कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

राजविराज : नेपाली कांग्रेस र नेकपा (एमाले) कार्यकर्ताबीच सप्तरीमा झडप हुँदा दुबै पक्षका ५ जना घाइते भएका छन्।
अग्नीसाइर कृष्णसवरन गाउँपालिका–६ मोहनपुरमा शुक्रबार राति भएको झडपमा एमालेका तीन जना र कांग्रेसका २ जना घाइते भएको उक्त पार्टीहरुले जनाएको छ। झडपमापरी एमाले कार्यकर्ता ५५ वर्षीय टिकाराम अधिकारी, २६ वर्षीय सुमन परियार र एक महिला घाइते भएको एमालेतर्फबाट वडा अध्यक्षका उम्मेदवार कुसुम आचार्यले बताइन्। घाइते अधिकारीको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
यसैगरी कांग्रेसका ४५ वर्षीय धनबहादुर राई र ३२ वर्षीय अतिफ वासिममाथि खुकुरी प्रहार गरी घाइते बनाएको कांग्रेस सप्तरीको १ नम्बर क्षेत्रीय सचिव दुर्गा भट्टराइले बताए। सुकुम्बासी टोल पुगेका एमालेका कार्यकर्ता उज्वल अधिकारी र कांग्रेसका कार्यकर्ता धनबहादुर राईबीच सुरुमा वादविवाद बढेर झगडा भएको थियो। विवाद बढेपछि प्रहरी पुगेर विवादलाई सामान्य बनाएर घर पठाएको महुली प्रहरीले जनाएको छ।
बजारबाट मोटरसाइकलमा पुगेका कांग्रेसका कार्यकताहरुले उज्जवललाई नभेटेपछि राति ११ बजे घरमा सुतिरहेका उज्जवलको बुवा टिकालाई दाउराको चिर्पटले टाउकोमा प्रहार गरेर घाइते बनाएको पीडितकी पत्नी सीताले बताए। गाउँलेहरुले थाहा पाएर प्रतिकार गरेपछि उनिहरु भागेको घाइते टिकारामका छोरा उज्वलले बताए।
बुवा बेहोस भई ढलेको सुनेर आक्रोशित बनेका उज्जवल अधिकारीको समूहले कांग्रेस कार्यकर्ताहरुलाई आक्रमण गरेको स्थानीयवासीले बताएका छन्। यसै क्रममा राई र वासिमको कुम र कुहिनामा खुकुरीले काटिएर घाइते भएका छन्। घाइतेहरुको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको कांग्रेस सप्तरीका १ नम्बर क्षेत्रिय सचिव दुर्गा भट्टराइले बताए।
भट्टराईले अधिकारीको घरको बाटो भएर फर्किरहेका बेला घर अगाडि नै ढुकेर बसेको एमाले कार्यकर्ताको समूहले सातओटा मोटरसाइकलमा फर्किरहेका कांग्रेसका कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाए।
एमालेका उज्जवल अधिकारी, रामबहादुर तामाङ्ग, पूर्णबहादुर काफ्ले, सरोजकुमार मगर र भिम पौडेलविरुद्ध प्रहरी कार्यालयमा उजुरी परेको आधारमा मगरलाई घरबाटै प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घाइते टिकारामकी श्रीमती सीतालेसमेत राईलगायत विरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएपनि कसैलाई पक्राउ नगरेको बताएकी छिन्। सत्ताको बलमा एमाले कार्यकर्तालाई मात्र पक्राउ गर्नु र कांग्रेसका कार्यकर्तालाई संरक्षण गर्नुले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित हुन नसक्ने अवस्था देखिएको स्थानीय भुपराज पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस !
