देश यथास्थितिमा रहे संकटमा पर्छ : अध्यक्ष लिङ्देन
नुवाकोट : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही स्थितिमा रहे संकटमा पर्ने दावी गरेका छन्। देशमा यही अवस्था रहेमा जनताको पक्षमा कुनै पनि परिवर्तन हुन नसक्ने उनले बताएका हुन्।
नुवाकोटको लिखुस्थित ढिकुरेमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिंदेनले देशमा यही अवस्था रहेमा जनताको कुनै पनि परिवर्तन सम्भव नरहेको ठहर गरे। उनले ठूला दलहरुको अर्कमण्यताका कारण देश अनिर्णयको भुमरीमा फसिरहेको आरोप लगाए।
देशमा परिवर्तनको वहानामा अन्य दलले जनतामाथि शासन गरिरहेको समेत बताए। देशमा राजनीतिक परिवर्तन आए पनि जनताले त्यसको वास्तविक अनुभुति गर्न नपाएको अध्यक्ष लिंदेनको भनाइ छ। अन्य दलहरुले जनताको भन्दा आफ्नो स्वार्थमा लागेका कारण देशमा जनताले आफ्नो पक्षमा केही पनि पाउन नसकेको उनको आरोप छ।
देशमा अब जुनसुकै दलले निर्वाचन जिते पनि मुलुक बन्न नसक्ने समेत उनले चेतावनी दिएका छन्। सत्तारुढ वा प्रमुख प्रतिपक्षी जसले चुनावमा पहिलो स्थान ल्याए पनि देशका जनता भने जस्ताकोतस्तै रहेको अध्यक्ष लिंदेनको आरोप छ।
उनले अब सत्तारुढ कांग्रेस, माओवादी, समाजवादी तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन जिते पनि मुलुक बन्न नसक्ने बताए। लिङ्देनले ठूला पार्टीले देशलाई बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत गरेको र मुलुकका लागि केही गर्न नसकेको भन्दै अब पनि उनीहरुले निर्वाचन जिते मुलुक बन्न नसक्ने आरोप लगाएका हुन्।
उनले असफल भएका दललाई भोट दिएर विजयी गराए मुलुक नै असफलतातर्फ जाने तर्क गरे। तीनै तहको निर्वाचनमा सोचेर भोट दिन नुवाकोटवासीलाई आग्रह गरे।
निर्वाचनमा असल मान्छे र राम्रो पार्टीलाई विजयी नगराएसम्म जनताले दुःख पाइरहने अध्यक्ष लिंदेनले बताए। ‘निर्वाचन त्यस्तो अवसर हो, जहाँ जनताले साँच्चै काम गर्ने मान्छे छान्ने अवसर पाउँछन्,।’
उनले भने, ‘असल नीति भएको पार्टी र नेतालाई विजयी गराए जनतालाई सुख हुने र पैसाको प्रलोभनमा परे वर्षौंसम्म पछुताउन पर्ने बताए।’ राप्रपाले चुनाव जिते कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने पनि लिङ्देनले बताएका छन्।
सोही कार्यक्रममा राप्रपाका पूर्व अध्यक्ष तथा पूर्व अर्थमन्त्रि डा. प्रकाशचन्द्र लोहनीले जनताले दलको नभइ आफ्नो आर्थिक, सामाजिक, शैक्षिक, स्वरोजगारको परिवर्तन चाहेका कारण जनताले पनि निर्वाचनलाई मुलुकको हितका लागि प्रयोग गर्नुपर्ने धारणा राखे।
डा. लोहनीले आफ्नो पार्टीले भ्रष्टाचार गरेर खानु आमाको रगत खाए सरह हुने बताउँदै ५ वर्षमात्रै देशको नेतृत्व पाए मुलुकको मुहार फेर्ने दावी गरे। उनले देशमा मोहीलगायतका भूमी समस्याको समाधान राप्रपाकै सरकार हुँदा सुरु गरिएको दावी गरे।
राप्रपाबाट स्थानीय तहमा उम्मेदवार भएकाले भ्रष्टाचार नगर्ने कसम खुवाएर मात्रै टिकट दिइएको बताएका छन्। ‘हाम्रा उम्मेदवारहरुलाई भ्रष्ट्राचार नगर्ने प्रतिबद्धता जनाएर मात्रै टिकट दिइएको उनले बताए।
सोही कार्यक्रममा राप्रपाका उपाध्यक्ष वुद्धिमान तामाङले परिवर्तनको आडमा देशमा बढ्दो कागजी हिसाव मिलानको भ्रष्टाचारले देश बर्बाद भएको बताए। राप्रपाले भ्रष्टाचार शून्यमा झार्ने र जनताका पक्षमा काम गर्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !