बहुआयामिक गम
![बहुआयामिक गम](https://annapurnapost.prixacdn.net/media/albums/Gam-neupane_20220329115919_OFHufp3Qop.jpg)
काठमाडौं : कास्की, पोखराका गमबहादुर न्यौपानेले आफूलाई बहुआयामिक व्यक्तित्वका रुपमा स्थापित गरेका छन्। न्यौपाने गायनका साथै मोडलिङ, निर्देशन, छायांकन, सम्पादनलगायतका प्राविधिक काममा पनि उक्तिकै दख्खल राख्छन्। दर्जनौं गीतका सर्जक न्यौपाने ‘देखासिकी’ र ‘अचानो’ टेलिशृंखलाका लेखक र निर्देशक पनि हुन्। न्यौपानेद्वारा निर्देशित ‘देखासिकी’ र ‘अचानो’ टेलिशृंखला युट्युबमा प्रशारण हुँदै आएको छ। यी टेलिशृंखला सातामा चार पटक प्रशारण हुने गरेका छन्। देखासिकीको १२ भाग प्रशारण भइसकेको छ भने अचानो तीन भाग प्रशारण भएको छ। उनले केही सट मुभी पनि निर्माण गरेका छन्।
पोखरालाई नै आफ्नो कर्मथलो बनाउँदै आएका न्यौपानेले दर्जनौं गीतको सिर्जना गरेका छन्। उनको ‘पोखरेली ठिटो’, ‘ओई सानु’, ‘अन्तिम गोल’, ‘यो मायाको चिनो’लगायतका गीत चर्चित छन्। उनले ‘ओई सानु’, ‘यो मायोको चिनो’, ‘डिफोर्स’, ‘दुई मुटु’, ‘रातो सारी’लगायतका म्युजिक भिडियोको निर्देशन पनि गरेका छन्। अहिलेसम्म ५०÷६० वटा म्युजिक भिडियोको निर्देशन गरिसकेको न्यौपानेले बताए।
यसैगरी लोक, आधुनिकलगायत दर्जनौं गीतमा स्वर पनि दिइसकेका छन्। यस्तै थुप्रै म्युजिक भिडियोमा अभिनय पनि गरेका छन्। उनले पहिलो पटक पूर्णकला बिसीसँग ‘कुहु कुहु कोइली कराउँदा’ लोकदोहोरी गीत गाएका थिए। पहिलो गीतले नै उनलाई चर्चामा ल्याएको थियो। यस गीतपछि उनले पछाडि फर्कनु परेन र आफूलाई यही क्षेत्रमा स्थापित गराउन सफल भए।
विगत एक दशकदेखि यस क्षेत्रमा क्रियाशील न्यौपानेले लेखन, निर्देशन, गायन, संगीत, मोडलिङ र छायांकारलगायतका विधामा आफूलाई सक्रिय बनाएका छन्। उनले ‘ओई सानु’ गीतबाट गायनमा ज्योति म्युजिक अवार्ड पनि जितेका थिए। न्यौपानेले लेखेका दर्जनौं गीत अन्य गायक गायिकाले पनि गाएका छन्। उनका गीत रीना जिसी, तुलसी श्रेष्ठ, प्रकाश गहतराज, दिवस थापामगर, रुकमाया बडालगायतले गाएका छन्।
सानै उमेरदेखि गीत संगीत क्षेत्र राम्रो देखेर नै यस क्षेत्रमा लागेको न्यौपाने बताउँछन्। ‘सानै उमेरदेखि सांगीतिक क्षेत्रप्रति रुची थियो। ठूलो भएपछि यही क्षेत्रमा लाग्छु भन्ने थियो’, न्यौपाने भन्छन्, ‘पहिले केही नबुझिकनै यस क्षेत्रमा लागियो। काम गर्दै र बुझ्दै जाँदा यो क्षेत्र राम्रो लागेको छ। यस क्षेत्रमा लागेर सन्तुष्ट पनि छु।’
उनी पहिले यस क्षेत्रमा लागेर आफ्नो जीविकोपार्जन गर्ने र परिवार पाल्ने बारेमा सोच्नै नसकिने अवस्था भए पनि अहिले राम्रो रहेको बताउँछन्। ‘पहिले यस क्षेत्र र पेसामा लागेर आफ्नो जीविकोपार्जन हुन्छ र परिवार पाल्न सकिन्छ भन्ने आधार थिएन्। आफूलाई मनपर्ने क्षेत्र नभएकाले केही नसोचिकनै यस क्षेत्रमा लागियो’, उनी भन्छन्, ‘अहिले धेरै राम्रो छ। राम्रा कलाकारलाई स्टेज कार्यक्रमहरूमा पनि भ्याइनभ्याइ छ। राम्रो काम गर्नेले पैसा पनि राम्रै कमाएका छन्।’ उनी सांगीतिक तथा कलाकारिता क्षेत्रमा पछिल्लो समय धेरै परिवर्तन आएको बताउँछन्। उनी प्राविधिक परिवर्तनसँगै कलाकारहरूको जीवनस्तरमा पनि परिवर्तन आएको स्वीकार्छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)