरक्षण गर्न सबै पक्ष लाग्नुपर्छ’, समूहका गायक राधेश्याम पालले भने। भारतीय संस्कृतिले फागुको परम्परालाई थिचोमिचो गर्दै गएको छ। भोजपुरी, अवध भाषीहरूमा रहेको संस्कृतिसमेत नयाँ पुस्ताले बिर्सिंदै गएका छन्।

जोगिरा सररर. . .!
कुन तालमे ढोलक नाचे कुन ताल मजिरा
कुन तालमे नटुवा नाचे कुन ताल नजारा
के बोलो सररर, के बोलो सररर
जोगिरा सररर...

फागु पुर्णिमा अर्थात् होली दिन गाइने गीत हो यो। यो वाक्यांशले तराई क्षेत्रको प्रतिनिधित्व गर्ने गर्छ। ढोलक अर्थात् चेप्टो खाले विशेष मादल, तराईको विशेष अनि मौलिक ढोलकको तालमा तराईवासीले कुनै पनि शुभकार्य या चाडबाड या समारोहको जनाउ गर्छन्। अनि यो होली या फागुमा जोगिराको चर्चा चल्छ। 

ठ्याक्कै यकिन गरेर जोगिराको अर्थ निकाल्न गाह्रो छ। तथापि जोगिरा त्यो हो जो रङ र भाङको तालमा हूल बनाएर एक टोलबाट अर्को टोल, आफन्तबाट अर्कोको घरमा पुगी मालपुवा, नरिवल तथा अन्य सुक्खा बदाम, छोकडा खाएर एक आपसमा रङ दलेर खुसीयाली साटासाट गर्छ। जोगी अर्थात् केही लिन र केही दिनसँग वास्ता नभएको, सुख र दुःखको झेलमा नअल्झिएको अनि सम्पूर्ण रूपमा साधुजस्तो अर्थात् सांसारिक बन्धनबाट टाढिएको मान्छे नै जोगिरा हो।
पूर्वी तराईका राजवंशी, सन्थाल, मुसहर, थारू तथा अन्य विविध जातजातिलगायत पश्चिमी भेगका नेपाली तराईवासीसम्म दोस्रो दिन यो रंगीन चाड मनाउँदै छन्। नारद पुराण र भविष्य पुराणमा होलीको महŒव अनि चलनको चर्चा गरिएको छ। होलीमा खेलिने नीलो रङले मानवता र धैर्यलाई दर्शाउँछ भने पहेंलो रङ भगवान् श्रीकृष्णको प्रिय हो। सौभाग्यको सूचक रातो रङको प्रयोग पनि आज व्यापक छ।

परिक्रमावासीको खुट्टाले उडेको ‘धुरा’ (धूलो) उडाएर यहाँ होली खेल्ने मान्यता छ। जनकपुरमा फागुन शुक्ल चतुर्दशीको मध्यरातमा ‘सम्मद’ जलाइन्छ। राक्षसी र तामसी प्रवृत्तिाविरुद्ध सात्विक प्रवृत्तिाको जित भएको प्रतीकका रूपमा ‘सम्मद’ जलाउने परम्परा छ।

शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछायाँमा होलीका गीतहरू गाउँदै रातभरि विभिन्न कार्यक्रम आयोजना गर्ने चलन पनि अझै छ। धार्मिक मान्यतावाट अलग्ग बनाएर केवल उत्साह अनि सद्भावका रूपमा हेरेरै होला, नेपालीजन चाहे जुनसुकै धर्म या समुदायका हुन्, होलीमा एउटै आँगन र तालमा झुम्छन्। बालबालिकाले पिच्कारी अनि ससाना बेलुनका साथमा मज्जा लिन्छन्। तराईतिर बाँस काटेर त्यसका ढोडबाट बनाइएका पिच्कारी प्रयोगमा छन्। प्रयोग गरिसकेका पुराना प्लास्टिकका बोतलबाट बनाइएका पिच्कारी पनि हुन्छन्। वयस्कका लागि होली रङहरूले भ्रातृत्व र साहसको पर्व हो।

