लागुऔषधविरुद्ध र्‍यापर लाहुरे

लागुऔषधविरुद्ध र्‍यापर लाहुरे

पोखरा : र्‍यापर लाहुरे (आशीष राना) गएको पुस १४ गते लागुऔषध सेवनको अभियोगमा पक्राउ परे। हिरासतमा उनले ५६ दिन बिताए। अदालतबाट धरौटीमा छुटेको पनि ४ महिना भयो। अब उनी फेरि सांगीतिक दुनियाँमा पुनरागमन गर्दैछन्। तर, फरक के छ भने पहिलेका लाहुरे दुर्व्यसनी पनि थिए अहिलेका लाहुरेचाहिँ दुर्व्यसनविरुद्धको अभियन्ता।

असार ११ गते लाहुरेको जन्मदिन हो। त्यसै दिन उनको नयाँ गीतको टिजर सार्वजनिक हुँदैछ। त्यो गीत नै लागुऔषध दुर्व्यसनविरुद्ध छ। भन्छन्, ‘यो त पहिल्यै लेखेको थिएँ।’ संयोग यस्तो पर्‍यो कि उनी लागुऔषध दुर्व्यसनको चपेटाबाट मुक्त भएर नयाँ सांगीतिक जीवन थाल्दा नै त्यस्तै गीतबाट पुनरागमन गर्दैछन्।

नयाँ गीत ल्याउनुअघि उनी ६ गते सांगीतिक प्रस्तुति पनि दिँदैछन्। पुषयता पहिलोचोटि पोखरा सभागृहमा उनी मञ्च उक्लिँदै छन्। त्यो लागुऔषध नियन्त्रण अभियानको सुरुआती कार्यक्रम हो। जसको चाँजो जिल्ला प्रहरी कार्यालय कास्कीले मिलाउँदैछ। जसै लाहुरे पक्राउ परे उनी जिप्रकाको हिरासतमा रहँदा लागुऔषधको दुव्र्यसनबाट मुक्त हुने वातावरण पाए। भन्छन्, ‘म भित्र हुँदा सरहरु आएर परामर्श दिनुहुन्थ्यो, त्यो पोजेटिभी पाएर नै म अहिले पोजेटिभ भएर निस्केको हो। ५६ दिन भित्र बसें, त्यति बेला नेगेभिटी पाएको भए नेगेटिभ हुन्थें होला।’

लाहुरे दुर्व्यसनमुक्त भएपछि उनैलाई लागुऔषधविरुद्धको अभियानमा दूत बनाउनु उपयुक्त हुने कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले ठाने। भन्छन्, ‘उहाँलाई पछ्याउने किशोरकिशोरी धेरै छन्, उहाँले दिने सन्देश नै प्रभावकारी हुन्छ भन्ने लाग्यो, टिम बसेर परामर्श गर्‍यौं, उहाँले हुन्छ भन्नुभयो।’ जिप्रकाले ६ गतेबाट साताव्यापी अभियान थाल्दैछ।

लाहुरे विद्यार्थीकालबाटै दुर्व्यसनमा फँसेको सुनाउँछन्। भन्छन्, ‘कलेजको टाइममा मन अलिकति चन्चले हुँदोरैछ, मन र दिमागबीचको द्वन्द्व धेरै चर्केर नै नराम्रो बाटोतिर जान्छ।’ लागुऔषध सुरु गरिसकेपछि बेलाबेला छोड्ने मन नभएको पनि होइन। तर छोड्न सकेका थिएनन्। ‘हरेकचोटि खाँदा नै म छोड्छु भन्ने नै लाग्छ, तर शरीरले दिँदैन, यो त एउटा बिरामी नै हो नि,’ उनी भन्छन्। तर अब भने उनले छाडिसकेका छन्। 

दुर्व्यसनले क्षणिक आनन्द दिए पनि त्योभन्दा धेरै दुखकष्ट दिन्छ भन्ने लाहुरेको अनुभव छ। ‘आफ्नो काममा फोकसै हुँदैन, सपनामा फोकस हुँदैन, काहिँ विदेश जान पर्यो भने पनि लान मिल्दैन, त्यही भएर विदेशको प्रोग्रामहरुलाई क्यान्सिल गर्नुपर्छ,’ उनले भने, ‘धेरै कुरा क्यान्सिल गर्नुपर्छ, सपना मार्नुपर्छ, फिलिङ्स नै मार्छ।’

कसरी सम्भव हुन्छ त दुव्र्यसन छोड्न? लाहुरेका अनुभवमा शरीर र मन दुवै नियन्त्रण गरे दुव्र्यसन छोड्न सकिन्छ। भन्छन्, ‘शारीरिक रुपमा एकदुई महिना गाह्रो हुन्छ, मेन्टल्ली भनेको चाहिँ जिन्दगीभरि नै कन्ट्रोल गरेर बस्ने हो। त्योचाहिँ आफ्नो एउटा तपस्या हो।’ 

दुर्व्यसन सुरु गर्न वा छाड्न आफ्नो वरिपरिको साथीसंगतले फरक पार्ने लाहुरे बताउँछन्। ‘ड्रग्सहरु खाइरहने र पाइराख्ने ठाउँमा छु भने म स्ल्पि हुनसक्छु,’ भन्छन्, ‘राम्रो संगतमा पर्‍यो भने पक्कै पनि यसलाई बिर्सन सकिन्छ। फिलिङ्ससँग जोडिएको हुँदा त्यसलाई बिर्सन राम्रो सर्कल चाहिन्छ।’सबै कुरा बुझेको व्यक्ति भएको हुँदा केही बुझाउँदा, केही सम्झाउँदा र राम्रो रेखदेख गर्दा लाहुरेलाई दुर्व्यसन मुक्त बनाउन सकिन्छ भन्ठानेर उनलाई हिरासतभित्रै परामर्श दिएको एसपी थापा बताउँछन्।

‘हिरासतमा रहँदा उच्चतम् मानवीय व्यवहार गर्‍यौं, पोजेटिभ हिसाबले मोटिभेट गर्‍यौं,’ उनले भने। जिप्रकाले थाल्न थालेको अभियानमा नेपाल होटल तथा मेनेजमेन्ट कलेज (एनटिएचएमसी) र रिकभरिङ नेपालले सहकार्य गर्दैछन्। थुप्रै विद्यार्थी भएको कलेजले पनि सामाजिक काममा योगदान गर्नुपर्छ भनेर अभियानमा सहकार्य गर्न लागेको एनटिएचएमसीका क्याम्पस प्रमुख प्रकाश रेग्मीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.