पोल आयो, तार आयो तर बिजुली आएन
डडेल्धुरा : डडेल्धुराका ग्रामिण क्षेत्रका मानिसमा बिजुली बालेर घर उज्यालो बनाउने आशमा छन् । पोल गाढेको वर्षौ बितिसक्दा पनि ग्रामिण क्षेत्रमा बिजुली बल्न सकेको छैन । जिल्लाका विभिन्न क्षेत्रमा करेन्टविनाको विद्युतलाइन विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले ग्रामिण क्षेत्रमा विद्युत विस्तारका लागि आर्थिक वर्ष २०७४ र ०७५ मा करिब १२ सय बढी पोल वितरण गरेको थियो । तर ति पोल मात्रै गाढिए लाइन विस्तार हुन सकेन् । गाउँगाउँमा पोल गाडिएका छन् ।
तारविनाको विद्युत विस्तार भएको छ । नवदुर्गा गाउँपालिका १ को लेकाली वस्तीमा पनि पोल गाडेको पाँच वर्ष भयो । तर लाइन जोड्न सकेको छैन । विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले गाउँगाउँमा पोल पुर्यायो तर कुनै पनि गाउँमा राम्रोसित काम सम्पन्न हुन सकेन । नवदुर्गा , भागेश्वर, आलिताल, परशुराम, अमरगढी लगाएतका पालिकाका ग्रामीण क्षेत्रसम्म पोल पुर्याउने मात्रै काम भएन गाड्ने काम पनि सम्पन्न भएको छ । तर तार विछ्याइ बिजुली बलेको छैन । स्थानीय भन्छन्,' बिजुल चाँडै बल्नुपर्छ ।
बिजुली बाल्ने धोको अधुरै रहेको नवदुर्गा गाउँपालिका १ का लेकाली बस्तीका उपभोक्ताले बताए । 'घर आगाडि पोल गाढेको पाँच वर्ष पुग्न थाल्यो तर बिजुली बल्न सकेका छैन, उपभोक्ता प्रेम बुढाऐरले भने,' बिजुलीको आशमा सोलार बत्ती पनि जडान गरेन, अहिले आएर बालबालिका र रातको समयमा घरबाहिर निस्किन मुस्किल हुन्छ ।'
त्यसैगरी तारसहितको विद्युत विस्तार भएका ठाउँमा पनि लाइन जडान नहुँदा स्थानीय पीडित बनेका हुन् । जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं ५ को उकलीमा पोल र तार समेत विस्तार गरिएको छ । तर विद्युत लाइन(करेन्ट) छोडिएको छैन स्थानीय नरबहादुर साउदले जानकारी दिए ।

उकली गाउँका करिब दर्जन बढी घरधुरीले बिजुली बाल्नका लागि घरमा विद्युत वाइरिङ पनि गरिसकेको जनाए । धेरै ठाउँमा पोल र लाइन पनि विस्तार गरिएको छ। तर बिजुली लाइन नछोड्दा बत्ती बलेको छैनन् । यो समस्या नवदुर्गाको मात्रै होइन जिल्लाका अधिकांश गाम्रीण क्षेत्रमा पोल छन् लाइन छैन । कतिपय स्थानमा दुवै छन् ।तर, जीर्ण छ । मर्मत हुन सकेको छैन ।
जिल्लाका विभिन्न दुर्गम क्षेत्रमा पोल छन् । तार छैनन् । सर्वसधारण बिजुली बाल्ने आसमा छन् । तर ठेकेदार र कार्यालयले लाइन तान्ने विषयमा चासो नदेखाउँदा विस्तार हुन नसकेको उपभोक्ताको गुनासो छ । बिजुली बाल्ने धोखो पालेर स्थानीय बसेका छन् तर कार्यालयले चासो नदेखाएपछि उनीहरु दुखी छन् ।
भागेश्वर गाउँपालिकाको सतिगाउँमा पनि करिब वर्ष दिन आगाडि विद्युत पोल गाढिएका थिए । माथि (अर्थमन्त्रालय) बाट बजेट विनियोजित हुन नसक्दा विस्तार हुन नसकेको गाउँपालिकाले जनायो । धेरै ग्रामिण क्षेत्रमा पुराना काठका पोलका कारण विद्युत लाइन जीर्ण छन् ।विद्युत प्राविधिकरणको कार्यालयमा खबर गर्दा कुनै सुनाइ हुँदैन, मर्मत समेत गर्न आउँदैन्न अजयमेरु गाउँपालिका १ का वार्ड अध्यक्ष दत्तिसिंह भण्डारीले बताए । वर्षदिन अगाडि मात्रै अजयमेरु १ मा विद्युत लाइनले छोएको रुखमा नजानी घाँस काट्न जाँदा एक किशोरीको ज्यान समेत गुमाउनु परेको अध्यक्षले जानकारी दिए । 
लाइन मर्मत सुधारका लागि धेरैपटक मौखिक खबर गर्दा सरोकारवालालले ध्यान नदिएको स्थानीय बताउँछन् । पटकपटक गरी लाइन मर्मत र काठका पोलबाट स्टिलपोलमा तार सार्नका लागि अनुरोध गर्यौ|, तर केही चासो नदिएको ग्रामीण क्षेत्रका उपभोक्ताको भनाइ छ ।
कार्यालय प्रमुखलाई समेत ग्रामिण क्षेत्रको जीर्ण हुँदै गइरहेको विद्युत लाइनका बारेमा जानकारी गराउँदा समेत लाइन मर्मत हुन नसकेको स्थानीय बताउँछन् । जिल्लाका प्राय क्षेत्रमा विद्युतीकरण पहिले नै भएको भएपनि बस्तीबाट टाढा सरेका दुर्गम लेकाली क्षेत्रमा विद्युती करण विस्तार हुन सकेको छैन ।
यसबारेमा विद्युत प्राधिकरणका कार्यालय प्रमुखले भने विद्युत तारका कारण समस्या आएको जनाएको छ । तार आएको छैन, लाइन विस्तार गर्नमा समस्या भयो, कार्यालय प्रमुख रामदिनेशराय यादवले अन्नपूर्णलाई बताए। । विद्युत प्राधिकरणका प्रमुखलाई तार कहिले आउने र लाइन विस्तार गर्ने भन्ने विषयमा कुनै जानकारी नआएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !