धवलागिरीमा आइतबार बिदा नहुने
बेनी : म्याग्दीको धवलागिरी गाउँपालिकाले आइतबार सार्वजनिक विदा नदिने भएको छ। मुनामा गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षमा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकले सो निर्णय गरेको हो। गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले गाउँपालिका, मातहतका शाखा, वडा कार्यालय र विद्यालय शनिबार वाहेक ६ दिने सञ्चालन हुने बताए।
परिक्षणका लागि जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिने बिदा दिने र बिदा बाहेकका अन्य दिन बिहान साढे ९ देखि साँझ साढे ५ बजेसम्म कार्यालय खोल्ने संघीय सरकारको निर्णय धवलागिरीले कार्यान्वयन नगर्ने भएको हो।
यसअघि म्याग्दीको बेनी नगरपालिका र मालिका गाउँपालिकाले शनिबार वाहेक हप्तामा छ दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए। यसैगरी धवलागिरी गाउँपालिकाले उत्कृष्ट एक÷एक जना विद्यार्थीलाई डाक्टर र इञ्जिनियर विषयको अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ।
कार्यपालिकाको पहिलो बैठकले एमबिबिएस डाक्टर र इञ्जिनियर विषय अध्ययनका लागि एक/एक जनालाई छात्रवृत्ति दिने निर्णय गरेको उपाध्यक्ष पुनले बताए।
प्रतिक्रिया दिनुहोस !