कांग्रेस नगरसभापति हुँदै मेयरमा निर्वाचित कान्छा उम्मेदवार भरत
डडेल्धुरा : परशुराम नगरपालिकामा नेपाली कांग्रेसका कान्छा नगरसभापति नगरप्रमुखमा अनुमोदित भएका छन्। करिव ६ महिनाअघि सम्पन्न भएको कांग्रेस अधिवेसनबाट विजयी सुरुवात गरेका परशुराम नगरपालिकाका २९ वर्षीय भरत बढायर जोशी मेयरमा विजयी भएका हुन्।
डडेल्धुराको परशुराम नगरपालिकामा देशकै कान्छा २९ वर्षीय युवा बढायर जोशीले प्रतिस्पर्धी माओवादीका शेरसिंह माललाई पराजित गरी मेयरमा जीत हासिल गरेका हुन। जोशी नेपाली कांग्रेसबाट टिकट पाइ मेयर पदमा परशुरामका मतदाताले अनुमोदित गरेका छन्।
बढायर जोशी मंगलबार सकिएको मतगणनामा ५ हजार ९४१ मत ल्याएर विजयी भएका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शेरसिंहलाई १३६ को मतान्तरले पराजित गरेका हुन्।
बढायर जोशी नेपाली कांग्रेसका नगरसभापति हुन्। उनले राजनीतिक यात्रा उच्च शिक्षा हासिल गर्नका लागि महेन्द्रनगर पढ्दादेखि सुरु गरेको बताउँछन्। नेविसघंका प्रारम्भिक कमिटिबाट सुरुवात गरेको राजनीतिक जीवन पार्टीको नगरसभापति हुँदै नगरप्रमुखसम्म पुगेको भरतको भनाइ छ।
उनले कडा प्रतिस्पर्धामा उभिएका माओवादीका उम्मेदवार माललाई झिनो मतान्तरले हाराएका छन्। उनका प्रतिस्पर्धी मालले ५ हजार ८०५ मत ल्याएका छन्। कांग्रेसले पाँच वडा मात्रै जितेको छ। परशुराममा १२ वडा छन्। जसमद्ये ७ वडा माओवादीले जितेको निर्वाचन कार्यालयले जनाएको छ।
नगर उप-प्रमुखमा माओवादीकी बिमला महताले ५ हजार ८८५ मत ल्याएर विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कलावती बोहराले ४ हजार ५९३ मत ल्याएर हार व्वयहोर्नु परेको छ। परशुराममा १२ वडामद्ये १, ४, ५, ७, ९, १० र १२ गरी ७ वडामा माओवादी विजयी भएको हो। वडा २, ३, ६, ८ र ११ गरी ५ वडामा कांग्रेसले जितेको छ।
२०४९ सालमा जोगबुढाको लालढुगांमा जन्मेका भरत अहिले २९ वर्ष भए। बुवा चन्द्रकान्त बढायर जोशी र आमा मंगलादेवि बढायर जोशीका कान्छा छोरा भरतले परशुराम नगरमा युग सुहाउँदो विकास निर्माण गर्ने प्रतिवद्धता जनाउँदै मेयर पदका लागि चुनावी मैदानमा होमिएका थिए। सानै उमेरमा भरत पुरशुरामवासीको मन जित्न सफल युवा हुन्।
प्रारम्भिक शिक्षा जोगवुढा मै रहेको ग्रीनभ्याली बोर्डिगं स्कुलबाट सुरु गरेका भरतले एसएलसीसम्म सोही विद्यालयमा अध्यन गरेको बताए। त्रिचन्द्र क्याम्पसबाट फिजिक्समा स्नातक सकाएपछि जोशीले चीनबाट ‘एड्मोस्फेरिक फिजिक्स’मा मास्टर्ससमेत गरेका छन्।
परशुराम मेयर भएकोमा औधी हर्षित भएको नेपाली कांगेसका सभापति भिमबहादुर साउदले बताए।
उनी नेपाली कांग्रेसभित्र दख्खल राख्ने एक उच्च विचार भएका युवा समाजसेवीका रुपमा पनि परिचित छन्। उनले कोरोना माहामारी वा अन्य समयमा पनि गरिव असाहाय र समस्यामा परेका मानिसलाई सहयोग गर्नुका साथै समस्यामा परेका लागि एक अभिभावकको भुमिका पनि निर्वाह गर्ने गरेको नेपाली कांग्रेस प्रदेश 'क'का सभापति कैलाशकुमार पाण्डेयले बताए। शिक्षा, स्वास्थ्य कृषि, सडक, युवा स्वरोजगार लगाएतका कुराहरुमा विकासको नमुना देखाउन उनले प्रतिवद्धतापत्रमा उल्लेख गरेका छन्।
जेठा दुई दाजु अमेरिका र क्यानाडामा बस्दै आएका भरतका बुवाले लालढुगांमै सानोतिनो व्यापार गरी छोराहरु हुर्काएको बताए। पढ्नमा तिखोबुद्धि भएका भरत सानैदेखि समाजसेवा भन्नेबित्तिकै हुरुक्क हुने र समाजमा नयाँ कुराको अभ्यास गरी नौलो विचार साथै असहाय मानिसको सेवामा लाग्ने गरेको उपलब्धी जनताले नगरसभापतिमा अनुमोदित गरि प्रष्ट्याएको उनका बुबा चन्द्रकान्तले खुसी हुँदै बताए।
पछिल्लो दुई वर्षदेखि परशुरामै समाजसेवा गर्दै आए भरत प्रधानमन्त्री शेरबहादुर देउवा र स्थानीय कांग्रेसका नेताबाट प्रभावित भई नेविसंघ हुँदै पार्टी सक्रिय राजनीतिमा लागेका उनी परशुरामलाई समृद्ध बनाउन र युवालाई स्वरोजगार बनाउन सिपमुल तालिम तथा युवा स्वरोजगारका कुरालाई जोड दिने पक्षमा रहेको बताए।
प्रतिक्रिया दिनुहोस !