मेयरको उम्मेद्वार टुंग्याउने जसपाको बैठकमा ढुंगामुढा र तोडफोड
गोरखा : आसन्न स्थानीय तहको निर्वाचनमा पालुङ्टार नगरपालिकाको मेयरको उम्मेद्वार टुंगो लगाउने विषयमा जनता समाजवादी पार्टी(जसपा)मा कचिंगल भएको छ। नौ जना आकांक्षीहरुमध्ये एकजनाको नाममा सहमति गराउन शुक्रबार राती बसेको बैठकमा ढुंगामुढा र तोडफोड भएको सो पार्टीले जनाएको छ।
आसन्न निर्वाचनमा पालुंटार नगरपालिकामा जसपाबाट मेयर पदमा नौ जना र उपमेयर पदमा पाँचजनाले आकांक्षा राखेका थिए। उनीहरुमध्ये एकजनाको नाममा सहमति गराउन बसेको बैठकमा मादक पदार्थ सेवन गरेका उच्छृङ्खल समूहले बाहिरबाट आक्रमण गरेका जसपाका पालुंटार नगर कमिटीका अध्यक्ष रमेश पोखरेलले बताए।
बैठक पिस हेभन पार्टी प्यालेसमा चलिरहेको थियो। ‘पहिले वडाअध्यक्ष पदका लागि उम्मेद्वार टुंगो लगाउने भन्ने थियो। त्यसपछि उपमेयर र मेयरको नाम टुंग्याउने भन्ने थियो’, पोखरेलले भने, ‘तर बैठकमा वडाअध्यक्ष र उपमेयरको विषयमा कुरै हुन पाएन। मेयरकै विषयमा कुरो आयो’, पोखरेलले भने, ‘तर उच्छृङ्खल समूह बाहिर मादक पदार्थ सेवन गरी उफ्रिने, कराउने, हुलहुज्जत र आक्रमण गर्ने गर्न थाले। बैठक भइरहेको हलबाहिरबाट ताला लगाइदिए। अनि राती अबेर भएपछि ढुंगामुढा गरेर झ्यालको सीसा तोडफोड गरिदिए। कुटपिटको प्रयास पनि गरे।’ तनावपूर्ण अवस्था सिर्जना भएपछि अर्को दिन बैठक बस्ने गरी बैठक स्थगित भएको थियो।
‘तर प्रेम गुरुङको नाममा सर्वसम्मत भएको भनेर झुठो प्रचार गरियो’, अर्का एकजना उम्मेद्वारका आकांक्षीले भने, ‘राजनीतिक पार्टीभित्र अराजनीतिक हर्कत गर्ने काम भयो। यो सह्य छैन।’ नाम टुंगो लाग्न नसक्ने अवस्थामा माथिल्लो कमिटीमा नाम सिफारिस गरी पठाउने पार्टीको प्रावधान छ। तर उम्मेद्वार छान्नै चुनाब गर्नुपर्छ भने पार्टीको विधानविपरीत दबाब आएको उनले बताए।
अराजनीतिक गतिविधि कसले कसरी सञ्चालन गरिरहेको छ भन्ने बारे पार्टीले छानबीन गरिरहेको पार्टी अध्यक्ष पोखरेलले बताए। मेयरका लागि पालुंटारमा नौ जनाले आकांक्षा प्रस्तुत गरेका छन्। अमृतबहादुर आचार्य, अशोक देवकोटा, रमेश पोखरेल, लालबहादुर बिक, प्रेम गुरुङ, दीपक पाण्डे, शान्ता न्यौपाने, शम्भु कौडाल र पिटरकुमार श्रेष्ठ आकांक्षी रहेको पार्टीले जनाएको छ। त्यस्तै उपमेयरका लागि पाँच जना अकांक्षी रहेका छन्।
तनावपूर्ण भएको सो बैठकमा नगर कमिटीका पदाधिकारी, वडा पार्टी कमिटीका अध्यक्षहरु, उपलब्ध केन्द्र, प्रदेश र जिल्ला कमिटीका सदस्यहरु सहभागी थिए।
प्रतिक्रिया दिनुहोस !