रोकियो तिब्बत जोड्ने सडक

रोकियो तिब्बत जोड्ने सडक

ताप्लेजुङ : तमोर करिडोरअन्तरगत दोभान–ओलाङचुङगोला सडक निर्माण दुई महिनादेखि ठप्प बनेको छ। तिब्बत जोड्ने यो सडकको ट्र्याक खुल्न अब डेढ किलोमिटर मात्रै बाँकी छ। फक्ताङलुङ गाउँपालिकास्थित सुकेपानी क्षेत्रमा पुगेपछि रुख कटान अनुमति नपाउँदा काम रोकिएको हो।

यो कञ्चनजंघा संरक्षण क्षेत्रमा पर्ने भएकाले वन क्षेत्र प्रयोग गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गर्नुपर्छ। तर, मन्त्रिपरिषद्ले वैशाख १४ मै स्वीकृति दिने निर्णय गरे पनि त्यसको कार्यान्वयन नहुँदा सडक अलपत्र परेको हो। अहिले वन क्षेत्र प्रयोग गर्दा पालना गर्नुपर्ने सर्तका कारण निर्माण रोकिएको उत्तर–दक्षिण (मूलघाट दोभान ओलाङचुङगोला) सडक योजना प्रमुख अमिन्द्र खड्काले जानकारी दिए।

‘भौतिक मन्त्रालयले ३१.१७४ हेक्टर जमिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका नाममा पास गर्नुपर्ने रहेछ,’ उनले भने, ‘सोही कारण अहिले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न समस्या भयो।’ सट्टा जग्गा उपलब्ध गराउने प्रक्रियामा जानका लागि नै कम्तीमा पनि तीन, चार वर्षसम्म लाग्ने उनले सुनाए। सडक निर्माणका क्रममा ६ सय २७ वटा रुख कटान गर्नु पर्नेछ।

‘राष्ट्रिय निकुञ्ज वा वन्यजन्तु विभागलाई रकम दिने वा जग्गा उपलब्ध गराउने भन्ने हुँदो रहेछ,’ खड्काले भने, ‘पैसा दिन मिल्ने भए अर्थ मन्त्रालयबाट पत्र पनि प्राप्त भएको छ, तत्काल दिन सकिन्छ, जग्गाको सट्टा जग्गै भन्ने भयो भने चाहिँ प्रक्रिया लम्बिन्छ, गाह्रो  छ।’ यो समस्या सुल्झिए तीन महिनाभित्र चीनसँग सडक सञ्जालले जोडिने उनले बताए। काम गर्न नपाउँदा आठ वटा मेसिन साइटमै थन्क्याइएको निर्माण कम्पनी एसबीए एलाइट जेभीले जनाएको छ। ‘साइट क्लियर नहुँदा मेसिन र जनशक्ति थन्क्याएर बस्नु परेको छ,’ कम्पनीका प्रतिनिधि राजीव लामिछानेले भने, ‘सरासर काम गर्न पाएको भए यतिबेला लगभग सकिन्थ्यो।’

एक्कासी सडक निर्माण रोकिँदा स्थानीयको गाडी चढ्ने सपना पूरा हुन नसकेको गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए। ‘वन क्षेत्रको कानुनका कारणले पनि केही समस्या भएको छ। हामी गाउँपालिकाको तर्फबाट पनि पहल गर्ने काम गरिरहेका छौं,’ लिम्बूले भने। उनका अनुसार ओलाङचुगोलावासीलाई खाद्यान्न ढुवानी गर्न समस्या छ। अहिले फुङलिङदेखि लेलेप रानीपुलसम्म प्रतिकेजी १० रुपैयाँ (गाडीमा) र रानीपुलदेखि ओलाङचुङगोलासम्म (मानिस, खच्चर) प्रतिकेजी ६० रुपैयाँ ढुवानी खर्च पर्छ।

यो सडकले भारतसँगको रानी भन्सारदेखि चीनसँगको सिमानाका टिपतला भन्ज्याङ (३४० कि.मी) जोड्छ। टिपतला भन्ज्याङदेखि सुकेपानी छेउसम्म ट्र्याक खुलेको छ। असार मसान्तमा सक्ने गरी ४२ करोड रुपैयाँमा सम्झौता भएको थियो। सडक सञ्चालनमा आए त्रिदेशीय व्यपारमा सहज हुने स्थानीयको अपेक्षा छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.