गोरखामा कांग्रेस, माओवादी गठबन्धनको विकल्प छैन
गोरखा : दुवै पार्टीका कार्यकर्ता तहबाट चुनावी तालमेलका विषयमा तीव्र असन्तुष्टि र आलोचना भइरहेको बेलामा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज कृष्ण धितालले कांग्रेस र माओवादी केन्द्र बीच चुनावी तालमेल गर्ने विषय अकाट्य रहेको बताएका छन्। दुवै पार्टीले गोप्य रुपमा एमालेसित गठबन्धन गर्न अलग अलग बहश गरिरहेको बेलामा केन्द्र स्तरको संयन्त्रले सत्ता गठबन्धनका दलबाहेक अन्य दलसित चुनावी तालमेल नगर्न निर्देशन गरेपछि अन्य विकल्पहरु समाप्त भएको बताए।
‘गठबन्धनका लागि केन्द्रीय संयन्त्रबाट स्पष्ट आधारसहितको निर्देशन आएको छ। गठबन्धनभित्रै तालमेल गर्ने भन्ने छ’, इन्चार्ज धितालले भने, ‘अब कुन पार्टीलाई कति सिट भन्नेमा छलफल सुरु हुन्छ। एकदुई दिनमा घनिभूत रुपमा छलफल गरी यो विषय टुंग्याउँदैछौँ।’
कार्यकर्ता तहबाट भने एमालेसँग चुनावी तालमेल गर्न दबाब आइरहेको उनले बताए। ‘विचार मिल्ने दलसित गठबन्धन गर्नुपर्छ भन्ने तर्क कार्यकर्ता तहबाट जोडदार रुपमा आइरहेको छ’, उनले भने, ‘हिजोका दिनमा बाम गठबन्धन गर्दा एक खालको सुमधुर वातावरण बनिसकेको छ। त्यसले पनि सहज हुन्छ भन्ने पनि कार्यकर्ताको तर्क छ। युद्धको समयमा कांग्रेससँगको तिक्तता, गोरखामा माओवादी र कांग्रेस एक अर्काका मुख्य प्रतिस्पर्धी भएकाले तालमेल तेस्रो शक्ति एमालेसित गर्नुपर्छ भन्ने कार्यकर्ताको दबाव छ।’
तर सत्ता गठबन्धनबाहेकका दलसित तालमेल गर्ने सम्भावना समाप्त भइसकेको उनले बताए। कार्यकर्ता तहमा रहेको असन्तुष्टि मेटाउन गठबन्धन दलका नेताहरु संयुक्त टोली बनाएर घरदैलो गर्नुपर्ने उनको भनाइ छ।
‘कार्यकर्तालाई यो विषय बुझाउन केही समय लाग्न सक्छ’, इन्चार्ज धितालले भने ‘हामी गठबन्धनका दलहरु संयुक्त रुपमा टोली बनाएर प्रचार प्रसार गर्ने, अभियान चलाउने, भोट हाल्न सिकाउने गर्छौं, र कार्यकर्तालाई बुझाउँछौँ।’
गठबन्धनभित्रका जनता समाजवादी र नेकपा एकीकृत समाजवादीलाई पनि यथोचित सिटसहित सँगै लैजाने योजनामा रहेको उनले बताए। ‘यहाँ मात्र हेरेर भएन, केन्द्रको सत्तामा पनि गठबन्धनका दलहरु सबैको भूमिका महत्वपूर्ण छ, त्यसैले दलको स्तरअनुसार तालमेल गर्ने र सबैलाई सँगै लैजाने गरी छलफल गरेका छौँ।’ अहिलेको गठबन्धनले भोलि बन्ने सरकारलाई पनि ध्यान दिनुपर्ने बताउँदै उनले स्थानीय तहको चुनावलाई मात्र हेर्न नहुने बताए।
कार्यकर्ताले पनि गठबन्धनको विषयलाई बुझ्नुपर्ने र निर्देशन विपरित जानेलाई पार्टीले कारबाही गर्नुपर्ने अवस्था आउने नेकपा माओवादी केन्द्रका इन्चार्ज कृष्ण धितालले बताए। गठबन्धन हुने भएपछि पार्टीभित्र आकांक्षी भने धेरै देखिएको उनले बताए। ‘टिकट पाएपछि निश्चित रुपमा चुनाव जितिन्छ भन्ने छ। अहिले पार्टीभित्रै उम्मेद्वार धेरै हुँदा समस्या भएको छ।’ माओवादी कांग्रेस लगायतका दलहरु बीच चुनावी तालमेल हुँदा गोरखामा जित्ने ग्यारेन्टी हुने र आकांक्षी पनि बढ्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस !