ओली प्रवृत्तिको अन्त्य हुनैपर्छ : मुख्यमन्त्री पोखरेल
स्याङ्जा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) ले आसन्न निर्वाचनले अहंकार केपी ओली प्रवृत्तिको अन्त्य गर्ने बताए। चापाकोट-गल्याङ-रुद्रवेणी-सडकखण्डको शिलान्याससहित कालीगण्डकी — रुद्रवेणी पुलको आइतबार उद्घाटन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मालाई लक्षित गर्दै ओली प्रवृत्तिको अन्त्य गर्नैपर्ने अवस्था आएको औंल्याए।
एमालेले दुई तिहाईको जनमत प्राप्त सरकार चलाउन नसकेपछि नेपाली कांग्रेसको काँधमा सरकार चलाउने जिम्मेवारी आएको उनले बताए। गठबन्धनबाट राज्य संचालन भएको अवस्थामा आउँदो निर्वाचनसम्म गठबन्धन आवश्यक रहेको उनको भनाइ छ।
उनले गठबन्धन गर्दै अघि बढेमा सबैको हित हुनेछ बताए। 'सहकार्य गर्दै गठबन्धन गर्दै अघि बढेमा सबैको हित हुनेछ,' उनले भने, 'पालिकाले आवश्यकता अनुरुप गठबन्धन गर्न सक्ने भनि सभापति शेरबहादुर देउवाले भनिसक्नु भएको छ। उहाँले तपाईंहरु मिलाउनुस् केन्द्रले हस्तक्षेप गर्दैन भन्नुभएको छ।'
कालीगण्डकी सभ्यताको संरक्षण र संवर्द्धनका लागि प्रदेश सरकार क्रियाशिल रहेको बताउँदै धार्मिक, पर्यटकीय क्षेत्रको रुपमा विकास गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय पाहुनाका आर्काषण बढाउनेमा जोड दिए। कालीगण्डकी संरक्षण कार्यदल गठन भएको र यहाँका विकासका लागि विविध क्षेत्र समेटेर काम गरिने उनको भनाइ छ।
मुख्यमन्त्री पोखरेलका अनुसार विश्वसम्पदा सूचिमा राख्नेगरी काम गरिनेछ। पुलले गण्डकी प्रदेशको कालीगण्डकी गाउँपालिका र लुम्बिनी प्रदेश गुल्मी जिल्लालाई जोडेको छ। पुल र मोटरबाटोले पहाड र तराई जोड्न सहज बन्नेछ।
प्रतिक्रिया दिनुहोस !