यसरी गरौं मुटुको सुरक्षा
मोटोपनलाई ‘खाइलाग्दो ज्यान’ भन्ने जमाना अब रहेन। अचेल धेरैको समस्या मोटोपन नै छ। चुस्त शरीर सबैको आकर्षण बन्छ र रोगका लागि शत्रु।
मोटोपनले विभिन्न देखिने रोग मात्रै लगाउँदैन मुटुमा पनि असर गर्ने स्वास्थ्य विज्ञ बताउँछन्। त्यसैले हामीले शरीरका भित्री अंगहरूको हिफाजत गर्न उत्तिकै आवश्यक छ। मुटु महŒवपूर्ण अंग हो। प्रत्येक अंगमा आवश्यक रगतको आपूर्ति गर्ने काम यसले गर्छ। त्यसैले यसलाई स्वस्थ राख्न आवश्यक छ। एक अध्ययनअनुसार पश्चिमी देशहरूको तुलनामा दक्षिण एसियामा बस्ने मानिसहरूलाई १० वर्ष पहिले नै मुटुरोग लाग्ने गर्छ।
कम उमेरमा हृदयघात हुनुमा वंशाणुगत कारणहरू पनि जिम्मेवार छन्। निष्क्रिय जीवनशैली, तनावपूर्ण काम, धूमपान, मदिरापान, चिनीयुक्त खानेकुरा र फास्टफुडको अत्याधिक सेवन यसका अन्य कारण हुन्। अहिलेको तनावयुक्त तथा व्यस्त जीवनमा मुटुलाई कसरी स्वस्थ राख्न सकिन्छ, के गर्दा मुटु बलियो हुन्छ र कस्ता खानेकुराले मुटु स्वस्थ रहन्छ, यसका विषयमा केही उपाय प्रस्तुत गर्दैछौं।
खानामा माछा
माछा प्रोटिनको राम्रो स्रोत हो। अन्य मासुजन्य पदार्थको तुलनामा यसमा स्याचुरेटेड फ्याटको मात्रा निकै कम हुन्छ। माछा ओमेगा फ्याटी एसिडको पनि राम्रो स्रोत हो। ईपीए र डीएचएजस्ता ओमेगा ३ फ्याटी एसिडहरू हाम्रो शरीरका लागि धेरै आवश्यक छन्। किनभने हाम्रो शरीरमा यसको निर्माण हुँदैन। यसलाई खानाको माध्यमबाट नै लिन आवश्यक छ। यसका शाकाहारी स्रोतहरू ओखर, बदाम र सोयाबिन हुन्।
ओमेगा ३ फ्याटी एसिडले शरीर सुन्निन (इन्फ्लेमेसन) कम गर्छ। इन्फ्लेमेसनको कारण रक्तनली क्षतिग्रस्त हुन्छ जसको कारण हृदयरोग वा स्ट्रोकको खतरा बढ्छ। साथै, यसले मुटुको धड्कनको उतारचढावलाई पनि नियन्त्रण गर्छ र मुटुलाई सुरक्षित राख्छ।
हालै १५ सय वयस्क मानिसहरूमा गरिएको एक अध्ययनबाट ओमेगा ३ फ्याटी एसिड मष्तिस्कका लागि आवश्यक भएको पुष्टि भएको छ। अध्ययनअनुसार बच्चामा मष्तिस्कको सही विकासको लागि ईपीए र डीएचए आवश्यक छ। ओमेगा ३ फ्याटी एसिडले एकाग्रता बढाउन र कठिन कार्यहरू गर्ने क्षमता बढाउनमा पनि मद्दत गर्छ।
भोजनमा फ्याट
फ्याट अर्थात् बोसो हाम्रो भोजनको महत्वपूर्ण तत्व हो। यसले हाम्रो खानालाई स्वादिष्ट बनाउनुको साथसाथै तृप्त पनि बनाउँछ। स्वस्थ रहनका लागि असल
फ्याट र खराब फ्याटको अन्तरलाई सही किसिमले बुझ्नुपर्छ।
‘द अमेरिकन हार्ट एसोसिएसन’ले स्वस्थ रहनका लागि खानपानमा खराब –स्याचुरेटेड) फ्याटलाई असल–अनस्याचुरेटेड) फ्याटले विस्थापन गर्ने सल्लाह दिएको छ। राम्रो स्वास्थ्यको लागि हामीले भोजनमा मोनो स्याचुरेटेड वा पोली स्याचुरेटेड फ्याट समावेश गर्नुपर्छ। पोली स्याचुरेटेड फ्याटले रगतमा खराब कोलस्ट्रोलको स्तरलाई कम गर्छ जसका कारण मुटुसम्बन्धी रोगहरू र स्ट्रोकको खतरा कम हुन्छ।
यसरी जोगिने मुटु रोगबाट
मुटुरोगबाट जोगिनका लागि कम उमेरदेखि नै ध्यान पुर्याउनुपर्छ। युवावस्थामा मुटुसम्बन्धी रोग लाग्ने प्रमुख कारण धूमपान वा सुर्ती सेवन हो। यसलाई बन्द गर्न आवश्यक छ। यसबाहेक शारीरिक रुपले आफूलाई सक्रिय राख्नुपर्छ। तौल बढ्न नदिनु पनि उत्तिकै महत्वपूर्ण छ। सफ्ट ड्रिंक्स, प्याकेटका जुस आदिको सेवन पनि गर्न कम गर्नुहोस्। सातामा एक पटकभन्दा बढी फास्टफुड वा प्रशोधित खानेकुराहरूको सेवन नगर्नुहोस्। खानामा फलफूल र हरियो सागसब्जीको मात्रा बढाउनुहोस्। दैनिक एकमुठी बदामको सेवन गर्नाले मुटुको स्वास्थ्य राम्रो हुन्छ। बदामले मुटुलाई स्वस्थ बनाउन आवश्यक मिनरल्स र फ्याटी एसिड प्रदान गर्छ। मुटुलाई सधैं जवान राख्नका लागि मानसिक तनाव कम गर्न पनि आवश्यक छ। यसका लागि योगा, एक्सरसाइज र मष्तिस्कलाई शान्त बनाउने अरू उपाय अपनाउनुहोस्।
(विभिन्न एजेन्सीको सहयोगमा)