लाप्राकमा बैशाख ५ गतेदेखि तीन दिने ग्रामीण चलचित्र महोत्सव
गोरखा : गोरखाको दुर्गम लाप्राक गाउँमा ग्रामीण चलचित्र महोत्सव हुने भएको छ। सेलिब्रेटी नेपालले आउँदो बैशाख ५ गतेदेखि तीनदिने ग्रामीण चलचित्र महोत्सव आयोजना गर्न लागेको हो।
महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक चलचित्र, वृत्तचित्र, सर्टमुभी र फिचर फिल्म प्रदर्शन गर्ने आयोजक संस्थाका रघुनाथ सापकोटाले जानकारी दिए । तीन दिनको अवधिमा ३५ वटा चलचित्र प्रदर्शन गरिने उनले बताए।
‘एउटा ग्रामीण भेगका अर्को ग्रामीण भेगमा बनेका चलचित्र प्रदर्शन गर्दा त्यस्ता चलचित्रको प्रवद्र्धन हुने हाम्रो विश्वास छ’, सापकोटाले भने, ‘त्यसैले हामीले तराईका गाउँमा बनेका चलचित्र पहाडी, हिमाली गाउँहरुमा देखाउने, पहाडी गाउँमा बनेका चलचित्र तराई तथा हिमाली गाउँहरुमा देखाउँदैछौँ।’ साथै गाउँका स्थानीय दन्त्यकथाहरु सुन्ने कार्यक्रम पनि राखिने उनले बताए।
चलचित्र महोत्सवको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा धार्चे ४ का वडाअध्यक्ष राज गुरुङले लाप्राक र यस आसपासमा स्थानीय भाषाका धेरै चलचित्र निर्माण तथा सुटिङ भएको भन्दै ग्रामीण चलचित्र महोत्सव आयोजना गरेपछि झन यसको विकास हुने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस !