गठबन्धनमा भागबन्डा मिलाउन सकस
![गठबन्धनमा भागबन्डा मिलाउन सकस](https://annapurnapost.prixacdn.net/media/albums/gathabandhan_20220412154405_11Hsl3PlvC.jpg)
जाजरकोट : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रीय सर्कुलर अनुसार सत्ता गठबन्धनका दलबीच चुनावी तालमेल गर्ने सैदान्तिक सहमति गरेका जाजरकोटका चार राजनैतिक दलबीच भागबन्डाको विषय भने पेचिलो बन्दै गएको छ। जाजरकोटमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा समाजबादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएपनि भागबण्डा कसरी मिलाउने भन्ने सकस परेको छ।
२०७४ सालमा सात स्थानीय तह मध्य तीन एमाले, दुई कांग्रेस र दुई माओवादी केन्द्रले जितेका थिए। जितेका आफैंले राख्दा पनि एमालेले जितेका तीन पालिकामा काँग्रेस र माओवादी केन्द्रबीच भागबन्डामा तानातान पर्ने देखिन्छ। कांग्रेसले पाँच, माओवादी केन्द्रले पाँच र नेकपा समाजवादीले एक पालिका दावी गरेका छन्। काँग्रेस जितेका बाहेक सवै ठाँउमा निकटतम प्रतिद्धन्दी छ। दुई सयदेखि हजार मतको अन्तरमा काँग्रेसका उम्मेदवार पराजित भएका थिए। यस हिसावले पनि काँग्रेसले पाँच पालिका पाउनुपर्ने अडानमा रहेको पार्टी सभापति वेदराज सिंहले बताए।
माओवादीले पाँच दावी गरेपनि काँग्रेसलाई चार र आफूलाई तीन पालिका राख्न चाहेको छ। तर समाजवादीले कुनै पनि हालतमा एक पालिका आफूहरुको हुनुपर्ने अडानमा भएपछि भागबण्डामा सकस परेको हो। हामी एक्ला एक्लै चुनाव लड्दा पनि सबैपालिका जित्न सक्ने बलियो सम्भावना छ यद्यपी काँग्रेसको केन्द्रीय सर्कुलर अनुसार गठबन्धन गर्ने कुरामा हामी बाधक छैनौं तर काँग्रेसको यसपटकको बढ्दो जनमत, २०७४ सालको मतसवै कुरालाई मध्यनजर गर्दा पाँच भन्दा तल झर्ने पक्षमा नरहेको सभापति सिंहले बताए।
त्यस्तै माओवादीले पनि आफ्नो प्रभाव क्षेत्र रहेको भन्दै ‘गिभ एण्ड टेक’को निति अनुसार गठबन्धन गर्ने निर्णय गरेको छ। माओवादी केन्द्रका नेता रामदीप आचार्यले गठबन्धन भए काँग्रेस र माओवादी दुवैलाई फाइदा हुने भएकोले मिलेर जान आग्रह गरे। जिल्लास्तरबाट नमिले माथिल्लो निकायबाटै भएपनि भागबण्डा मिलाउनु पर्ने केही नेताहरुको धारणा छ।
पार्टीहरुले वडादेखि गाँउ नगरसम्म उम्मेदवारहरुको नामावली चैत्र मसान्तभित्र पठाउन निर्देशन दिईसकेका छन्। वडादेखि पालिकासम्म आकाङ्क्षी धेरै देखिएका छन्। गठबन्धन हुने कुराले धेरै नेता तथा कार्यकर्ता उत्साहित पनि छन् भने केही ससंकित समेत छन्। गठबन्धन भए ढुक्कसँग जितिने भएकोले आफ्नो पालिकामा भाग पार्न र टिकट हत्याउन धेरै नेताहरु लागिपरेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)