ओखलढुंगा : २३ वडाको परिणाम आउँदा १४ मा कांग्रेसका उम्मेदवार विजयी
ओखलढुंगा : ओखलढुंगाका ८ स्थानीय तहमा मत गणना जारी रहँदा २३ वडाको मत परिणाम सार्वजनिक भएको छ। २३ वडाको परिणाम आउँदा १४ वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
नेकपा एमालेका ६ र माओवादी केन्द्रका २ जना वडाध्यक्ष विजयी भएका छन्। त्यस्तै जसपाका एक उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका हुन्।
खिजीदेम्वा गाउँपालिकाको वडा नं. २, ३, ८ र ९ मा नेपाली कांग्रेसका उम्मेदवाहरु विजयी हुँदा वडा नं. १ मा जनता समाजवादीका उम्मेदवार विजयी भए।
मानेभञ्ज्याङको वडा नं. १, २, ७ र ८ मा नेपाली कांग्रेसले बाजी मार्दा वडा नं. ९ मा एमालेले जित हात पारेको छ। मोलुङ गाउँपालिकाको वडा नं. २ मा नेपाली कांग्रेस र ७ र ८ मा नेकपा एमालेले जित हात पारेको छ। त्यस्तै लिखु गाउँपालिकामा वडा नं. १ र ९ मा एमाले विजयी भएको छ।
सुनकोसीको वडा नं १ र चम्पादेवीको वडा नं. ९ मा नेपाली कांग्रेस विजयी भएको छ। भने चिशंखुगढी-१ मा माओवादी केन्द्र र ८ नं वडामा नेकपा एमाले विजयी भएको छ।
सदरमुकाम रहेको सिद्धिचरण नगरपालिकाको वडा नं. १, ११ र १२ मा नेपाली कांग्रेस र वडा नं २ मा माओवादी केन्द्र विजयी भएको छ।
गणना गरिएका २३ मध्ये २०७४ सालमा जितेका ४ वडा गुमाएको छ। एमालेले गुमाएकामध्ये ३ नेपाली कांग्रेस र १ माओवादी केन्द्रले जितेको छ। मत गणना र मत परिणाम सार्वजनिक गर्न ठिलाइ हुँदा समयमा सूचना पाउन कठिन भएको सञ्चारकर्मीहरुको गुनासो छ।
पालिकातर्फ चिशंखुगढीमा माओवादी केन्द्र र लिखुमा एमालेले अग्रता कायम गरेका छन् भने बाँकी छ पालिकामा नेपाली काँग्रेसले अग्रता कायम गरेका छन्।