गठबन्धनको अन्योलताले गर्दा गाउँमा चुनाव आएन
गोरखा : लामो समयदेखि चुनावी गठबन्धनबारे टुंगो नलाग्दा निर्वाचन नजिकिँदा पनि गाउँघरमा चुनावी माहोल बन्न सकेको छैन । ‘माथिकै मुख ताकेर बस्दा’गाउँमा अझैसम्म चुनावी गतिविधि सुनसान भएको स्थानीय नेता कार्यकर्ता बताउँछन् ।
सत्ता गठबन्धनका केन्द्र तहका नेताहरुले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने भनेर निर्णय गरे पनि गोरखामा कार्यान्वयन हुन सकेको छैन । अघिल्लो चुनावमा नौ वटा पालिका जितेकाले अहिले पनि नौवटै पालिकाको प्रमुख आफूले पाउनु पर्ने कांग्रेसका दाबी छ । जिल्लाभरको कूल मत झण्डै बराबरी भएकाले पालिकाको नेतृत्व पनि बराबरी पाउनु पर्ने भन्ने माओवादी केन्द्रको दाबी छ । दुवै दलको अडानका कारण गोरखामा गठबन्धन गर्ने वा नगर्नेबारे अहिलेसम्म निश्चित हुन सकेको छैन ।
‘गाउँघरमा त के चुनाव आउनु नि ? गठबन्धन बन्ला कि भत्केला भनेर माथिको मुख हेरेर बस्नु परेको छ’, माओवादी केन्द्रका सिरानचोक गाउँपालिका अध्यक्ष नवराज पुडासैनी गुराँस भन्छन्, ‘नत्र यतिबेला उम्मेद्वार चयन भइसकेको हुन्थ्यो । पार्टीका नेता कार्यकर्ता आमसभा, कोणसभा गर्दै गाउँगाउँ लस्करका लस्कर हिँडेका हुन्थे । अहिले सुनसान छ ।’ गठबन्धन हुने भए संयुक्त टोली बनाएर एउटा जोशले घरदैलो हुने गथ्र्यो । नहुने भए आफ्नै किसिमले कार्यक्रम लिएर हिड्नु पाइन्थ्यो । तर चुनाव आउन २५ दिन बाँकी हुँदासम्म पनि अन्यौलता छ । गाउँका नेता कार्यकर्ता निराश भएको उनको भनाइ छ । अहिले एकजना उम्मेद्वारका लागि भोट माग्यो, भोलि गठबन्धन भयो र अर्को उम्मेद्वार भयो भने कसरी मुख देखाउनु जानु भनेर चुपचाप बसेको उनको भनाइ छ ।
मकै गोड्दै चुमनुब्री गाउँपालिका ५ बिहीका स्थानीय ।
भीमसेनथापा गाउँपालिकामा पनि अहिलेसम्म चुनावी उत्साह छैन । ‘फागुन २० गतेतिर एउटा गतिमा चुनावी माहोल अघि बढेको थियो तर जब केहीदिनअघि जुनकुनै हालतमा गठबन्धन गर्नुपर्ने भनेर केन्द्रीय संयन्त्रबाट परिपत्र आयो, त्यसपछि सबै गतिविधि सुन्यमा झर्यो’ नेपाली कांग्रेसका पालिका सभापति नारायण भट्टराई भन्छन्, ‘परिपत्र आएको पनि यत्तिका दिन भइसक्यो, तर जिल्लास्तरमा न गठबन्धन गर्ने भनेर निश्चित भएको छ, न तोड्ने भनेर । अन्योलै अन्यौलमा धेरै दिन बितिसक्यो ।’ एक्लै अघि बढ्ने कि मिलेर बढ्ने भन्ने निश्चित नहुँदा आफ्नै तबरले घोषणा पत्र तयार गरेर अघि बढ्न पनि नपाएको, संयुक्त टोली बनाएर अघि बढ्न पनि नपाएको उनको गुनासो छ ।
बारपाक सुलीकोटमा पनि चुनावी माहोल जमेको छैन । पालिकास्तरका नेताहरु सामान्य रुपमा घरदैलो गर्दै हिडिरहेको माओवादीका पालिका प्रमुख नरबहादुर गुरुङ बताउँछन् । ‘हामी हात बाँधेर त बसेका छैनौँ । हल्काफुल्का रुपमा घरदैलो गरिरहेका छौँ’, उनले भने, ‘पछि गठबन्धन भयो र पालिका अर्कै पार्टीको हातमा पुग्यो भने जो पनि उम्मेद्वार हुनसक्छ भन्दै सामान्य प्रचारप्रसार गरिरहेका छौँ ।’
जिल्लास्तरमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयले निश्चित आकार नलिँदा अजीरकोटमा पनि चुनावी लहर छैन । नेपाली कांग्रेसका सो पालिका प्रमुख जंगबहादुर गुरुङ भन्छन्, ‘अघिल्ला चुनावहरु जस्तो भए भए डेढ, दुई महिना अघि नै टिकटको फाइनल भइसक्थ्यो । यतिबेला त झण्डा, घोषणापत्र बोकेर आमसभा, कोणसभा गर्ने, घरदैलो गर्ने हुन्थ्यो । तर अहिले चकमन्न छ ।’ जति छिटो गठबन्धनको टुंगो लाग्यो, उति छिटो गाउँमा चुनावी लहर आउने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !