आँधीखोला गाउँपालिकाको लोगो सार्वजनिक
स्याङ्जा : आँधीखोला गाउँपालिकाको गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ। पालिकास्तरीय तेस्रो अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिताको अवसर पारेर आयोजित विविध सांस्कृतिक कार्यक्रममा पालिकाको लोगो सार्वजनिक गरिएको अध्यक्ष सुधिर पौडेलले जानकारी दिए।
लोगोमा आँधीखोलाको ऐतिहासिक धार्मिक, पुरातात्विक महत्वका क्षेत्रहरु समेटेर तयार पारिएको छ। पालिकाको पहिचान झल्कनेगरी तयार पारिएको लोगो शुक्रवार अध्यक्ष पौडेलले सार्वजनिक गरेका हुन। लोगोको माथिल्लो भागमा गाउँपालिकाको नाम र सो नामको बिचमा नेपालको रास्ट्रिय झण्डा छ। तल्लो भागमा राखिएको रिवनमा गाउँपालिकाको ठेगाना छ। ठेगानाको रिवनसँग जोडेर दुवैतर्फ धानको बाला छ।
उदाँउदो सूर्यसहित रहेका हरियाली डाँडाकाँडा तथा रुखहरुले गाउँपालिकाको प्राकृतिक सौन्दर्यतालाई थप झल्काएको छ। लोगोका गोलाकार भागले गाउँपालिकाका विभिन्न पक्षहरुलाई झल्काउने काम गरेको छ।
मुलुककै पहिलो ग्रामिण पर्यटकीय गाउँ शिरुवारी गाउँ र श्रवणकुमारलाई प्रतिक चिन्ह मार्फत विशिष्टकरण गरिएको छ। आँधीखोलाको नक्सा समेटेको उक्त लोगोले अन्धाअन्धी दहबाट झरेको झरना आँधीखोलामा मिश्रण भएको भाव झल्केको छ।
कृषि क्षेत्रलाई गाउँपालिकाको समृद्धिको आधार देखाउन दुई जना व्यक्तिले खेतमा काम गरिरहेको र लैङ्गिक समानता, एकता, समन्वय सहकार्यलाई झलकाउन महिला पुरुषले हात मिलाएको देखाइएको उपाध्यक्ष शर्मिला पौडेलले बताईन्।
प्रतिक्रिया दिनुहोस !