मृतकका परिवारलाई दुई लाख दिने सहमतिपछि परियारको शव बुझियो
गोरखा : कुटपिटबाट मृत्यु भएकी गोरखा नगरपालिका वडा नं. ११ बारकिलोकी फूलमाया परियारको शव आफन्तले बुझेका छन्। कुटपिट गर्ने पक्षले परियारको परिवारलाई दुईलाख रुपैयाँ दिएपछि शव बुझेको हो। कोकाकोला चोरेको आरोपमा कुटपिट गर्ने सोही ठाउँकी दुर्गा आलेले दुईलाख रुपैयाँ तिरेको मृतकका भाइ धनबहादुर परियारले जानकारी दिए ।
'उहाँहरुले दुई लाख रुपैयाँ तिर्नुभयो । हामीले शव बुझेर ल्यायौँ र सतगत गर्यौं,' उनले भने, 'प्रहरीमा पनि गएनौँ । मुद्दामामिला पनि गरेनौं।' बारकिलो बजारको सार्वजनिक सौचालय सरसफाइको काम गर्दै आएकी ३६ वर्षीया परियारको गत मंगलबार भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
गत हप्ताको बिहीबार उनकी सात वर्षकी छोरी वर्षा परियारले कोकाकोला चोरेको आरोपमा आलेले बालिकालाई कुटेको र सोही विषयमा फूलमायामाथि पनि कुचोले कुटपिट गरेको भाइ नाता पर्ने अर्का विकास परियारको भनाइ छ । कुटपिटको घटनापछि परियार सिकिस्त बिरामी भइ गोरखा अस्पताल र त्यसपछि भरतपुर अस्पतालमा उपचाररत थिइन् । 'गोरखा अस्पतालले मृगौला लगायतका भित्रि अंगले काम नगरेको र डब्लुबीसीले काम नगरेको भन्दै भरतपुर रेफर गरेको रहेछ,' प्रहरी निरीक्षक रामजी देवकोटाले भने ।
भरतपुर अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा पनि आन्द्रा प्लाल परेको, मृगौला र कलेजोले काम नगरेको उल्लेख रहेको परियारले बताए । कुटपिटबाटै मृत्यु भएको हुनसक्ने आरोपमा स्थानीयबासीले बुधबार रातभर बारकिलो प्रहरी चौकीमा नाराबाजी र घेराउ गरेका थिए ।
तर बिहीबार दिउँसो कुटपिट गर्ने पक्ष र मृतकका आफन्तहरु बीच छलफल हुँदा दुईलाख रुपैयाँ लेनदेनमा समझदारी भएको मृतकका आफन्तले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस !