अमृता आमा बनेको दिन !
![अमृता आमा बनेको दिन !](https://annapurnapost.prixacdn.net/media/albums/amrita-rao_20220425122859_UeMuGszrly.jpg)
मुम्बई : बलिउड अभिनेत्री अमृता रावले आमा बन्नका लागि धेरै संघर्ष गरिन्। उनको थुप्रै प्रयास धेरै पटक अधुरै भयो। विगत चार वर्षदेखि आमा बन्ने कोशिश गरिरहेकी अमृताले धेरै प्रयासपछि मात्रै मातृबासल्यको अनुभूति गर्न पाइन्।
आफूले आमा बन्नका लागि गरेको संघर्ष र पीडाका बारेमा अमृताले हालै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्। आमा बन्नका लागि उनी ठूल्ठूला डाक्टर कहाँ पुगिन्। आईभीएफ, आईयूआई, होमियोप्याथी हुँदै आयुर्वेदीय पद्धतीबाट पनि उपचार गरिन्। उनले दुई/दुई पटक त आईभीएफ पद्धतीबाट आमा बन्ने कोशिश गरिन्। उनी तेस्रो पटक पनि आईभीएफ नै गर्ने योजनामा थिइन्। शारीरिक अस्वस्थताका कारण उनले तेस्रो पटक आईभीएफ गरिनन्।
अमृता र आरजे अनमोलले बच्चाकै लागि देश विदेशका मठमन्दिर धाए। विभिन्न भाकल पनि गरे। तर, कहिँबाट पनि सफलता हात नलागेपछि उनीहरूले अर्को उपाय रोजे, सेरोगेसी। अमृताले डाक्टरहरूकै सल्लाहमा सेरोगेसी (कोख भाडामा लिने) विधि अपनाएकी थिइन्। तर, त्यसबाट पनि उनी आमा बन्न पाइनन्। सेरोगेट आमाको पेटमै बच्चाको मृत्यु भएपछि उनले मातृ सुख अनुभूत गर्न सकिनन्।
डाक्टरहरूले यो खबर सुनाउँदा अमृता निकै भावुक बनेकी थिइन्। उनको धेरै वर्षको सपना तुहिएको थियो। निकै हतास बनेका दम्पत्ती त्यसपछि बिदा मनाउन थाइल्यान्ड पुग्यो। उनीहरूको भाग्य त्यहीं बदलियो।
थाइल्यान्डबाट स्वदेश फर्किएपछि अमृताले स्वास्थ्य जाँच गराइन्। स्वास्थ्य जाँचको रिपोर्ट हेरेर उनले जीवनकै अपार खुसीको अनुभूति गरिन्। रिपोर्टमा उनी गर्भवती थिइन्। त्यसपछि सन् २०२० नोभेम्बरमा उनले छोरा वीरलाई स्वागत गरिन्। अभिभावक बन्न चाहनेहरूलाई हरेस नखान अमृताले सुझाव दिएकी छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)