तराई र पहाडसँग जोडिएको उदयपुर जिल्ला भित्री मधेसमा पर्छ। दुवै समुदायबीच अन्तरघुलनको बस्ती र समुदाय भएकै कारण उदयपुरमा सधैंजसो दोस्रो दिन होली भव्यताका साथ मनाउने गरिन्छ। राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतिमा मनोरञ्जनात्मक कार्यक्रमसहित यहाँ होली मनाइएको छ। कोरोनाका कारण दुई वर्षदेखि मनाउन नपाइएकाले यस वर्ष भव्य ढंगले होली मनाइएको छ। बालबालिकादेखि ७० वर्ष उमेरका वृद्धवृद्धासमेत सडकमा निस्किएर होली मनाए।

‘मृत होली’को रौनक
अन्य समुदायको भन्दा रानाथारू समुदायले होली पर्व पृथक् तरिकाले मनाउने गरेका छन्। रानाथारू समुदायको प्रमुख पर्वको रूपमा रहेको होली पर्व ३८ दिनसम्म मनाइने गरिन्छ।  रानाथारू समुदायको होली माघ पूर्णिमादेखि सुरु हुन्छ। रानाथारू समुदायमा दुई चरणमा होली पर्व मनाइने गरिन्छ। पहिलो चरणअन्तर्गत माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म जिउँदो होली मनाइन्छ। त्यसपछिका आठ दिनको समय ‘मृत होली’ मनाउने प्रचलन छ। यसपछि रानाथारू समुदायमा बल्ल रौनक छाउँछ।

गाउँभरिका महिला, पुरुष, वृद्धदेखि बालकसम्म सबैजना होलीमा रमाउँछन्। होली खेलेकै घरमा खाना खाने र रातभरि होली खेलेर रमाइलो गर्ने कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ की केशमती राना बताउँछिन्। पछिल्लो समय भने रानाथारू सुमदायमा होली पर्व छोटिँदै गएको उनको भनाइ छ। ‘पुरुषहरू रोजगारीका लागि बाहिर जान्छन्। घरमा भएका केटाकेटीसमेत पढाइ या अन्य काममा व्यस्त हुन्छन्’, उनी भन्छिन्, ‘एक महिनासम्म खेलिने होली छोटिँदै गएको छ। अहिले एक/दुई दिनमै सीमित भएको छ।’

रानाथारू समुदायका जानकारहरूका अनुसार हिरण्यकश्यपुले विष्णु भगवान्का भक्त आफ्नो छोरा प्रल्हादलाई अग्निमा नजल्ने वरदान पाएकी बहिनी होलिकासँग काखमा राखेर जलाउने भनी आदेश दिएका थिए। प्रल्हादले पनि बुवाको कुरा नकाटी फुपू होलिकाको काखमा बसे। जब होलिकालाई आगो लगाइयो, त्यस समय होलिका जलेर खरानी भइन्। प्रल्हादलाई अग्निले केही गर्न सकेन। त्यस दिनदेखि असत्यमाथि सत्यको विजय भयो भनेर रानाहरूले होली पर्व मनाउँछन्।

होलीको गीतमार्फत मथुराबाट होली मगाउने प्रचलन पनि छ। परम्परागत रुपमा मनाइँदै आएको होली १ महिना ८ दिनसम्म खेलिने भीमदत्त निवासी सोमन रानाको भनाइ छ। ‘हामीले परम्परागत पहिरनमा होली खेल्ने गरेका छौं’ उनी भन्छन्, ‘विगतजस्तो रातभरि अचेल खेलिँदैन। मान्छे पनि थोरै हुन्छन्।’ परम्पराअनुसार एक रातमा एक घरमा मात्रै होली खेल्ने गरिन्छ। जुन घरमा होली खेल्यो, त्यही घरमा खाना खाने र रातभर होली खेल्ने प्रचलन छ। पूर्णिमाको दिन होली दहनपछि आठ दिन ‘मृत होली’ मनाइन्छ। होली दहन गरेको ठाउँमा चामल चढाएर सु–स्वास्थ्य र दीर्घायुका लागि आशीर्वाद माग्ने चलन रहेको कैलाशु राना बताउँछन्।

महिलाहरूले घगरिया, अङिया, फतुई (सिक्काको माला) र पुरुषले घगिया पहाना, तुल फेरा (परम्परागत पहिरन) लगाएर रातभरि होली खेल्ने प्रचलन छ। पछिल्लो समय डिस्को डिजेमा मात्रै सीमित हुने र होली खेल्ने समय पनि छोटिँदै गएको प्रति भने पाका राना समुदायले चिन्ता व्यक्त गर्न थालेका छन्।

होरीको उद्गम कुमाउ गढवाल
होरी (होली)लाई अछामको महत्वपूर्ण पर्वका रूपमा लिने गरिन्छ। होलीलाई स्थानीय भाषामा ‘होरी’ भनिएको हो। परापूर्वकालदेखि नै अछामीले होरी मनाउँदै आएका छन्। दसैं तिहारमा समेत सहरमै बस्ने स्थानीय यतिबेला घर फर्किएर होरीमा सहभागी हुन्छन्। 

भारतमा रोजगार गर्दै आएका ज्योति र उनका छोरा भरत लुहार होरी खेल्नकै लागि भारतबाट गाउँ आएका छन्। ‘हामीलाई दसैं तिहारले खासै अर्थ राख्दैन’, ज्योति भन्छन्, ‘होरीमा परिवार, आफन्त सबैसँग भेटघाट हुन्छ। दुःखसुख साटासाट हुन्छ। दाजुभाइसँग होरी खेलमा सहभागी हुन पाउँदा भारतमा नोकरी गर्दाका सबै दुःखपीर बिर्सिन्छौं।’ बूढापाकाका अनुसार अछाममा ३ सय वर्षअघि होरी खेल्ने चलन सुरु भएको हो। ४० वर्षपहिले जनजिब्रोमा बोलिने भाषामा गीतको रचना गरी स्थानीयकरण गरिएको थियो। होरी खेलको पहिरन पनि बिशेष हुन्छ। पुरुषले सेतो भोटोसहित जामा, पछाडि कुमदेखि खुट्टासम्म पुग्ने गरी पिठ्यूँमा सेतो चदर पहिरनु पर्छ। 

टाउकामा पघरी बाँध्नुपर्छ। दिदीबहिनी, श्रीमती र आमाले माला पहिराई दिने गर्छन्। होरी खेल खेल्दै एकजनाले लयात्मक देउडा गाउँछन्। त्यही गीतलाई खेलमा सहभागीहरूले पछ्याउँछन्। खेल प्रारम्भ गर्नुलाई ‘पैट्याउनु’ भनिन्छ। अछामीले यो पर्वलाई विशेष रूपमा लिने हरेक बर्ष होरीमा देउडा गाउँदै आएका प्रभा धम्कोटका पूर्वप्रधानाध्यापक कुलबहादुर कुँवर बताउँछन्। ‘एक हप्ता अघिदेखि नै होरी खेल्ने गरिन्थ्यो। पूर्णिमाको दिन समापन हुन्थ्यो। तर केही वर्षयता होरी खेल्ने प्रांगणमा छिटफुट रूपमा मात्र पुरुषहरू जामा लगाए खेल्न आउँछन्,’ उनले भने, ‘पुरुषहरू जति रोजगारका लागि बिदेसिएका छन्। गाउँघरमा बूढापाका मात्र छन्। युवा लोकसंस्कृति जगेर्नामा लाग्नुपर्छ।’

होरीमा गाइने देउडा रामायणबाट सुरु हुन्छ। नेपालको चारधाममध्येको एकधाम वैधनाथधाममा महाशिवरात्रिको मेलाको भोलिपल्ट बिहान देउडा खेली होरी खेलको शुभारभ्भ हुन्छ। खलिफाले होरी खेल्ने प्रागणमा बाजा ‘ढोल’ बजाउन थाल्छ। ढोल बज्न थालेछि खेल्ने र दर्शक भेला हुन्छन् र गोलो घेरा बनाई होरी सुरु गर्छन्। होरी खेलको उद्गमस्थल कुमाउ गढवाल नै हो। १७५० साल आसपासमा सोमवंशी राजा भान शाहले ससुराल कुमाउ गढवालबाट राजाको तालमा होरी देउडा खेलाएका थिए। जिताउरे दमाई र होरीका गीतको वही झिकाइ शीतकालीन दरबार कालीमाटीगढी नजिकै रहेको वैधनाथ मन्दिरको पूजाअर्चना गरी उनले होरी खेल खेलाउने अभ्यास गराएका थिए।

तीन दिन मनाइन्छ होली
पहाड र हिमालमा फाल्गुण शुक्ल पूर्णिमाका दिन होली पर्व मनाइन्छ। मधेस प्रदेशमा पूर्णिमाको भोलिपल्ट होली मनाउँछन् भने मिथिला क्षेत्र जनकपुरधाममा गरिने माध्यमिकी परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट होली मनाउने अथवा तेस्रो दिन मनाउने परम्परा छ।  जनकपुरधाम आइपुगेको परिक्रमा अन्तर्गृह परिक्रमा गरेर यस वर्ष शनिबार होली मनाउने तयारी रहेको संस्कृतिविद् सुरेन्द्र लाभ बताउँछन्।

‘होलीको सबैको आआफ्नो विशिष्ट परम्परा छ’, उनी भन्छन्। उनका अनुसार हरेक वर्ष तिथिअनुसार जनकपुर र तराईका भेगमा कहिलेकाहीँ एकैदिन होली पर्छ। तर यसपटक भने फरक दिन भोलिपल्ट 
शनिबार मात्र होली परेको छ। तर, सरकारले दुई दिन मात्र बिदा दिन्छ। यसपटक त शनिबार परेकाले बिदा छ।

धार्मिक ग्रन्थहरूमा फागुपूर्णिमा एकदिन मात्रै मनाउने उल्लेख छ। तर पनि यसलाई दुई दिन स्वीकार गरिएको छ। सरकारले पनि दुई दिन बिदा दिने गरेको छ। संस्कृतविद्हरूका अनुसार पहाडमा फागुपूर्णिमा र तराईमा होली फरक दिन मनाउनु स्वाभाविक छ। एउटा पूर्णिमाको दिन जुन पहाड हिमालमा र अर्को साँझ होलिका दहन गरिसकेपछि भोलिपल्ट त्यसैको खुसीयालीमा होली पर्व मनाउँदै आएको हो।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः विगतको होली सम्झँदै वर्षौं पहिला राजाको होली भन्ने प्रचलन रहेको बताउँछन्। ‘सबै राजाको नाममा हुन्थ्यो, नेवारी भाषामा गाउने गीत सुनाउँछन्। राजाको होली, त्रेता युगको तरुनी, भाग्नुपर्ने गरेर किन हेर्न आएकी’, उनी गीत सम्झन्छन्। उनी पहिला उपत्यकामा नेवार मात्र रहेको बताउँछन्। उनका अनुसार पहिला र अहिलेको होलीमा धेरै फरक छ। बाँसको ढुङ्ग्रोको पिच्कारी हुन्थ्यो। रङ सक्कली थिए। अहिले केमिकल भएको रङको प्रयोग हुन्छ जसले छालालाई असर गर्छ। ठूलाबडा कर्मचारी होली खेल्न राजाकहाँ दरबार पुग्थे। सिंहदरबारमा बोराका बोरा रङ आउँथे। सेतो दौरा सुरुवाल लगाएर जानुपर्ने प्रचलन थियो। सबै जान पाउँदैनथे। उनी सम्झन्छन्।

संस्कृतिविद् जगमान गुरुङ अहिलेको होली अभद्र भएको बताउँछन्। राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्छ भन्ने मान्यता थियो। बालिएको चीरको धुवाँबाट धेरै रोगका कीटाणु निर्मूल पर्वको आयुर्वेदिक महत्व हुन्थ्यो। उनका अनुसार वनस्पतिका रङ हुन्थे, ढुंगा पिनेर रङ बनाउने रातो कालो माटो, कमेरो पिठोले खेल्ने प्रचलन थियो। अबिर त पछि मुसलमान समुदायले अरबबाट ल्याएको उनको बुझाइ छ।

रङ्गी फगुवा
– उमाशंकर द्विवेदी ‘दधीचि’

ऋतुअनुसारका कठिन दिनहरूलाई सुखमय बनाउन पुर्खाहरूले वर्षभरिकै विभिन्न महिनामा विभिन्न खाले व्रत–त्योहार तथा चाडपर्वको विधान कल्पना गरे। निश्चयतः नेपाल मुख्यतः हिन्दू बहुल धर्मावलम्बीको बासस्थल हो। सोही धर्मानुसार तिनको कल्पना गरिएको थियो। जुन विभिन्न देवीदेउताको पूजा–अर्चना, व्रत–तपस्या गर्न निर्धारित गरियो। दसैं शक्तिस्वरूपा भगवती दुर्गाको आराधनाका लागि, तिहार धन, ऐश्वर्य दायिनी लक्ष्मी माताको पूजनका लागि, श्रीपञ्चमी विद्यादायिनी माता सरस्वतीको भक्तिका लागि गर्ने कल्पना थियो। शिवरात्रि शंकर महादेवलाई खुसी पार्न, एकादशी, सत्यनारायण कथा आदि विष्णु भगवान्को प्रसन्नताका लागि तथा अन्य व्रत–त्योहार तथा चाडपर्व र उपवास विभिन्न देवीदेवता प्रसन्न पार्ने कल्पनामा गरिएको थियो। निःसन्देह देवी–देवताको पूजा–अर्चना निश्चित रूपमा पूर्ण आस्था तथा तपस्याको रूपमा गर्नुपर्ने हुन्छ। जुन जनसाधारणका लागि कष्टसाध्य हुन्छ।

चाडपर्वमा पुर्खाहरूले जीवनमा रस भर्ने खालको एउटा रमाइलो उत्सवको कल्पना गरेका थिए, जसलाई होली भनियो। फगुवा, होलिकोत्सव, रङ्गोत्सव तथा बसन्तोत्सव नामले पनि चिनियो। होलाष्टकको दिनदेखि सुरुवात भएर फागुन पूर्णिमाको दिन होलिका दहन हुन्छ। होलिका दहनलाई भोजपुरी भाषामा ‘सम्हत जरावल’ भन्छन्। सम्हत भनेको वास्तवमा भोजपुरी भाषामा ‘सम्बत्’को अप्रभंश शब्द हो। फाल्गुण पूर्णिमाको दिन चालू सम्बत्लाई पोलेर समाप्त पारी नयाँ संवत्सरको स्वागतको रूपमा फगुवा मनाउने परम्परा छ। सम्भवतः त्यसै कारण तराईमा होली पहाडको होलीभन्दा एक दिन पछि मनाइन्छ। वस्तुतः पहाडको होली फाल्गुण पूर्णिमाको दिन मनाइन्छ भने तराईमा होली चैत्रको प्रतिपदाको दिन मनाउने चलन छ।

चैत्र कृष्ण पक्ष एकम्को दिन बिहान भष्म भएको सम्हतको खरानीको टीका निधारमा थपेर ढुण्डा राक्षसीको आशीर्बाद पाई त्यसै दिनदेखि सुरु हुने नयाँ संवत्सर मंगलमय होस् भन्ने जनविश्वास छ। अश्लील शब्दहरूको गायन गर्नाले ती ढुण्डा राक्षसी वा होलिका राक्षसीलाई तृप्ति हुन्छ। उनले सुख–समृद्धिका लागि जनमानसलाई आशीर्वाद दिन्छिन्।

वस्तुतः तराईमा त्यस दिनपछि मालपुवा तथा रगं, अबिर कुलदेवतालाई अर्पण गरिन्छ। प्रसादको रूपमा मालपुवा र अन्य मधुर मिठाईले मुख जुठो पारिन्छ। गाउँमा बस्ने धनी–गरिब, ठूला–साना, साथीसित परस्परमा र·–अबिर खेलिन्छ। ढोल, डम्फु, झ्याल–मजिराजस्ता वाद्यहरूको लोकधुनमा होलीको गीत नाच्ने गाउने प्रचलन छ। शुभकामनाको आदानप्रदान भएर फगुवा पर्वको समाप्ति हुने परम्परा छ। पुराना दिनमा फगुवा रगोंत्सवको रूपमा समाजका साना ठूला सबै वर्गबीच हर्षोल्लास, आपसी भाइचारा र सौहाद्र्रताका साथ मनाइन्थ्यो। दिनको मध्याह्नदेखि फगुवाका गीत गाउनेहरूको मण्डली पारम्परिक बाजाका साथ प्रत्येक गृहस्थको घरद्वारमा गई बिछ्याइएका बिछ्यौनामा बसी सुरतालका साथ फगुवा गाउने गर्थे।

त्यसपछि घरमुलीले त्यस्ता मण्डलीमा सामेल भएर आएका प्रत्येक सदस्यलाई रगं, अबिर लगाई मसला (बदाम, छोहडा, नरिबल, किसमिस, सुपारी, सुकमेल) बाँडिदिएपछि मण्डलीको बिदाइ हुन्थ्यो। बिदाइ भएपछि मण्डली बसेको ठाउँबाट उठेर बाजा बजाउँदै गाउँथे– सदा आनन्द रहे यही द्वारे मोहन खेलस होरी हो... सदा आनन्द रहे यही द्वारे...। अर्थात् यस घरद्वारमा सदैव आनन्द रही रहोस्, मोहन! (भगवान् श्रीकृष्ण) यसैगरी हरेक वर्ष फगुवा खेलिरहुन्। यस्तै गीत गाउँदै अर्को गृहस्थको घरद्वार जान हिँड्थे।

फगुवा भद्र तथा शालीनतापूर्वक मनाइन्थ्यो, गाइन्थ्यो। फगुवाको आफ्नै किसिमको ताल मात्रा तथा रस हुन्थ्यो। राम रसको फगुवा, कृष्ण रसको फगुवा तथा लोक रसको फगुवा मात्र गाउँथे। रामरसको फगुवाका केही वानगीहरू प्रस्तुत छन्– लडिका राम धनुष कइसे तुरिहन, हंसेला जनकपुर के लोग... होहो... हो...। अर्को वानगी–दुनु भाइ रोवेला कदम तर, सिया जानकी के ले गइले चोर... होहो... हो...। तेस्रो वानगी– राम खेले होरी, लछुमन खेले होरी, गढ लंकामें रावन खेले होरी... होहो... हो...। कृष्णरसको फगुवामा व्रजभूमिमा श्रीकृष्णजीले गोपिनीहरूसित खेलेको होलीको प्रस·को वर्णन रहेको हुन्थ्यो भने लोक रसको फगुवामा शृंगार रसको प्रधानता रहन्थ्यो, जोगीरा सरररको... लयमा कवित्तको बाहुल्य हुन्थ्यो। अश्लीलता तथा उच्छृंखलता भने पटक्कै हुँदैन्थ्यो। गाउँको प्रत्येक गृहस्थको द्वारद्वारमा रातिसम्म फगुवा गीत गाउँथे। त्यसपछि आआफ्नो घर फर्किने बेलामा मण्डलीका सदस्यहरूले धुलो उडाएर फगुवाको समाप्ति गरी चैतावर गाउँदै फर्किन्थे। त्यसबेलादेखि चैत्र लागेको जनधारणा रहन्थ्यो।

वर्तमान समयको फगुवाको रूप र· तथा माहोल आमूल परिवर्तन भइसकेको देखिन्छ। आपसी भाइचारा, सौहार्द्रता तथा शालीनताले फगुवाको नाममा अभद्रता, अश्लीलता तथा दुव्र्यसनको परिधान धारण गरिसकेको देखिन्छ। पुराना दिनहरूमा फगुवा लाग्नुभन्दा हप्तौंअगाडिदेखि खसीको मासुको बिक्रीका लागि सूची तयार हुन्थ्यो। एउटा गाउँभरिमा एउटा खसीको पनि मासुको खपत हुन सक्दैनथ्यो। अचेल फगुवाको दिन के गरिब, के धनी प्रायः प्रत्येक गृहस्थको घरमा एक/एकवटा खसीको मासु खपत भएको तथ्य विद्यमान छ। हुनेखानेको घरमा फगुवाको अवसरमा बदाम, ओखर, सुकुमेल, केशर हालेर भाङको सेवन हुन्थ्यो। अचेल बियर र रक्सीको खोलो बगेको जस्तो सेवन भएको देख्न सकिन्छ।

यस्तो स्थितिमा पुराना पारम्परिक फगुवा गाउने, डम्फ, मजिरा, ढोलक बजाउने कलाकारको मात्रा न्यून हँुदै गइरहेको स्थिति छ। अब गाउँमा फगुवा गाउने मण्डलीको अस्तित्व समाप्त प्रायः छ। फगुवाको दिनमा गाउँका प्रत्येक गृहस्थको द्वारद्वारमा गई आपसी सद्भाव आदानप्रदान गर्ने, फगुवा गाउने, रमाइलो गर्ने प्रथा लोप हुने स्थितिमा छ। यस्ता विकृतिप्रति जिम्मेवार को ? ढुण्डा राक्षसीले कल्याण गरुन्...। रङ्गी फगुवा...!


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.