नेपालमा भारतको ‘रुपे’ कार्ड

नेपालमा भारतको ‘रुपे’ कार्ड

काठमाडौं : नेपालमा हालसम्म इस्यु गर्न अनुमति पाएका अन्तर्राष्ट्रिय स्तरका भिसा, मास्टर कार्ड र यूपेआई कार्ड मात्र प्रचलनमा थिए। तर, अब भारतको ‘रुपे’ कार्ड पनि प्रचलनमा आएको छ। 

नेपाल राष्ट्र बैंकले यो कार्ड प्रयोगमा ल्याउन नेपाल एसबीआई बैंकलाई गत चैत्र १७ गते नै अनुमति दिएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा जाने यो एक एजेन्डा पनि थियो।  यसैले जानु अगाडि नै नेपाल एसबीआई बैंकले यसको अनुमति मागेका थिए। यसैले प्रधानमन्त्री देउवाको तीनदिने भारत भ्रमणको क्रममा भारतीय कार्ड ‘रुपे’ नेपालमा प्रयोगमा ल्याउन सम्झौता गरे। गत शनिबार एक कार्यक्रममा प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा रुपे कार्डको सेवा सुविधा नेपालबाट दिन उद्घाटन गरेका थिए। यसैक्रममा भारतीय प्रधानमन्त्री मोदीले सो कार्ड प्रयोगले भुक्तानीमा सजिलो बनाउने बताएका थिए। 

यो कार्डको प्रयोग नेपाल आएका भारतीय नागरिकले नेपाल एसबीआई बैंकको पोस (पीओएस) र एटीएमबाट मात्रै गर्न सक्छन्। उक्त कार्ड प्रयोग गर्न भारतमा घोषणा गरेसँगै नेपालमा प्रयोगमा ल्याइएको नेपाल एसबीआई बैंकका एक अधिकारीले जानकारी दिएका छन्। 

‘रुपे’ भारतको ‘नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)’को स्वामित्वमा रहेको कार्ड हो। यो भारत सरकारले प्रयोगमा ल्याएको डिजिटल कार्ड हो। एनपीसीआईले जारी गरेको यो कार्डलाई भारतका बैंकहरूले इस्यु गर्छन्। सोही कार्ड अहिले नेपालमा पनि चल्ने व्यवस्था गरेको नेपाल राष्ट्र बैंक भुक्तानी व्यवस्थापन विभागका निर्देशक निश्चल अधिकारीले बताए। ‘हालसम्म विदेशीले भिसा, मास्टर कार्ड र चाइनाको यूपेआई ल्याएर आउँदा नेपालका जुनसुकै बैंकको एटीएम र पोस मेसिन (पीओएस–पोइन्ट अफ सेल्स) मा चल्छ।

नेपालबाट पीएसओ अनुमति भएका चल्छन्। साथै सम्झौता भएका अरू कार्ड पनि चल्छन्। यसैगरी अब रुपे पनि चल्छ। तर, यो हालसम्म नेपाल एसबीआई बैंकको छ,’ निर्देशक अधिकारीले अन्नपूर्णसँग भने, ‘अब भारतीय पर्यटकले भारतीय बैंकले जारी गरेको रुपे कार्डबाट चल्ने भएपछि नगद लिएर आउनु पर्दैन। किनभने एसबीआई बैंकको एटीएमबाट नगद झिक्न सकिन्छ र एसबीआईको पोस मेसिनमा कार्ड स्वाइप गरेर भुक्तानी गर्न सकिन्छ।’ 

उनले अरू बैंकको मेसिनबाट नहुने कारण दर्शाउँदै भने, ‘रुपेले अरू बैंकको मेसिनबाट पनि कारोबार गर्न नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाले अनुमति दिन सम्झौता गर्नुपर्छ। यो व्यवस्थाले भुक्तानीमा सुविधा ल्याएको छ। भारतीय नागरिकले नगद बोकेर नेपाल आउनुपर्ने झन्झट कम हुने भयो। नेपालमा भारतीय रुपैयाँ विद्युतीय माध्यमबाटै जम्मा हुने छ।  

  •     भारतीय पर्यटकलाई डिजिटल भुक्तानीमा सहज
  •     नेपाल एसबीआई बैंकको एटीएम र पीओएसमार्फत् कारोबार
  •     नेपालले पनि राष्ट्रिय कार्ड ल्याउन थाल्यो प्रारम्भिक चरणको काम

भारतीय रुपैयाँ नगदको रूपमा खुल्ला रुपमा कारोबार गर्न पाइँदैन। १०० भारुभन्दा बढी रुपैयाँका नोट चलनचल्तीमा गैरकानुनी मानिन्छ। भारतमा २ सय, ५ सय र २ हजारका नोट चल्छन्। नेपाल आउँदा पनि ठूला दरको नोट ल्याउथे तर यो नेपाल राष्ट्र बैंकले, प्रहरी प्रशासनले थाहा नपाउने गरी यस्ता नोट चलिरहेका हुन्थे। अब भने यस्ता अनौपचारिक रूपमा भारु बजारमा नआउने नेपाल राष्ट्र बैंकका भुक्तानी व्यवस्थापन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलको भनाइ छ। उनका अनुसार यसैले पनि अब रुपे नेपालमा प्रयोग गर्न पाएपछि भारतीय नागरिकलाई धेरै सहज हुनेछ।

‘अब रुपेबाट डिजिटल भुक्तानी हुने भएपछि नोटको कुरा आउँदैन। भारतीय पर्यटनलाई यसले धेरै सहज हुन्छ,’ उनले भने। रुपे भारतभर चल्ने राष्ट्रिय कार्ड हो। भारतमा भुक्तानी प्रणालीलाई एकीकृत गर्न यस्तो कार्ड ल्याइएको हो। एसबीआईलगायतका बैंकहरूमा रुपे कार्डहरू जारी गरिएको छ। भारतको प्रधानमन्त्री जनधन योजनाअन्तर्गत खोलिएका खाताहरूमा रुपे कार्ड अनिवार्य रूपमा जारी गरिएको छ। नेपालले पनि यस्तै खालको राष्ट्रिय कार्ड ल्याउन खोजेको छ। राष्ट्र बैंकका भुक्तानी व्यवस्थापन विभागका कार्यकारी निर्देशक अधिकारी नेपालको आफ्नै कार्ड जारी गर्नको लागि प्रारम्भिक चरणको काम भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.