नेपाल र भारतको जस्तो मित्रता कतै छैन : मोदी

नेपाल र भारतको जस्तो मित्रता कतै छैन : मोदी

नयाँ दिल्ली : प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणले नेपाल–भारत सम्बन्धमा ‘आइसब्रेक’ गरेको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा प्रकाशन र त्यसपछि नेपालमा विकसित राजनीतिक घटनाक्रमले दुई देशबीच चिसोपना आएको थियो। दुई देशबीचको विश्वास बढाउने, थाती रहेका समस्या समाधान गर्ने प्रधानमन्त्री देउवाको प्रयासमा भारतीय समकक्षी नरेन्द्र मोदीले साथ दिएका छन्। हैदरावाद हाउसमा शनिबार भारतीय प्रधानमन्त्री मोदीको प्रस्तुतिले सम्बन्ध सुधारतर्फ केन्द्रित भएको देखाएको छ। मोदीले प्रधानमन्त्री देउवा र नेपालसँगको प्राचीन, वर्तमान र भविष्यको सम्बन्धबारे चर्चा गरेका छन्। 

प्रधानमन्त्री देउवाले द्विपक्षीय संयन्त्रण निर्माण गरी सीमा समस्याको समाधान खोज्नुपर्ने प्रस्ताव गरेका छन्। ‘सीमा समस्याबारे हामीबीच छलफल भएको छ। सीमा समस्या संयन्त्रमार्फत समाधान गर्न प्रस्ताव गरेको छु’, प्रधानमन्त्री देउवाले मोदी उपस्थित संयुक्त सम्बोधनमा भने।

यससँगै सीमा समस्यामा दुई देशबीच अवरुद्ध संवादको ढोका खुलेको छ। मोदी सन् २०१४ मा नेपाल भ्रमणमा आएका बेला सुस्ता र कालापानीलगायत क्षेत्रको सीमा विवाद समाधान गर्न परराष्ट्रसचिवस्तरीय संयन्त्र गठन भएको थियो। बीचमा लिम्पियाधुरा, लिपुलेक, कालापानी नक्सा प्रकरण र कोभिडले प्रभावित सीमा समस्याको संवाद अब सुरु हुने वातावरण बनेको हो।

मोदीले संयुक्त पत्रकार सम्मेलनमा देउवाको स्वागत गर्दै नेपाल–भारत सम्बन्धलाई उचाइमा पुर्‍याउने मुद्दाहरूमा बलियो समर्थन प्रस्तुत गरे। 

भारतका पुराना मित्र देउवाको भ्रमणले आफू प्रसन्न भएको उल्लेख गर्दै मोदीले देउवाको आगमनलाई शुभ आगमन भने। ‘देउवाजी भारतको पुरानो मित्र हो। प्रधानमन्त्रीको रूपमा उहाँको पाँचौं यात्रा हो,’ मोदीले भने, ‘नेपाल–भारत सम्बन्ध विकासमा देउवाजीको महत्वपूर्ण भूमिका छ।’

मोदीले भने :

  • नेपाल–भारत सम्बन्ध विकासमा देउवाजीको महत्वपूर्ण भूमिका छ। मित्रता, नागरिकको सम्बन्ध, यस्तो मिसाल (नजिर) विश्वमा अन्त कहीँ देख्न मिल्दैन। 
  • हामीले आफ्नो सहयोगको विभिन्न पहेलुमाथि चर्चा गर्‍यौं। विभिन्न परियोजनाको प्रगतिको समीक्षा गर्‍यौं र भविष्यको रुपरेखाको बारेमा पनि विचारविमर्श गर्‍यौं।
  • हामीले पावरको सेक्टरमा सहयोगको अवसरको पूरै लाभ लिनुपर्छ। हाम्रो संयुक्त वक्तव्यको अन पावर कर्पोरेसन भविष्यमा सहयोगको ब्लु प्रिन्ट सावित हुनेछ।
  • नेपाल इन्टरनेसनल सोलार एलायन्सको सदस्य बनिसकेको छ। यसले हाम्रो क्षेत्रमा सस्टेनेबल, क्लिनेबल र क्लिन इनर्जीको बढावा दिनेछ।
  • जयनगर–कुर्था रेल लाइनको सुरुवात भएको छ। अब दुई देशका नागरिकबीच सुगम, बाधारहित आदानप्रदानका लागि यस्ता योजनाले बृहत्तार योगदान दिन्छ।

नेपाल र भारतको मित्रता, नागरिकको सम्बन्ध, यस्तो मिसाल (नजिर) विश्वमा अन्त कही देख्न नमिल्ने मोदीको भनाइ थियो। ‘हाम्रो सभ्यता, संस्कृति, आदानप्रदानको धागो प्राचीन विकाससँग जोडिएको छ’, उनले भने, ‘अनादिकालदेखि हामी एकअर्काको सुखदुःखको साथी रहेका छौं।’

दुई देशबीचको साझेदारीका आधारमा नागरिकको आपसी सम्बन्ध र उनीहरूबीच आदानप्रदान रहेको मोदीले उल्लेख गरे। ‘यसले हाम्रो सम्बन्धलाई ऊर्जा दिन्छ। नेपालको सम्बन्धमा भारतको नीतिहरू र हाम्रा प्रयास यहीँ आत्मीय भावनाबाट प्रेरित रहन्छ,’ उनले भने। नेपालको शान्ति, प्रगति र विकासको यात्रामा भारत एक दृढ साथी रहेको र सधैं रहिरहने प्रतिबद्धता उनले जनाए। 

मोदीले द्विपक्षीय भेटवार्तामा देउवा र आफूबीच यी सबै विषय र अन्य कैयौं महत्वपूर्ण मुद्दाहरूमा पनि सार्थक बातचित भएको जानकारी दिए। ‘हामीले आफ्नो सहयोगको विभिन्न पहेलुमाथि चर्चा गर्‍यौं। विभिन्न परियोजनाको प्रगतिको समीक्षा गर्‍यौं र भविष्यको रूपरेखाका बारेमा पनि विचारविमर्श गर्‍यौं’, उनले भने। 

ऊर्जा क्षेत्रमा सहयोग तथा सहकार्य गर्न सहमति भएको उनले बताए। ‘हामी दुवै सहमत छौं कि हामीले पावरको सेक्टरमा सहयोगको अवसरको पूरै लाभ लिनुपर्छ। हाम्रो संयुक्त वक्तव्यको अन पावर कर्पोरेसन भविष्यमा सहयोगको ब्लु प्रिन्ट सावित हुनेछ,’ उनले भने।  

उनले द्विपक्षीय वार्तामा पञ्चेश्वर परियोजना तीव्र गतिमा अगाडि बढाउने महत्वमा जोड दिएका बताए। यो परियोजना यस क्षेत्रको विकासका लागि एक गेमचेञ्जर सिद्ध हुने उनको भनाइ थियो। भारतीय कम्पनीबाट नेपालका हाइड्रो डेभलपमेन्ट परियोजनामा अझै संलग्नताको विषयमा पनि देउवासँग सहमति भएको मोदीले बताए। ‘यो प्रसन्नताको विषय हो कि नेपालले आफ्नो सर्पल्स पावर भारतलाई निर्यात गरिरहेको छ। यसले नेपालको आर्थिक प्रगतिमा महत्वपूर्ण योगदान हुनेछ,’ उनले भने। 

नेपालबाट बिजुली आयात गर्नेसहित अन्य कैयौं प्रस्ताव पनि भारतले स्वीकृत गर्ने सहमति भएकोमा उनले खुसी व्यक्त गरे। ‘नेपाल इन्टरनेसनल सोलार एलायन्सको सदस्य बनिसेकको छ। यसले हाम्रो क्षेत्रमा सस्टेनेबल, क्लिनेबल र क्लिन एनर्जीको बढावा दिनेछ,’ उनले भने।  

देउवासँग आफूले व्यापार र सबै प्रकारका क्रस बोर्डर कलेक्टिभिटीको इनिसियटिभलाई प्राथमिकता दिने विषयमा पनि सहमति गरेको मोदीले बताए। ‘जयनगर–कुर्था रेल लाइनको सुरुवात यसकै एउटा भाग हो। दुई देशका नागरिकबीच सुगम, बाधारहित आदानप्रदानका लागि यस्ता योजनाले बृहत्तर योगदान दिन्छ,’ उनले भने। 

उनले नेपालमा रुपे कार्डको सुरुवात दुई देशबीच फाइनाइन्सियल कनेक्टिभिटीमा एउटा नयाँ अध्याय भएको बताए। ‘अन्य परियोजना नेपाल पुलिस एकेडेमी, नेपालगन्जमा इन्ट्रिगेटेड चेकपोस्ट, रामायण सर्किट आदिले दुवै देशलाई अझै नजिक ल्याउनेछ,’ उनले भने।  

नेपाल र भारतको खुला सीमानाको अवाञ्छित तत्वद्वारा दुरुपयोग हुन नदिने विषयमा पनि चर्चा गरेको उनले उल्लेख गरे। ‘आफ्नो रक्षा र सुरक्षा निकायबीच गहन सहयोग बनाइ राख्न पनि हामीले जोड गरेका छौं,’ उनले भने, ‘आजको हाम्रो छलफलले नेपाल–भारत सम्बन्धको भविष्यका लागि महत्वाकांक्षी लक्ष्य निर्धारित गर्नेछ।’ 

उनले समकक्षी देउवालाई बनारस भ्रमणको शुभकामना दिए। नेपाल र बनारसको सदियौं पुरानो सम्बन्ध रहेको काशीमा प्रधानमन्त्री देउवा आइतबार त्यहाँ पुग्दा नयाँ काशीको स्वरूप देखेर जरुर प्रभावित हुने उनको भनाइ थियो। 

देउवाले के भने ?

  • सीमा समस्याबारे हामीबीच छलफल भएको छ। सीमा समस्या संयन्त्रमार्फत समाधान गर्न प्रस्ताव गरेको छु। 
  • चाँदनी दोधारामा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाहको निर्माणमा दुवै देशले ध्यान दिनुपर्छ। 
  • महेन्द्रनगर, नेपालगन्ज र जनकपुर हुँदै हवाई रुट उपलब्ध गराउन अनुरोध गरेको छु। भैरहवाको गौतमबुद्घ अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि पनि सहयोग गर्न अनुरोध छ।
  •  आगामी मनसुनअघि नेपाललाई १ लाख ५० हजार मेट्रिक टन मल उपलब्ध गराउन आग्रह गरेको छु। 
  • भारतको रुपे कार्डलाई नेपालमा पनि प्रयोगमा ल्याउने निर्णय भएको छ। 
  •  धार्चुला र दार्चुला जोड्ने सवारी गुड्ने पुलको निर्माणमा केही समय पहिले भएको समझदारी कार्यान्वयनबारे कुरा गरेका छौं।

प्रधानमन्त्री देउवाले भारतको आर्थिक रूपान्तरणबाट लाभ लिन नेपाल इच्छुक रहेको बताएको सुनाए। चाँदनी–दोधारामा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह बनाउन छलफल भएको देउवाले बताए। उनका अनुसार नेपालगन्जमा एकीकृत जाँच चौकी निर्माण सम्पन्न गर्ने, भैरहवामा निर्माण अघि बढाउनेबारे भारतसँग छलफल भयो।

महेन्द्रनगर, नेपालगन्ज र जनकपुर हुँदै हवाई रुट उपलब्ध गराउन आफूले अनुरोध गरेको देउवाले बताए। भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सहयोग गर्न पनि अनुरोध गरिएको उनले सुनाए। दुवै पक्ष सडक र रेल जस्ता सम्पर्क सञ्जालसम्बन्धी परियोजनामा थप प्रगति हुनेमा विश्वस्त रहेको उनको भनाइ थियो।

महाकाली नदीमा धार्चुला र दार्चुला जोड्ने पुल निर्माण र नेपालमा मल निर्यात गर्नेसम्बन्धी केही समय पहिले भएको समझदारी कार्यान्वयनबारे पनि छलफल भएको उनले बताए। देउवाले अन्तर्देशीय ऊर्जा व्यापार नेपालको प्राथमिकतामा रहेको बताए। दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने भिजन स्टेटमेन्ट तयार गर्ने भनी भएको सहमतिबाट आफू प्रशन्न भएको उनको भनाइ थियो। उनले भारतलाई जीपी कोइराला श्वासप्रश्वास रोगसम्बन्धी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्न सघाउन अनुरोध गरेको जानकारी दिए।

आफूले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिँदै दुवै देशबीच निरन्तर रूपमा भ्रमणको आदानप्रदान भइरहनुपर्ने उनले बताए। 

जनकपुर–जयनगर रेलमार्ग उद्घाटन

भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले शनिबार हैदरावाद हाउसबाट समकक्षी मोदीसँगै बटन थिचेर जनकपुर–जयनगर रेललाइन उद्घाटन गरेका छन्। दुवै प्रधानमन्त्रीले भर्चुअल रूपमा हरियो झन्डा देखाएपछि जयनगरबाट रेल कुर्थाका लागि गुडेको थियो। अवरुद्ध भएको ८ वर्षपछि ३५ किलोमिटर दूरीमा रेल सञ्चालन भएको छ। भारतको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगरबाट जनकपुर हुँदै बर्दिवाससम्म ६९ किलोमिटर निर्माणाधीन छ। यसका लागि भारतले ८.७७ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ।

दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा बटन थिचेर सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको उद्घाटन गरेका छन्। भारतीय एक्जिम बैंकको सहुलियत ऋणमा नेपालले निर्माण गरेको ९० किलोमिटर लामो प्रसारणलाइनले सोलुखम्बु, ओखलढुंगा, खोटाङवासी प्रत्यक्ष लाभान्वित हुने जनाइएको छन्। यसमा ३०२ वटा टावर छन्। 

उनीहरूले रुपवे कार्डको पनि बटन थिचेर उद्घाटन गरको छन्। त्यस्तै भूकम्पपछि पुनर्निर्मित १३२ स्वास्थ्य चौकी भारतले हस्तान्तरण गर्‍यो। यसअन्तर्गत गुल्मीमा सबैभन्दा ठूलो अस्पताल स्थापना भएको जानकारी दिइएको थियो।

नेपाल–भारत ४ सम्झौता

प्रधानमन्त्री देउवाको भ्रमणमा नेपाल र भारतबीच चारवटा सम्झौता भएको छ। हैदरावाद हाउसमा दुई प्रधानमन्त्रीबीचको द्विपक्षीय वार्तामा रेलवेसम्बन्धी प्राविधिक सहयोग, अन्तर्राष्ट्रिय सोलार एलाइन्स, पेट्रोलियम पदार्थको सहज आपूर्ति, नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्राविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

देउवाले शनिबार बिहान राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा माल्यार्पण गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.