वालिङ्मा ‘कोशेली घर’ संचालनमा
स्याङ्जा : वालिङ् नगरपालिकाले ‘कोशेली घर’ सञ्चालनमा ल्याएको छ। स्थानीय उत्पादनको संवर्द्धन र बजारीकरण गर्ने उदेश्यले नगरपालिकाले कोसेली घर सञ्चालनमा ल्याएको जनाएको छ।
नगरपालिकाको कार्यालय परिसरभित्र घर निर्माण गरिएको छ। कोशेली घरमा नगरका १४ वटै वडाका स्थानीय उत्पादनलाई प्राथमिकताका साथ राखिएको नगरप्रमुख दिलिपप्रताप खाँणले जानकारी दिए।
यहाँ हातले बुनेका स्वीटरलगायत, तानमा निर्मित कपडा, सिलाइएका कपडाहरु, चुरापोते लगायतका श्रृंगारिक गरगहना, गुडियालगायत विभिन्न प्रकारका दैनिक उपयोगी तथा सजावटका सामाग्री राखिएका छन्। खाद्य तथा तरकारी र मासुजन्य उत्पादनको ब्यवस्थापन भने वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गर्दै आएको छ।
स्थानीयले सामूहिक वा ब्यक्तिगतरुपमा स्थानीय स्रोत र साधनको प्रयोगगरी उत्पादित सामाग्री यहाँ राखेर बिक्री बितरण गर्न सक्नेछन्। पालिकाले पनि उद्यमशीलतालाई प्रवर्द्धन गर्ने आवश्यकता अनुरुपका तालिम तथा आर्थिक सहयोग गर्दे आएको जनाएको छ।
अधिकांश शिसाको प्रयोगबाट बनाईएका कोसेली घरमा राखिएका ती सामाग्रीमा उत्पादन गर्ने ब्यक्तिको नाम, सम्पर्क नं. र वस्तुको मुल्यसूचिसमेत उल्लेख गरिएको छ।
कोशेली घरमा स्वस्तिका बैद्धिक हस्तकला उद्योगकी सञ्चालक दुर्गा न्यौपानले समन्वय गर्दे आएकी छन्। उनले भनिन्, ‘कोशेली घर स्थापना हुदाँ आफूजस्तै धेरै हस्तकला ब्यवसायीमा नयाँ जोश, जाँगर र आशा पलाएको छ। आउदा दिनहरु हाम्रा लागि सुखद हुनेछन्।’
यहाँ राखिएका सामग्रीहरुको अध्ययन अवलोकन गर्ने र देखासिखी गर्नेहरुका संख्या दिनप्रतिदिन बढेको छ। अवलोकनकर्ताले मन परेका सामग्रीहरु किन्न सक्ने र उद्यमीले उत्पादित सामाग्री यहाँ राखेर बिक्री गर्न सकिने पालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !