उदाहरणीय धनकुटा
धनकुटा : पछिल्लो समय राजधानी काठमाडौंमा फोहोर व्यवस्थापनको विषयले चर्चा पाइरहेको छ। तर, धनकुटा नगरपालिकाले गरेको फोहोर व्यवस्थापनको पाटो उदाहरणीय बनेको छ। फोहोर व्यवस्थापन कार्यले धनकुटा नगर स्वच्छ र सुन्दर त बनेकै छ। अन्य स्थानीय तह तथा ठूला सहरका लागि सिकाइको थलोसमेत बनेको छ।
नगरक्षेत्रको फोहोर व्यवस्थापन गर्न धनकुटा नगरपालिका ६ सल्लेरीमा ‘फोहोरबाट मोहोर बनाउने’ योजनासहित धनकुटा नगरपालिका र स्थानीय विकास मन्त्रालय जगेडा कोषको साझेदारीमा करिब ४ करोड रुपैयाँको लागतमा ३० रोपनी क्षेत्रमा ल्यान्डफिल्ड साइड निर्माण गरिएको थियो। २०६३ सालमा निर्माण सुरु भएको उक्त संकलन केन्द्र २०६६ सालमा निर्माण सम्पन्न भएको हो।
नगरक्षेत्रका मुख्य बजार तथा चोकहरूमा नगरपालिकाका कर्मचारीहरूले संकलन गरेको फोहोरलाई ट्याक्टरबाट केन्द्रमा ल्याइने गरिएको छ। फोहोर संकलनमा २५ जना कर्मचारी खटिएका छन्। निजी क्षेत्रका १४ जना छन्। नगरपालिकाको ३ ट्याक्टर र १ टिपर गरी दैनिक ४ वटा सवारीसाधनले दैनिक १३ टनसम्म फोहोर ल्याउने गर्छ। यसरी ल्याइएका फोहोरबाट गल्ने फोहोरलाई कम्पोस्टिङ गरिन्छ भने कागज, प्लास्टिक र धातुलगायत वस्तु छानेर बेग्लै राखिन्छ।
संकलित फोहोरलाई प्रतिकिलो १२ रुपैयाँसम्ममा बिक्री गरिँदै आएको धनकुटा नगरपालिका वातावरण शाखाका प्रमुख उपेन्द्र खनालले बताए। उनका अनुसार अहिले नगरक्षेत्रबाट दैनिक ६ टन फोहोर संकलन हुन्छ। नगरपालिकाले फोहोर वस्तुको बिक्री गर्न अहिले निजी क्षेत्रलाई संलग्न गराएको छ।
- ४ करोड लागतमा ३० रोपनी क्षेत्रमा ल्यान्डफिल्ड साइड निर्माण
- दैनिक १३ टनसम्म फोहोर व्यवस्थापन
- ल्यान्डफिल्डबाट प्राप्त आम्दानी नगरक्षेत्रकै विकासमा खर्च
संकलित फोहोरलाई छानेर पुनर्बिक्री गर्न स्थानीय व्यापारी कौशल थापालाई जिम्मा दिइएको छ। उनले नगरपालिकालाई वार्षिक रूपमा शुल्क तिर्छन्। नगरपालिकाले फोहोर संकलन हुने नगरक्षेत्रका प्रत्येक घरबाट सरसफाइ शुल्क लिने गरेको छ
ल्यान्डफिल्डबाट प्राप्त आम्दानी नगरक्षेत्रकै विकासका लागि खर्च गरिन्छ। मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने मिथेन ग्यास उत्सर्जन रहित यो ल्यान्डफिल्डले धनकुटा बजारलाई स्वच्छ, सफा बनाउन सहयोग पुग्ने धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले बताए। फोहोर व्यवस्थापनमा नगरपालिकासँगै नगरबासीको सहयोग धेरै नै रहेको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा बताउँछन्। उनका अनुसार नगरपालिकाले फोहोर मात्रै संकलन गर्ने हो। यदि स्थानीयले फोहोर संकलन गरी नराखिरहने हो भने बजारमा फोहोरका डंगुर थुप्रिन सक्थे। केन्द्रमा ४० प्रतिशत गल्ने फोहोर संकलन हुन्छ। यस्तै २५ प्रतिशत रबर, १५ प्रतिशत कपडा र बाँकी २० प्रतिशत प्लास्टिक, कागज, पुराना निर्माण सामग्रीका साथै टिन, फलाम र विद्युतीय सामग्रीजन्य फोहोर जम्मा हुन्छन्। 
धनकुटा नगरक्षेत्रमा फोहोर व्यवस्थापन कार्य उदाहरणीय वन्नुको पछाडि नागरिक सचेत हुनु मुख्य कारण रहेको धनकुटा बजारवासी खेम घिमिरे बताउँछन्। उनका अनुसार नागरिक सचेत भएपछि समाजमा फोहोर भन्ने चिज हुँदो रै’छन्। अहिले फाल्ने ठाउँ नभेटिँदासम्म नागरिकहरू गोजीमा फोहोर राख्छन्। टोकरी देखेपछि मात्र फ्याक्ने गर्छन्। यता अर्का नगरवासी खिन्द्र अधिकारी नगरपालिकाले घरबाटै फोहोर निस्कँदा कुहिने तथा नकुहिने छुट्ट्याउने गरी डसबिन दिँदा उपयुक्त हुने सुझाउँछन्। उनी भन्छन्, ‘नगरपालिका एक्लैले मात्र सम्भव हुँदैन। लागत साझेदारीमा सम्भव हुन सक्छ।’
धनकुटा नगरपालिकाले फोहोर व्यवस्थापनमा गरेको कार्य उदाहरणीय छ। नगरपालिकाको यो कार्यले खेर जाने वस्तुलाई पुनःप्रयोग सँगै फोहोरबाट मोहर मात्रै होइन स्वच्छता र सुन्दरता पनि संभव छ भन्ने कुरा प्रमाणित गरेको छ। नगरले गरेको कार्य अन्य पालिका तथा ठूला सहरका लागि सिकाइको थलो बन्ने निश्चित छ।
फोहोरमाथि फूलबारी
संकलन केन्द्रमा ल्याइएको फोहोरलाई खाडलमा राखेर फूलबारी बनाइएको छ। जसको कारण पछिल्लो समय ल्यान्डफिल्ड साइट फोहोर संकलन केन्द्रभन्दा पनि पार्कका रूपमा विकास हुन थालेको छ। फोहोरको थुप्रोमाथि रहेको फूलबारी अवलोकन गर्न जिल्ला बाहिर टाढाबाट मानिस आउने गरेका छन्।
कोरोना कहर हुनु अघिसम्म वर्षमा १५ सयसम्म भ्रमणकर्ता त्यहाँ आएका थिए। तर, कोभिडपछि भ्रमण टोलीको संख्या न्यून छ। कोभिड अघिसम्म प्रतिभ्रमण टोलीसँग ५ हजार रुपैयाँ शुल्क लिने गरिएको थियो। वर्षमा ३ लाख रुपैयाँ त्यसैबाट आम्दानी भएको थियो। तर, अहिले कोभिडपछि आउने टोलीसँग शुल्क लिन छाडिएको छ। अहिले भने महिनामा ८/१० टोली आउने गरेका छन्।
प्रतिक्रिया दिनुहोस !