कास्की जिससमा एमालेको प्यानलै विजयी
पोखरा : जिल्ला समन्वय समिति कास्कीमा नेकपा एमालेको प्यानलै विजयी भएको छ। एमाले नेता लीलाधर पौडेल प्रमुख निर्वाचित भए। सोही पार्टीकी सरिता कुमाल उपप्रमुख भएकी छन्।
प्रमुखमा नेपाली कांग्रेसका दीपेन्द्र ढकाल प्रतिस्पर्धी थिए भने उपप्रमुखमा माओवादीकी उषा थापा उम्मेदवार थिइन्। प्रमुख निर्वाचित पौडेल पोखरा महानगरपालिका वडा नम्बर २२ वटा नगर सदस्य निर्वाचित भएका थिए। कुमाल रुपा गाउँपालिका वडा नम्बर ३ की सदस्य हुन्।
सदस्यमा सीतादेवी विक, हर्क बहादुर गुरुङ, राजु अधिकारी, गणेश बहादुर घर्ती, बालिका सुवेदी, लक्ष्मी दमै, सुकमाया नेपाली चुनिएका छन्।
सत्ता गठबन्धनले प्रमुखमा मादी गाउँपालिका-१२ मा वडा सदस्यमा निर्वाचित कांग्रेस नेता दीपेन्द्र ढकाल र माओवादीबाट मादी ७ की सदस्य उषा थापालाई उम्मेदवार बनाएको थियो। विजयी भएका एमाले सबै उम्मेदवारले ६/६ र पराजितहरुले ४/४ मत ल्याए।
कास्कीका ५ पालिकाका प्रमुख, उपप्रमुखमध्ये एमाले ६ र कांग्रेसका ३ तथा एकीकृत समाजवादीका १ जना थिए। उनीहरु नै जिल्ला समन्वय समितिका मतदाता हुन्। जिससमा उम्मेदवार बन्न यसअघि नै पालिकाहरुमा निर्वाचित भइसकेको हुनुपर्छ।
प्रतिक्रिया दिनुहोस !